खार्पुनाथ बन्यो हुम्लाकै उत्कृष्ट गाउँपालिका
322 Views
सिमकोट,खोज मिडिया २२ असोज । खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा हुम्ला जिल्लाकै उत्कृष्ट स्वास्थ्य शाखा छनोट गरिएको छ । सेवा प्रवाह, समन्वय, सम्पर्क र प्रतिवेदन तयारीमा उत्कृष्ट काम सम्पादन गरेबापत स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथको स्वास्थ्य शाखालाई उत्कृष्ट छनोट गरेको हो ।
सात गाउँपालिका रहेको हुम्लाको सात वटा सूचकका आधारमा मूल्यांकन गर्दा खार्पुनाथ स्वास्थ्य शाखा उत्कृष्ट भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहल बताए । उनले गाउँपालिकाले सबै सूचकमा ३७ अंक ल्याएको बताए ।
कार्यालयका अनुसार खार्पुनाथ गाउँपालिकाका सबै स्वास्थ्य संस्था उपचारमा सहज, प्रभावकारी सेवा प्रवाह, समयमै रिपोर्टिङ, खोप व्यवस्थापन, संस्थागत प्रगति जस्ता सूचकमा अब्बल पाइएकोले उत्कृष्ट ठहरिएको हो । स्वास्थ्य संस्थाहरूको कार्य सम्पादन उच्च र सेवा प्रवाह प्रभावकारी बनाउन कार्यालयले पहिलोपटक सूचक राखेर मूल्यांकन गर्ने परिपाटी बसालेको छ ।
उत्कृष्ट भएपछि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बलिराज शाहीले काम गर्ने थप हौसला मिलेको बताएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले सबै बस्तीमा गाउँघर क्लिनिक, घरदैलो कार्यक्रम, दीर्घरोगीलाई निःशुल्क उपचारको व्यवस्था, ल्याबमा चालीस प्रतिशत छुटको व्यवस्था जस्ता उदाहरणीय कार्यक्रम लागू गरेको छ ।





प्रतिक्रिया दिनुहोस