दशैँको मुखमा खत्याडमा महंगी बढ्यो
822 Views
मुगु,खोज मिडिया २४ असोज । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा महँगी बढ्दै गएको छ । नेपालीहरुको महान पर्व वडा दशैँ तथा तिहार नजिकिँदै गरेको अवस्थामा उपभोग्य वस्तुको महंगी बढ्दै गएको हो । खत्याडमा यातायातको पहुँच भए पनि खत्याडवासीलाई यातायात सञ्चालनले पनि महंगी खेप्न बाध्य भएका छन् ।
स्थानीयकाअनुसार दशैं नजिकिँदै गर्दा तेल, नुन चामल चिनीको मूल्य वृद्धि हुँदै गएको हो । तोरीको तेल एक प्याकेट १३५ देखि १४० सम्म पर्ने गरेको छ । उद्योग वाणिज्य संघले दशैँको मुखमा खाद्यान्नमा केही प्रतिशत छुट गरि ब्यापार गर्न निर्देशन जारी गरे पनि खत्याडमा उल्लघंन भएको पाइएको छ ।
खत्याडमा हाल धारा तेल १५० र स्वस्तिक तेलको मूल्य १३० भन्दा बढी पर्ने गरेको छ । १५ सय रुपैयाँमा भर्ने ग्यास यतिबेला तीन हजारमा भर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । यी सामानमात्रै होइनन, खत्याडमा महँगीका कारण अन्य खाद्य वस्तुको मूल्यसमेत बढिरहेको छ ।
रामतडिका व्यापारी लोकेन्द्र भण्डारीकाअनुसार सडकको अवस्थाले खाद्य वस्तु लगायत उपभोग्य समानको मूल्य वृद्धि भएको हो । उनले भने, ‘सडक भत्केको छ । बाटोमा सामान ल्याउन गाह्रो छ । धेरै भाडा तिनुपर्ने अवस्था छ । त्यसकारण मृल्य वृद्धि हुन पुगेको हो ।’
सडकको अवस्था हेर्दा हप्तामा एक गाडी सामान आउने गरेको छ । महँगीबीचमै पनि सामान टिपाटिप हुने गरेको उनको भनाइ छ ।
महँगीकै कारण अन्य खाद्य वस्तु बजारमा पाउनै छोडेको छ । यता जुम्लाबाट आउने एक छोटो बाटो पानलौटी सडक हो । उक्त सडक पनि वर्खायाममा हिलोले बन्द हुने गरेको छ भने हिउँदमा हिमपातले । गाउँपालिकाले बारम्बार मर्मत गरे पनि सडक अवरुद्ध भइरहने गरेको छ । त्यसमाथि उपभोग्य सामग्री आउन दिनौं लाग्ने गरेको छ । भाडादर पनि बढिरहेका कारण खाद्य वस्तुलगायत अन्य सामग्रीमा मूल्य वृद्धि भएको खत्याडका व्यापारीको दाबी छ ।





प्रतिक्रिया दिनुहोस