अभिनेत्री निशा घिमिरेको अन्त्यष्टि, घटनाको छानविन गर्न कलाकार संघकाे माग
498 Views
काठमाडौं , खाेज मिडिया १७ भदौ । बिहीबार साँझ निधन भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई उनका बुबा प्रेमप्रसाद घिमिरेले दागबत्ती दिएका हुन् ।
अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा १ घण्टा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नृत्य निर्देशक शिव विक, नृत्यकार संघका अध्यक्ष जनक कार्की, कलाकार संघका पदाधिकारी, गोपाल ढकाल ‘छन्दे’, जीवन थापा, उद्धव भट्टराईलगायत पुगेका थिए ।
चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको कार्यक्रममा कलाकर्मीको न्यून उपस्थिति थियो । श्रद्धाञ्जली कार्यक्रममा कलाकारको न्यून उपस्थिति रहेको भन्दै सहभागीले गुनासो गरेको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए । निरौलाले भने, (सहभागी अधिकांशले देहरादूनमा भएको निशाको दुर्घ*टनाको कुटनीतिक तवरबाट छानविन हुनुपर्ने माग राखे ।)
निशाको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ निधन भएको हो । आर्थिक अवस्था कमजोर भएको कारण उपचारविहिन घरमै थन्किएर रहेकी निशालाई करिब ३ महिना अगाडि उपचार हुन नसकेको अवस्था सञ्चारमाध्यमबाट थाहा पाएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेर उपचारको व्यवस्था मिलाएकी थिइन् ।
भोजपुरी फिल्म (मधेसी पुत्र २)/ टेलिश्रृखंला (डियर जिन्दगी) लगायत केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोलगायत करिब दुई दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् ।
नेपाली कलाकारितामा सफलता सिँढी चढ्दै गर्दा अझै राम्रो गर्ने सोचका साथ अभिनयमा डिप्लोमा गर्न उनी भारतको देहरादून ३ वर्ष अगाडि पुगेकी थिइन । सोही क्रममा उनी पुगेको डेढ महिना पछि कार दुर्घटना घाइते हुन पुगेकी थिइन् ।
सुरुमा परिवारले उनको उपचार आफ्नो तर्फबाट गरेपनि आर्थिक अवस्था कमजोर भएका कारण थप उपचार गर्न नसकेर घरमै थन्किएकी थिइन् ।





प्रतिक्रिया दिनुहोस