अभिनेत्री पल्पसालाई टिकटक वालाले जिउँदालाई श्रद्दान्जली भनेपछि
528 Views
काठमाडौं, खोज मिडिया १७ भदौ । यतीबेला घरमा आराम गरिरहेकी हास्यव्यंग्य अभिनेत्री पल्पसा डंगोलको परिवारलाई सोरबार र मंगलबार धेरैले फोन गरेर पल्पसाको अवस्थाबारे जानकारी लिएका छन ।
टिकटक चलाउने कुनै व्यक्तिले यी पल्पसाको तस्बिरमा (श्रद्धाञ्जली) लेखेर सोमबार टिकटक बनाएपछि धेरैले आत्तिँदै उनका परिवारलाई फोन गरेका हुन् । धेरैले उनको टिकटकमा लेखिएको श्रद्धाञ्जलीबारे प्रश्न राख्दा उनका आफ्नाले हैन भनेर प्रस्ट पार्नुपरेको हो । कसैलाई पनि एक्कासी (श्रद्धाञ्जली) लेख्दा त्यो व्यक्तिको परिवारदेखि शुभचिन्तकसम्म आत्तिनु स्वाभाविक नै हो । यही समस्या पल्पसा र उनको परिवारले अहिले भोग्नुपरेको छ ।
यो प्रसंगमा हास्यव्यंग्य अभिनेत्री पल्पसाले भनिन्, (टिकटकको भ्युज बढाउने नाममा जिउँदो मान्छेलाई यसरी हार्दिक श्रद्धाञ्जली लेखेर भिडियो लोड गर्दा कति पीडा हुन्छ होला । यस्तै पीडा अहिले म र मेरो परिवारले भोग्नुपरेको छ,) उनले अगाडि थपिन्,
(म स्वास्थ्य उपचार गराइरहेको बेला टिकटिक चलाउनेहरूले मेरो तस्बिरमा (श्रद्धाञ्जली) अर्पण गरेर पटकपटक भिडियो लोड गर्दै मलाई जिउँदै मारिरहेका छन् । गत महिना पनि मलाई यस्तो पीडा दिइएको थियो र मंगलबार पनि यस्तै पीडादायी कार्य टिकटक चलाउनेहरूले गरेका छन् ।)
हास्यव्यंग्य अभिनेत्री पल्पसाले टिकटकमा भ्युज बढाउन यसरी जिउँदै मानिसलाई मार्ने काम बन्द गर्न आग्रह गरेकी छन् । यस्तो कार्यले आफूहरूजस्ता बिरामीलाई मानसिक रूपमा साह्रै तनाव हुने र मनोबल खस्कने पनि उनले बताएकी छन् । अहिलेको अवस्था आफूलाई हौसला र साथको आवश्यकता भएको पनि उनको कथन छ । करिब एक महिना शिक्षण अस्पताल बसेर घर फर्किएकी उनी पछिल्लो समय कीर्तिपुरको पाँगास्थित माइतमा बस्दै आएकी छन् । अहिले सातामा दुईपटक किस्ट अस्पतालमा डाइलसिस गरिरहेको पनि उनले जानकारी गराइन् ।
यी अभिनेत्रीले अबको केही समयमा मिर्गाैला प्रत्यारोपण गर्ने पनि बताएकी छन् । एक जना आफन्त मिर्गौला दिन तयार भएको र मिर्गाैला प्रत्यारोपणका लागि अहिले आवश्यक स्वास्थ्य परीक्षण पनि गरिरहेको उनले बताइन् । सबै परीक्षण सकिएको र अब आफूहरूको मिर्गाैला (म्याचिङ) को परीक्षण यो साता हुने पनि उनले बताइन् । यदि म्याचिङ भएको खण्डमा आफू मिर्गौला प्रत्यारोपणको तयारीमा जुट्ने पनि उनले जनाएकी छन् ।
पाँच वर्षअघि नै एउटा मिर्गाैला खराब भएपछि पल्पसाले निकै सजगता अपनाउँदै आएकी थिइन् । दुई महिनाअघि एक्कासि अर्को पनि मिर्गाैलाले काम गर्न छाडेपछि अहिलेको अवस्थामा आफू पुग्नुपरेको पल्पसाको कथन छ । तथापि शुभचिन्तकहरूको साथ, हौसला र प्रेरणाले आफ्नो आत्मबल उच्च हुँदै गरेको पनि उनले बताएकी छन् ।
हास्य अभिनेत्री पल्पसा डंगोलको स्वास्थ्यमा केही सुधार आएको छ । गत महिना दुईवटै मिर्गाैलाले काम गर्न छाडेपछि काठमाडौंको त्रिविवि शिक्षण अस्पतालमा भर्ना भएकी उनी केही समय उपचारपछि अहिले घरमै आराम गरिरहेकी छन् । उनले अहिले ग्वार्कोस्थित किस्ट अस्पतालमा डाइलसिस गरिरहेकी छन् । आफ्नो स्वास्थ्य अवस्थाबारे उनले भनिन्, (पहिलाको भन्दा केही सुधार भएको छ । अहिले आफैं नुहाउने, खाना बनाएर खाने तथा सामान्य हिँडडुल गर्न सक्ने भएकी छु ।)





प्रतिक्रिया दिनुहोस