रामेछाप मन्थली माविमा कान्ड़ाई काण्डको कारण
379 Views
रजनि तामाङ्ग,
रामेछाप, खोज मिडिया २९ भदौ । मन्थली नगरपालिका वडा नं–१ को मन्थली मावि यतिबेला काण्डैकाण्डको भुमरीमा फसेको छ । भुमरीमा फसेको प्रमाणित हुनेहरूमा मन्थली नगरपालिकाका कर्मचारीदेखि, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक र कर्मचारीहरू समेत रहेका छन् । उनीहरूमध्ये धेरैजसो कतै न कतै आर्थिक रूपमा जोडिएका छन् । नाम जोडिनेहरूमा नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीदेखि, दर्जनभन्दा बढी शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य ओमबाबु पुरीसम्म रहेका छन् ।
जिल्लामा नमुना माविका रूपमा उँचो स्थान बनाएको हालको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियादेखि विभिन्न भौतिक संरचना निर्माणको क्रममा भए गरेका कमीकमजोरी र अनियमितता, कर्मचारी र शिक्षक नियुक्ति, अनि तलब भुक्तानी प्रक्रिया, विद्यार्थीसँगको शुल्क असुली र तलब भत्ता प्रकरणमा शिक्षक तथा नगरपालिकाका कर्मचारीहरूको समेत काण्ड जोडिएका छन् ।
विव्यस गठन सहयोग समितिले सार्वजनिक गरेको अभिभावकको नामावलीमा अभिभावकको संख्या १ हजार ६ सय ८९ जना थियो । तर २०७६-१०-०८ मा बसेको अभिभावक भेलामा उपस्थित अभिभावकको संख्या ४ सय ८३ मात्र रहेको देखिन्छ । यसलाई आधार मान्ने हो भने विद्यालय व्यवस्थापन समिति गठनका लागि गणपूरक संख्या नपुगीकन भेला र निर्वाचन गरेको देखिन आउँछ ।
त्यसबाहेक उम्मेदवार दर्ताबाहेकका निर्वाचनसँग सम्बन्धित अन्य कार्यहरू कार्यतालिकाबमोजिम सञ्चालन गरेको समेत देखिँदैनन । विव्यस छनोट सहजीकरण समितिको बैठकमा समेत सबै उम्मेदवार उपस्थित भएका थिएनन् । मनोनयन दर्ता गराउनेको मनसाय नै फिर्ता नलिई मनोमानी ढंगले विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिनेलगायतका कामको आधारलाई हेर्ने हो भने वर्तमान व्यवस्थापन समिति अवैधानिक देखिन आउँछ ।
विद्यालयले सञ्चालन गरेको विविध कार्यक्रममा खाजा खर्च तथा भत्ता धेरै लिनेमा मन्थली नगरपालिकाका कर्मचारीदेखि शिक्षकसम्म रहेका छन् । छिमेकी विद्यालय अनुभव आदानप्रदान कार्यक्रममा मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले एकै दिन ६ हजारको खाजा खाएका छन् । त्यस्तै, २०७८ असार २९ गतेको शिक्षक मनोपरामर्श र नेतृत्व विकास तालिममा समेत नगरपालिकाको कार्यसञ्चालन निर्देशिकाविपरीत बुढाथोकीले एकै दिन १२ हजार भत्ता लिएका छन ।
त्यसैगरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सौभाग्य न्यौपानेले समेत सोही शीर्षकमा १२ हजार रुपैयाँ र तत्कालीन रामेछाप नगर शिक्षा शाखा प्रमुख शुकदेव नेपालले पनि ३ हजार भत्ता लिए । तर, मन्थली नगरपालिकाको कार्य सञ्चालन निर्देशिकामा कार्यपत्र प्रस्तुत कर्तालाई २ हजार र तयारीकर्तालाई १ हजार दिने भनी प्रस्ट लेखिएको छ । छिमेकी विद्यालय अनुभव आदानप्रदान कार्यक्रममा मन्थलीमा विद्यालयकै शिक्षक चन्द्रसिं धामीले ४ हजारको खाजा खाए भने शिक्षक नरसिंह धामीले पनि ३ हजारको खाजा खाएका छन् ।





प्रतिक्रिया दिनुहोस