ईपीएलको प्रायोजक र ब्रोडकास्ट पार्टनर सार्वजनिक
506 Views
काठमाडौं, खोज मिडिया ५ भदौ । अर्को महिनादेखि सुरु हुने बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)को देशभित्र प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा असोज ९ देखि २३ गतेसम्म ईपीएलको चौथो संस्करण आयोजना हुँदै छ ।
ईपीएलको साझेदार एडप्याडले प्रसारण अधिकारमा हिमालय टेलिभिजनसहित अन्य प्रायोजकसँग शुक्रबार सम्झौतापत्र आदानप्रदान गरेको छ । एडप्याडका सुरज गिरी र हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले सम्झौतापत्र आदानप्रदान गरे । डिजिटल प्लाटफर्ममा प्रत्यक्ष प्रसारणका लागि भने ईपीएलले यसअघि नै ओएसआर स्पोर्ट्ससँग सम्झौता गरिसकेको छ । हिमालय टेलिभिजनले यसअघि दुईपटक पोखरा प्रिमियर लिग (पीपीएल)को प्रत्यक्ष प्रसारण गरेको थियो ।
त्यस्तै नेपाल, नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिकोणात्मक श्रृंखलाको पनि प्रत्यक्ष प्रसारण गरेको थियो । एडप्याडले ईपीएल संस्थापक आमिर अख्तरसँग पनि सम्झौतापत्र आदानप्रदान गरे । त्रिवेणी ग्रुपका निर्देशक आदित्य सांघाई, ओएसआर स्पोर्ट्सका प्रबन्ध निर्देशक ओम अग्रवाल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, डाबर नेपालका बजार व्यवस्थापन प्रमुख अभय गोर्खाली र एड रिलिजका दीपक कोइरालाले सम्झौतापत्र आदानप्रदान गरेका थिए ।
फ्रेन्चाइज टोलीले पनि विदेशी खेलाडी अनुबन्ध गर्न थालेका छन् । काठमाडौं किंग्स ११ ले पाकिस्तानका स्टार पूर्वअलराउन्डर साहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ । भैरहवा ग्ल्याडियटर्सले श्रीलंका विकेटकिपर दिनेश चान्डिमल, चितवनले पाकिस्तानका डानिस अजिजको नाम सार्वजनिक गरिसकेको छ । प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्र्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोज गरी ६ सहरका ६ फ्रेन्चाइज टोली छन् । पछिल्लोपटक २०१८ को ईपीएलको फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले हराउँदै उपधि जितेको हो ।





प्रतिक्रिया दिनुहोस