तालिबानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने
474 Views
काबुल , खोज मिडिया २९ भदौ । अघिल्लो शासनकालमा अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो भने विश्वविद्यालयहरूलाई लिंगका आधारमा पोसाकसम्बन्धी नयाँ नियम लागू पनि गरिने तालिबानले जनाएको छ ।
उच्च शिक्षासम्बन्धी मन्त्री अब्दुल बाकी हक्कानीले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि जानकारी दिएका छन । तालिबानले महिलाहरूलाई शिक्षा र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको देखिन्छ तर, गत २५ अगस्टमा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म स्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न निर्देशन दिएको छ ।
तालिबानको अघिल्लोपटकको आफ्नै शासनकालमा भन्दा केही लचक भए पनि निवर्तमान सरकारभन्दा अहिलेको सरकार कठोर देखिएको छ । यी दुई तस्बिर अफगानिस्तानमा तालिबानले पुनः सत्ता हातमा लिएपछि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको हो । एउटा तस्बिरमा छात्राहरूले पूरै मुख छोप्ने गरी बुर्का लगाएका छन् । उनीहरू हरेकको अगाडि राखिएको छ, अफगानिस्तानको झन्डा ।
अर्काे तस्बिरमा छात्र र छात्रा दुवै अध्ययन गरिरहेका छन् । छात्र र छात्राको बीचमा पर्दा राखिएको छ । यसको मतलव हो, छात्र र छात्राले एकले अर्कालाई नदेखून् । यसमा भने छात्राहरूले बुर्का लगाएका छन् तर मुख नछोपिने गरी । यो तस्बिर भने तालिबानले पुनः सत्ता कब्जा गरिसकेपछि र सरकार गठन हुनुअघिको हो ।तर, अहिले विश्वविद्यालयहरूमा महिलालाई पुरुषभन्दा छुट्टै राख्न तालिबान सरकारका नयाँ शिक्षामन्त्रीले निर्देशन दिएका छन् । विश्वविद्यालयमा छात्रालाई पनि जान दिने निर्णयलाई तालिबानको यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन व्यवस्थाभन्दा लचक हुने संकेतका रूपमा लिइएको छ ।
अफगानिस्तानमा तालिबानी समूहले शासन सत्ता हातमा लिएपछि छात्राहरूको पढाइ कस्तो हुन्छ भन्ने कौतुहलताबीच त्यहाँको तालिबान सरकारले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिबानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाउने आशंकाबीच उनीहरूले विश्वविद्यालय जान दिने बताएका छन तर , एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने तालिबान सरकारका उच्च अधिकारीहरूले जनाएका छन् । केही समयअघि भने छात्रालाई पनि पढ्न विश्वविद्यालय जान दिने तर एउटै कोठामा पढाइ हुने भए पनि बीचमा पर्दा राख्नेबारे छलफल भएको थियो ।
तालिबानले झन्डै एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । प्रदेश राजधानीहरू कब्जा गर्दै केन्द्रीय राजधानी कब्जा गर्न लागेपछि तत्कालीन राष्ट्रपति असरफ घानीले देश छोडेर भागेपछि सत्ता तालिबानको हातमा आएको हो । उनीहरूले अहिले कामचलाउ सरकार बनाएका छन् भने अरू धेरै कामहरूमा अन्योल देखिएको छ ।





प्रतिक्रिया दिनुहोस