काठमाडौंका सडकमा थुप्रिए फोहोर
1291 Views
काठमाडौं, खोज मिडिया १४ भदौ । उपत्यकामा करिब एक महिनादेखि फोहोर उठेको छैन। फोहोर व्यवस्थापन गर्ने ठाउँसम्म पुग्ने सडक अविरल वर्षाका कारण बिग्रेको भन्दै महानगरले फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरिरहेको छ। बञ्चरेडाँडामा निर्माणधीन ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत अध्ययन गरेर फर्किएपछि मेयर शाक्यले भने, (बञ्चरे डाँडामा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइट जतिसक्दो छिटो सम्पन्न गरेर हस्तान्तरण भएको अवस्थामा स्थायी रूपमा फोहोर व्यवस्थापन गर्न सकिन्छ।)
मेयर शाक्यले केही दिनदेखि वर्षाले सिसडोल ल्याण्डफिल साइटसम्म जाने सडक बिग्रेकोले नियमित रूपमा फोहोर व्यवस्थापनमा कठिनाइ भइरहेको बताए। ‘सिसडोलसम्म जाने बाटो पानी परेकोले बिग्रेको छ। फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ उनले भने, ‘बाटोकै कारण फोहोर उठाउन नसकिएको हो।’
उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौं बनाउने प्रतिवद्धता पनि जनाएका छन्। उनले सडक खुलाउन केही समय लाग्ने भएकोले फोहोर सडकमा नफाल्न पनि आग्रह गरेका छन्।
बञ्चरे डाँडामा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको पनि उनले बताए। फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको पनि उनको भनाइ छ। महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले सामान्य अवस्थामा फोहोर बोकेका एक सय ५० वटा ट्रक फोहोर बोकेर पुग्ने भए पनि अहिले ५० ट्रक पनि पुग्न नसकेको बताए।
तर सिसडोल ल्याण्डफिल्ड साइटका साइट ईञ्चार्जसमेत रहेका ईञ्जिनियर सरकारदीप श्रेष्ठ २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म पनि फोहोर व्यवस्थापन गर्दा अनेक समस्या देखिएको बताए। काठमाडौं उपत्यकामा दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ ।





प्रतिक्रिया दिनुहोस