बाढीपहिरोको उच्च जोखिममा सिन्धुली
821 Views
सिन्धुली, खोज मिडिया १३ भदौ । अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोका कारण जिल्लाका विभिन्न बस्ती तथा घरहरू जोखिममा परेका छन् । कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा पहिरोका गएका कारण बस्तीहरू जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिका–७ को एकपाखेमा प*हिरोका कारण ६, ७ घर उच्च जोखिममा परेका छन् । प*हिरोका कारण सिन्धुलीदेखि तिनपाटन जाने निर्माणाधीन सडक समेत अवरुद्ध भएको छ । पिचका लागि ग्राभेल गरिएको सडक चिरा चिरा परेर क्षति भएको छ । यस्तै उक्त वडाको रामपुरमा पहिरोका कारण एक घर जोखिममा परेको छ ।
यस्तै कमलामाई नगरपालिका–११ फिटिङमा पहिरोका कारण चार/पाँच घर जोखिममा परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनका अनुसार उक्त बस्तीसँगै जोडिएको सडकमा झरेको पहिरोको माटो हटाइएको छ । यस्तै कमलामाई नगरपालिका–५ मिलनचोकका दुई घर पनि पहिरोका कारण जोखिममा परेका छन् ।
बीपी राजमार्गमा पर्ने विभिन्न खहरेमा आएको बाढीले अवरुद्ध सडक सफा गरी सुचारु गरिएको छ । बिहानैदेखि अबरुद्ध सडक सफा गरी यातायात सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन् । बीपी राजमार्गअन्तर्गत कमेरेफाँटको पहिरो समेत सफा गरी यातायात सञ्चालन गरिएको हो ।
यस्तै मध्यपहाडी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अबरुद्ध भएको छ । उक्त राजमार्गको सिन्धुली खण्डमा १५ वटा पहिरो गएको र ६ वटा पहिरो ग्रेडर लगाएर खुलाइएको भए पनि सबै पहिरो हटाउन नसकिएको प्रजिअ न्यौपानेले बताएका छन । यस्तै ग्वाङखोलामा आएको बाढीका कारण बसपार्क क्षेत्रमा रहेको पुलामी फ्रेस हाउस कटान गरी जोखिममा पारेको छ ।
सोसँगै बसपार्कबाट मधुटार तर्ने पक्की पुल समेत जोखिममा परेको छ । यस्तै उक्त खोलाले शनिबारे हाट बजारको तल्लो भाग कटान गरेका कारण हाटबजारस्थल नै जोखिममा परेको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेसहितको टोलीले जिल्लाका विभिन्न बाढी प*हिरो गएका स्थानको अवलोकन गरेको छ ।
विपद् व्यवस्थापनका लागि टोलीले तथ्य अवलोकन गरेको हो । कमलामाई नगरपालिका क्षेत्रका पहिरो प्रभावित क्षेत्र, कमला नदीबाट प्रभावित हुने क्षेत्र कमलामाई नगरपालिका र दुधौलीका विभिन्न ठाउँहरू, बीपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी राजमार्गका विभिन्न स्थान, सिन्धुली तिनपाटन सडकलगायतका ठाउँको अवलोकन गरिएको प्रजिअ न्यौपानले बताएका छन् । बाढी र पहिरोका कारण धेरै ठाउँका बस्ती तथा खेतीयोग्य जमिन जोखिममा परेको पाइएको उनले बताए ।
यस्तै कमला, चँदाहा मरिणलगायतका नदीमा सतहभन्दा बढी बाढी आएको छ । कमला नदीमा आएको बाढीका कारण कमलामाई नगरपालिका क्षेत्रका धान खेतहरू पुरिएका छन् भने कतिपय स्थानमा कटान समेत भएको छ । कमला नदीको बाढीले कमलामाई नगरपालिका–८ बाघमारा र वडा नम्बर–१० भडार जोड्ने झोलुंगे पुल उच्च जोखिममा परेको स्थानीयबासि तिलक कार्कीले बताए ।





प्रतिक्रिया दिनुहोस