घरखर्च तार्न दशैँमा राजधानीमा व्यापार
512 Views
भक्तपुर, खोज मिडिया २४ असोज । दिनको मध्य समय । भक्तपुरको खसी बजार अस्तव्यस्त देखिन्थ्यो । कोही आफ्ना लागि त कोही बच्चा वा परिवारका लागि सामान किन व्यस्त थिए । कोसैलाई ग्राहकको ध्यान तान्दै आफ्नो सामान बिक्री गर्न भ्याइनभ्याई थियो ।
यही भीडमा भेटिए सञ्जय मिश्र । सिधा अनि मोटो लठ्ठी । त्यसमाथि झुण्ड्याइएका खेलौना र खानेकुरा । आफ्नो सामान बेच्नका लागि उनी पनि सोही भीडमा छिरे । कोही फुर्सदमा भेटेपछि भनिहाल्थे, ‘दाइ, यो पनि एउटा किनिदिनु न ।’
झण्डै १२ वर्ष उमेरका सञ्जय केही दिनअघि मात्र रौतहतबाट उपत्यका छिरेका थिए । रौतहटको पुलिस स्कुलमा पढ्दै आएका उनी दशैँको बिदा भएसँग उपत्यका छिरेका हुन् । उनी भन्छन्, ‘दशैँमा यता धेरै मेला लाग्छ । मान्छेको भीड पनि उस्तै हुन्छ । भीडमा सामानको व्यापार पनि हुन्छ ।’
जात्रा हुने ठाउँमा जाने र त्यहाँ गएर खेलौनालगायतको सामान बिक्री गर्ने उनी बताउँछन् । दशैँभरि यतै बस्ने र दशैँ सकिनेबित्तिकै गाउँ फर्कने उनले बताए ।
बिहान सबैरै जडिबुटीबाट भक्तपुर पसेका उनी बिहान सूर्यविनायक र गुण्डुमा सामान बेचेर दिउँसो नगरभित्र पसेको सुनाउँछन् ।
दैनिक एक हजार ८०० देखि दुई हजार रुपैयाँसम्मका सामान बिक्री गर्ने उनले २० देखि १०० रुपैयाँभन्दा बढीका सामान बोकेर बिक्री गर्दै आएका छन् । युवाभन्दा पनि साना नानीलाई आफ्नो ग्राहकको रूपमा लिने गर्छन् । भन्छन्, ‘कहिलेकाहीँ बच्चाहरूले किन्नका लागि जिद्दी गर्छन् अनि उनीहरूका बुबाआमाले हामीलाई गाली गर्छन् ।’
दशैँभरि कमाएको पैसा पछि बचत गरी गाउँमा घरखर्च तार्ने उनी सुनाउँछन् । ‘१०-१५ दिनमा ३० देखि ४० हजारसम्मको सामान बिक्री हुन्छ । आफूले खाएर खर्च गरेको पैसा पछि घरमा लैजान्छु र चाहिने बेला खर्च गर्छु’, उनले भने, ‘वर्षैपिच्छेको दशैँ बिदामा यतै आएर सामान बेच्ने गर्छु किनकि यहाँ दशैँमा जात्रा धेरै हुन्छ ।’
आफूसँगै अरू साथीहरू पनि सोही व्यापारका लागि उपत्यका छिरेको उनी बताउँछन् । सबै जना स्कुलमा दशैँ बिदा हुन थालेसँगै उपत्यका छिर्ने र दशैँ सकिएलगतै गाउँमा फर्कने गरेको उनीहरू बताउँछन् ।





प्रतिक्रिया दिनुहोस