आन्तरिक राजस्व विभाग लेखिएका स्टिकर पनि नक्कली दुई लाख ४० हजार थान बरामद
367 Views
भैरहवा, खाेज मिडिया ६ भदौ । सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीले शुक्रबार राति ठूलो परिमाणमा आन्तरिक राजस्व विभाग लेखिएका नक्कली स्टिकर बरामद गरेको हाे ।
सो गण मातहतको बोर्डर आउट पोष्ट *बीओपी* बाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको नेतृत्वमा खटिएको ९ जनाको मोबाइल टोलीले सिद्धार्थनगर नगरपालिका–३ दरखसवास्थित सहिद अन्सारीको घरबाट आन्तरिक राजश्व विभाग लेखिएको स्टिकर ८० रोल बरामद गरेको थियाे ।
जस मध्य एक रोलमा तीन हजार ओटा रहेको छ । बरामद नक्कली स्टिकर दुई लाख ४० हजार ओटा रहेको सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश उप्रेतीले बताए का छन् ।
नक्कली स्टिकर बरामद गर्ने क्रममा सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका ३ दरखसवा बस्ने २३ वर्षीय सहिद अन्सारी र सोही ठाउँ बस्ने २४ वर्षीय अमानत अली रहेका छन् ।
उनीहरुबाट लु २ च २५० नम्बरको गाडीसमेत बरामद भएको छ । पक्राउ परेका व्यक्ति, बरामद नक्कली स्टिकर र गाडी सशस्त्र प्रहरीले शनिबार दिउँसो राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।
आन्तरिक राजस्व कार्यालय बुटवलले बरामद स्टिकरबाट आयकरअन्तर्गत १० लाख, मूल्य अभिवृद्धि करअन्तर्गत ३१ लाख ६३ हजार र अन्त शुल्कवापतको एक करोड ९४ लाख गरी दुई करोड ३५ लाख ६३ हजार रुपैयाँ छली हुने देखिएको जनाएको छ ।
सशस्त्र प्रहरीले ठूलो परिमाणमा राजस्व अनुसन्धान विभाग लेखिएको नक्कली स्टिकर बरामद गरेसँगै यस्तो गतिविधिको सुरुवात र सञ्जालबारे गहन ढंगले छानबिन हुनुपर्ने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस