कोभिडविरुद्ध लड्न आत्मानुशासन
584 Views
काठमाडौँ , खोज मिडिया १८ भदौ । कोरोनामहामारी संक्रमणको दोस्रो लहर सुरु भएदेखि काठमाडौं उपत्यकामा निरन्तर जारी गरिएको निषेधाज्ञा हटाइएको छ । प्रशासनिक रूपमा पहल लिएर उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले लकडाउनको सट्टा निषेधाज्ञा नै बढी वैज्ञानिक हुने ठहरसहित यसलाई लागू गरिँदै आएको थियो । तर, पछिल्लो समयमा यसको बृहद् समीक्षासहित बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले विगत चार महिनादेखि जारी गरिँदै आएको निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी गरेपछि यसको सबैभन्दा ठूलो असर पठनपाठनमा परेको र विद्यार्थी विद्यालयमा भौतिक रूपमा उपस्थित भई अध्ययन गर्न नपाएको ठूलो गुनासो हुँदै आएको थियो । यसै विषयलाई लिएर संसदीय समितिले समेत विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर अध्ययन-अध्यापन गराउन निर्देशन सहमत सुझाव दिइसकेको छ । तर, अर्कोतिर राजनीतिक भेला र भेटघाट तथा सभा-सम्मेलनहरू निर्बाध हुँदै आएका छन् । कोरोना महामारी आमरूपमा फैलिइसकेकाले अब हरेक व्यक्तिमा विकास हुने आत्मानुशासनले मात्र महामारी संक्रमण रोक्न सकिने अवस्था पनि सिर्जना भइरहेको छ । यसका लागि प्रोटोकल पालना गरेर दैनिक गतिविधि अघि बढाउनेगरी निषेधाज्ञा हटाइएको छ ।
निषेधाज्ञा हटाइएपछि स्थानीय, प्रदेश तथा संघीय सरकार मातहतका विद्यालय तथा विश्वविद्यालय खोल्न र पढाइ सुचारु गर्न पाइने भएको छ । यसका लागि सम्बन्धित निकायसँग सल्लाह सुझाव र अनुमति लिने व्यवस्था गरिएको छ । स्थानीय तहले जिल्ला कोभिड संकट व्यवस्थापन समितिसँग अनुमति लिएर विद्यालय सञ्चालन गर्न पाउनेछन् । त्यसैगरी, सिनेमा हल स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालनमा ल्याउन सकिनेछ । निषेधाज्ञा हटेपछि मन्दिर तथा धार्मिक क्षेत्र भने खुला रहनेछन् । तर, यी सबै स्थानमा प्रोटोकल भने लागू हुनेछ ।
त्यहाँ भिडभाड र सामूहिक गतिविधि गर्न पाइनेछैन । सभा, जुलुस, जात्रा, महोत्सव, भोज आदिलाई सामूहिक गतिविधिमा राखिएकाले ती सबै गतिविधि गर्न नपाइने बनाइएको छ । मनसुन सकिएर उघारीमास लागेसँगै एकपछि अर्को गरी चाडपर्व आइरहेका छन् । ती चाडपर्वहरू पनि न्यूनतम सहभागितासहित मनाउनुपर्ने प्रोटोकल तयार पारिएको छ । भिडभाड नहुनेगरी सांकेतिक रूपमा यी पर्वहरू सञ्चालन गर्न भने पाइने व्यवस्था गरिएको छ । निर्माण गरिएको प्रोटोकलअनुसार केही कुरा भने कडाइका साथ पालना गरिनुपर्ने बनाइएका छन् । तिनमा स्थानीय ढुवानीका लागि बिहान ९.०० बजेदेखि ११.०० बजे र दिउँसो ४.०० बजेदेखि ७.०० बजेसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने बनाइएको छ ।
भदौ अन्तिमसम्म परीक्षणका लागि ल्याइएको यो प्रोटोकल देशमा कोरोना महामारीको नयाँ भेरियन्ट देखिएर संक्रमणको उच्च जोखिम हुने संकेत मिलेमा वा हालकै दोस्रो लहरको पनि संक्रमण बढ्दै गएमा आवश्यकताअनुसार फेरि निषेधाज्ञा लागू गर्न सकिने व्यवस्था गरिएको छ । हाल गरिएका यी सबै व्यवस्थामा हरेक नागरिकलाई सचेत बनाउने, आफ्नो स्वास्थ्यको रक्षा आफैंले गर्न सक्षम तुल्याउने, आत्मानुशासनमा बाँधिने तथा दीर्घकालीन रूपमा असर गर्नेगरी आएको कोरोना महामारीको संक्रमणविरुद्ध निरन्तर जुध्दै र संघर्ष गर्दै अघि बढ्न तदनुकूलको वातावरण निर्माणका लागि परीक्षणमा ल्याइएको छ । अहिले लकडाउन हटेकाले कोरोना संक्रमण छैन भन्ने भ्रम भने कसैले पनि पाल्नुहुँदैन । मैले भ्याक्सिन लगाएको छु त्यसैले म जस्तोसुकै भीडभाडमा जान पनि हुन्छ भन्ने गलत सोच पनि कसैले राख्नुहुँदैन । सुरक्षा मापदण्ड पालना गर्दै सतर्क भएर हिँड्ने बानीको विकास गर्नु सबैको हितमा छ ।





प्रतिक्रिया दिनुहोस