पर्यटन समावेशी कुण्ड
708 Views
काठमाडौँ , खोज मिडिया १२ भदौ । बाह्रबिसे नगरपालिका–५ गातीस्थित भयौलीकुण्ड पुग्ने जो कोही प्राकृतिको अनुपम छटामा पानीपानी हुन्छन् । निर्माणधीन मध्यभोटेकोशी जलविद्युत आयोजनाको पावरहाउस जम्बुनजिकैबाट करिब १२ किलोमिटर यात्रापछि पुगिन्छ, यहाँ । विकट क्षेत्र भए पनि पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण ठाउँ विकासका लागि बाह्रबिसे नगरपालिकाले केही वर्षअघिदेखि यहा“को भौतिक पूर्वाधार थालेको थियो ।
समुन्द्री सतहदेखि २८ सय मिटर उचाइ । वरिपरी हिमाल । घनाजंगल । चौरीका बथान अनि चिसो मौसममा पनि बिहानै लाग्ने तातो घामको स्र्पशले सा“च्चै नै स्वर्ग अनुभूति हुन्छ यहाँ आइपुग्दा । नगरपालिकाले कुण्ड पुनर्निर्माण गरेर आर्कषक बनाएपछि धार्मिक आस्था र पर्यटकीय गन्तव्य बन्न पुगेको छ । विगतमा सामान्य कुण्ड भयौलीले बेहुलीको रूप धारण गरेको छ ।
कुण्ड विकासका लागि संघीयता र स्थानीय तहमा आफ्नै गाउँको नेतृत्व आउँदासम्म स्थानीयले पर्खनुप¥यो । अनेकौं सम्भवनाले भरिपूर्ण भयौलीमा राज्यको ध्यान नपुग्दा यसको मात्रै होइन, सिंगो मान्द्रा, व्यार्सा सोताङ, भन्ज्याङलगायत गाउँ विकास र समृद्धिबाट गुमनामजस्तै थिए । स्थानीय सरकार आएपछि ओझेलमा रहेको भयौलीकुण्ड अहिले धार्मिक र पर्यटकीय गन्तव्य बन्न पुगेको स्थानीय आङदोर्जे शेर्पा बताउँछन् । स्थानीयसमेतको सक्रियतामा भयौलीकुण्डको रूप फेरिएको उनी सुनाउँछन् ।
तीन वर्षअघिदेखि निर्माण सुरु भयौली कुण्ड सम्पन्न चरणमा छ । बाह्रबिसे नगरपालिका, बाग्मती प्रदेश सरकार र संघीय सरकारले यसलाई प्राथमिकतामा राखेपछि झन्डै एक करोड लागतमा कुण्ड यो अवस्थामा आइपुगेको हो । कुण्डमा वर्षको तीनपटक मेला लाग्छ । शिवरात्रि, बुद्ध पूर्णे अर्थात् जेठ पूर्णिमा र धान्य पूर्णे यहाँ मेला लाग्ने मुख्य तिथि हुन् । यीमध्ये बौद्ध धार्मिक सम्प्रदायअन्तर्गत बोन समुदायले विशेष महत्वसाथ मनाउने बोनै पूर्णिमा र हिन्दूले मनाउने जनैपूर्णिमा एकैदिन पर्ने हुनाले यहाँ त्यसदिन धेरै ठूलो मेला लाग्छ ।
भयौली कुण्डमा महादेवको बास रहेकाले मागेको ‘बर’ पाइने विश्वाससाथ श्रद्धालु भाकलसहित यहाँ आउने गर्छन् । यस क्षेत्रमा बौद्ध धर्मलम्बीको बाहुल्यता भए पनि सहज व्यवस्थाका लागि भयौलीकुण्डबीच शिव मन्दिरसमेत निर्माण गरिएको छ । ‘हामीले सबै धर्मप्रति आस्था राख्नेलाई भयौलीकुण्डसम्म आउन शिव, बुद्धथान निर्माण गरेका छौं,’ बाह्रबिसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पा भन्छन् ।
विगतमा टाढाबाट कष्टसाथ पुग्नुपर्ने भयौली प्रवेश स्थानसम्मै अहिले सहज रूपमा सवारी साधन पुग्दछन । हाइकिङ र टे«किङमा रुचि राख्नेका लागि यहाँदेखि कालिञ्चोक र देउढुंगासम्मको यात्रा पनि तय गर्न सकिन्छ । सिन्धुपाल्चोक उच्च क्षेत्रमा रहेका ताल र कुण्डमध्ये भयौली पनि एक हो । पाँचपोखरी, भैरवजस्ता भयौलीकुण्ड पनि महत्वपूर्ण पयर्टकीयस्थल भए पनि प्रचारप्रसार अभावले ओझेल परेको बाह्रबिसे नगरप्रमुख निमफुञ्जो शेर्पाको गुनासो छ ।
प्राकृतिक कुण्डमात्रै होइन, वरपर घना जंगलमा पाइने विभिन्न जनावर अनि जुगल हिमालको सिरेटोले वातावरण निकै मोहक बनाएको छ । भयौलीकुण्ड मात्रै होइन, यहाँबाट केही तल रहेको आनी गुम्बा, गोरखनाथ आधरभूत विद्यालय, मठ मन्दिर र नगरपालिकाले स्थानीयस्तर सुधारका लागि ल्याएको योजनाले पनि यो ठाउँ महत्वपूर्ण छ ।
१० रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको विशाल आनी गुम्बा अर्काे आर्कषक हो । नगरपालिकाले यहाँको जग्गामा स्याउखेतीका लागि माटो परीक्षण र प्राविधिक आएर सर्वेक्षणसमेत सुरु गरिसकेका छन् । अबको केही वर्षमा सबै क्षेत्रका लागि अध्ययन गर्न आउनेका लागि पाठशाल नै हुनेगरी काम गरिरहेको नगरप्रमुख शेर्पा सुनाउँछन् । शैक्षिक, धार्मिक, कृषि र पर्यटकका लागि यहाँबाट महत्वपूर्ण ज्ञान मिल्ने विश्वास उनको छ ।





प्रतिक्रिया दिनुहोस