उत्पादनको क्षेत्रमा लगानी बढाउनुस “सहकारीलाई अर्थमन्त्री शर्माको निर्देशन”
418 Views
काठमाडौं, खोज मिडिया ३२ साउन । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन्। नेफ्स्कुनको स्थापना दिवसमा उद्घाटन गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र बनाउन सहकारीहरुलाई आग्रह गरेका हुन् ।
बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले प्रश्न गरे !*तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन।*
उनले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको जानकारी दिए। *तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु।* मन्त्री शर्माले भने *तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस्। कम्तिमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस्। गरिब निवारणमा सहयोग गर्नुस्।*
सहकारीहरुले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेकाले उनले त्यसलाई घटाउनुपर्ने उनको तर्क छ। कतिपय सहकारीहरुले जनताको पैंसा ठगेर उठिबास लगाएका घ ट नाहरु देखिएको बताउँदै अर्थमन्त्री शर्मा त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे। उनले सहकारीका संस्थापकहरुले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।
अहिलेसम्म स्थिरीकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ४ हजार प्रारम्भिक संस्थाहरु तथा प्रदेश र जिल्ला बचत संघहरुमार्फत ७ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन्। देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीहरुमा ३४ लाख व्यक्तिगत सदस्यहरु आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस