समाजवादका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी स्थापन
299 Views
काठमाडौँ , खोज मिडिया ३१ साउन । समाजवादमा जान क्रान्तिका दुई चरण : पुँजीवादी र समाजवादी क्रान्ति : पार गर्दै अगाडि बढ्नुपर्छ । विश्व समाजवादी आन्दोलनमा क्रान्तिका आआफ्नै अनुभव छन् । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको एकल नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भएर समाजवाद स्थापनाको आधार निर्माण भएर चीन अगाडि बढिरहेको छ । रुसमा जारशाहीविरुद्ध भएको फेरबरी क्रान्तिपछि लेनिनको अगुवाइमा भएको अक्टोबर क्रान्तिको सफलताले समाजवाद स्थापना ग¥यो । यस्तै अन्य देशका पनि क्रान्तिका आआफ्नै अनुभव छन् ।
नेपालमा ७० वर्ष लामो सामन्तवाद विरोधी राजनीतिक आन्दोलनको उत्कर्ष स्वरूप २०६२/६३ मा आइपुग्दा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भयो । २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमा श्रमजीवी वर्गको प्रतिनिधि कम्युनिस्ट पार्टीहरू र लोकतान्त्रिक राजनीतिक शक्तिको संयुक्त आह्वानमा आन्दोलन भयो । आन्दोलनले विद्रोह हुँदै क्रान्तिको स्वरूप लिएपछि राजतन्त्रले घुँडा टेक्यो र गणतन्त्र स्थापना भयो । यस अर्थमा रुसमा भएको फरबरी क्रान्ति झैँ नेपालमा पुँजीवादी जनवादी राजनीतिक क्रान्ति सम्पन्न भएको छ । तर, यो पुँजीवादी राजनीतिक क्रान्तिले नै समाजवाद स्थापना हुँदैन । समाजवाद स्थापना गर्न समाजवादी क्रान्ति गर्नु अपरिहार्य छ । यो समाजवादी क्रान्ति कम्युनिस्ट पार्टीको अगुवाइमा समाजवादी कार्यक्रम अवलम्बन गरेका राजनीतिक शक्ति, वर्ग र समुदायको सहयोगमा मात्रै सम्भव हुन्छ ।
रुसमा भएको फेरबरी क्रान्ति झैँ नेपालमा पुँजीवादी जनवादी राजनीतिक क्रान्ति सम्पन्न भएको छ । नेपालमा २०६२/६३ मा भएको पुँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलतासँगै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न जारी भएको संविधानले मुलुकलाई समाजवादी दिशामा अगाडि बढाउने दिशाबोध गरेपछि संविधानतः पनि मुुलुुक क्रान्तिको अर्को चरणमा प्रवेश गरेको छ । नेपाली क्रान्तिलाई पूर्णतामा लैजान वामपन्थीकै नेतृत्वमा समाजवादी क्रान्ति गर्नु अपरिहार्य रहेको छ । यसै सन्दर्भमा दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादीबीच वामगठबन्धन हुँदै पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भयो । निर्वाचनमा नेकपाले दुई तिहाइको हाराहारीमा जनमत प्राप्त गरेर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो । नेकपाको सरकारले चारवटा नीति, कार्यक्रम र बजेट ल्यायो । तर, बजेटले समाजवादको आधार निर्माण गर्ने दिशामा सम्बोधन गर्न सकेन । उही ३० वर्षदेखि नै अवलम्बन गर्दै आएको नवउदारवादी पुँजीवाद र दलाल पुँजीवादलाई प्रोत्साहन गर्ने नीति कार्यक्रम नै लागू ग-यो ।
सरकारबाट नवउदारवादले सिर्जना गरेको शिक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानी, सार्वजनिक यातायात, प्राकृतिक स्रोतसाधन, जलस्रोत, वनजंगल, उद्योग, खनिज खानीमा भइरहेको व्यापारीकरण, निजीकरण, दलालीकरण र माफियाकरणलाई अन्त्य गरेर सार्वजनिक स्वामित्व कायम गर्दै सार्वजनिक लगानी वृद्धि गरेर जाने दिशामा काम गर्नेतर्फ ध्यान दिएन । बरु उल्टै अध्यादेश बजेटबाट सार्वजनिक संस्थानको निजीकरण गर्ने कार्यक्रम अगाडि सा-यो । कम्युनिस्ट पार्टीको नेता हुने अनि निजी कलेज, निजी स्वास्थ्य अस्पताल सञ्चालन गर्ने, जग्गा कारोबार र श्रम निर्यात गर्ने मेनपावर व्यवसाय सञ्चालन गर्ने जुन परिपाटी छ, यसले गर्दा पनि कम्युनिस्ट पार्टीले दलाल पुँजीवादविरुद्ध संघर्ष गर्न सकेको छैन ।
श्रमजीवी वर्गको पार्टी हुनको नाताले श्रमजीवी वर्गलाई पार्टी र राज्य सत्ताको नेतृत्वमा पु-याउने भन्दा पनि यस्तै व्यवसायमा लागेका मानिसलाई चुनावमा टिकट दिने किनकि उसँग पैसा छ । पार्टीलाई चन्दा दिएको छ, नेतालाई सहयोग गर्दै आएको छ भनेर टिकट दिने जुन परिपाटी छ । यसले पार्टीको नेतृत्वमा श्रमजीवी वर्गको प्रतिनिधित्व होइन प्रकारान्तरले व्यवसायी पुँजीपति र दलाल पुँजीवादको वर्चस्व बढ्ने निश्चित छ । यतिसम्म कि सत्तामा पुगेर नेतृत्व नै धार्मिक गतिविधिमा संलग्न भएर धर्मको आडमा राजनीति गर्न उद्धत हुन थालेको छ । यसबाट पनि के पुष्टि भएको छ भने नेतृत्वले सत्तामा गएर समाजवाद उन्मुख नीति कार्यक्रम र कम्युनिस्ट आचरण व्यवहारमा लागू गर्न नसक्दा वा नचाहँदा क्रान्ति वेबारिसे बन्ने रहेछ भन्ने पुष्टि भएको छ ।
नयाँ चेतना र दृष्टिकोणको जगमा नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणसँगै समाजवादी क्रान्तिको अगुवाइ गर्नसक्षम पार्टी निर्माण गर्न सकिन्छ । दुई तिहाइको जनादेश पाएको वाम सरकारले गरेका कामको कमीकमजोरीलाई आलोचना गर्दै सुधारात्मक दिशामा अगाडि बढाउन पार्टीभित्र नै अन्तरसंघर्ष चलाउने पार्टीभित्र प्रयत्न भयो । कम्युनिस्ट पार्टीभित्र सुधारको तरिका नै यहीँ नै हो । तर, प्रधानमन्त्री ओलीले पार्टीभित्र उठेका गुनासो, आलोचना, टिप्पणी र सुझावलाई बेवास्ता मात्रै गरेनन् कि मलाई आलोचना गरिन्छ वा मैले भनेजस्तो हुन नदिने हो भने यो कुर्सी नै भाँची दिन्छु भनेर पार्टीको बैठकमा भनेपछि पार्टीभित्र विग्रह स्वतः उत्पन्न हुने स्थिति देखियो ।
यहीँ भएर पार्टीको गत भदौ २६ को बैठकले पार्टी र सरकार सञ्चालन सहमति र समझदारीपूर्वक गर्दै जाने र प्रधानमन्त्री केपी ओलीले बाँकी दुई वर्षको अवधि सरकारको नेतृत्व गरी सरकार सञ्चालन गर्ने, सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीको समन्वयमा गर्ने पार्टीको निर्णयलाई लत्याएर संसद् नै विघटन गरिदिएपछि राजनीतिक संकट उत्पन्न भयो । र, पार्टीसमेत फागुन २३ पछाडि पूर्ववत् दुईवटा पार्टीको अवस्थामा पुग्यो । सँगसँगै पार्टी एकता नै टुट्न पुग्यो । संसद् विघटन गरेको घटना प्रतिगमनकारी र असंवैधानिक कदम भएको ठहरका साथ वामपन्थी शक्ति, लोकतन्त्रवादी शक्ति प्रतिगमनविरुद्ध आन्दोलनमा उत्रिए भने केपी ओली पक्षधर पार्टीका कार्यकर्ता, राजावादी, पूर्वपञ्चहरू, हिन्दूवादी, राजावादी कानुन व्यवसायी अर्थात् दक्षिणपन्थी शक्तिहरू जो हिजोको गणतान्त्रिक आन्दोलनका विरोधी थिए, उनीहरू केपी ओलीको संसद् विघटनको पक्षमा खुलेर लागेका कारण राजनीतिक ध्रुवीकरणसँगै झन् राजनीतिक संकट बढेर गयो । पुनः दोस्रोपटक पनि प्रतिनिधि सभा विघटन भयो । तर, विघटन गरेको प्रतिनिधि सभालाई अदालतले फेरि पुनस्र्थापन गरिदिएपछि दुई तिहाइको जनमत प्राप्त वामपन्थी सरकार सत्ताबाट बहिर्गमन हुनुपर्ने स्थिति उत्पन्न भयो ।
यसरी समाजवादी क्रान्तिको अगुवाइ गर्ने कम्युनिस्ट पार्टी सरकारमा पुगेर पनि जनादेश र पार्टीको सिद्धान्त, नीतिअनुसार काम नगर्दा समाजवादी क्रान्ति गर्ने ऐतिहासिक कार्यभार अगाडि बढ्न सकेको छैन । यस्तो स्थितिमा अब संविधानले दिशाबोध गरेबमोजिम समाजवादी क्रान्ति गरेर समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउने युगीन अभिभारा कम्युनिस्ट आन्दोलनसामु रहेको छ । समाजवादी क्रान्तिको अगुवाइ गर्ने मूलधारको कम्युनिस्ट पार्टीमध्ये नेकपा एमालेले पनि समाजवादी क्रान्ति गर्ने नेपाली क्रान्तिको ठोस कार्यक्रम अघि सार्न सकेको छैन । उहीँ हिजो पुँजीवादी क्रान्तिका लागि मार्गनिर्देशन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई नै बोकेर हिँडेको छ भने माओवादी केन्द्रले पनि २१औं शताब्दीको जनवादलाई बोकेको छ ।
वास्तवमा जबज र यसमा तात्विक भिन्नता पनि छैन । तर, नेतृत्वले माक्र्सवाद लेनिनवादका मूल्य मान्यता र जबजका मूल्य मान्यताअनुसार भूमिका निर्वाह नगरेकै कारण आज एमालेभित्र व्यक्तिवाद, अहंकारवाद, सर्वसत्तावाद हावी भएको छ । गुटबन्दीका कारण कतिपय कार्यकर्ता नेतृत्वसामु निरीह साबित भएका छन् । नेतृत्वले गरेका कमीकमजोरीप्रति आलोचनात्मक चेतका साथ आफ्ना कुरा राख्नुको सट्टामा कार्यकर्ता नेतृत्वको नै जयजयकार गर्दै हिँडेको अवस्था छ । पुष्पलाल यस्तो कुराको विरोधी थिए । पार्टीमा नेता होइन नीति प्रमुख हुन्छ भनेर कार्यकर्तालाई पार्टीको नीतिलाई बोकेर हिँड्न पुष्पलालले कार्यकर्तालाई आह्वान गरेको पाइन्छ । पार्टीभित्र नेतृत्वले गरेका कमीकमजोरी औंल्याउँदा पनि नेतृत्वले सुनुवाइ गर्न चाहेको छैन । उल्टै आफूलाई सर्वशक्तिमान बनाउने ढंगबाट नीतिमा परिवर्तन गर्न उद्वत रहेको देखिन्छ । यसले गर्दा एमाले विभाजनको डिलमा पुगेको छ ।
पार्टी ठूलो भएर मात्रै हँुदैन । सही क्रान्तिकारी विचारबाट पार्टी र सरकारलाई हिँडाउन पार्टी सक्षम भएन भने केही अर्थ हुन्न । सोभियत संघमा पनि जनवादी केन्द्रीयताको सन्तुलित अभ्यास नहुँदा र संशोधनवाद हावी हुँदा ७० वर्ष लामो समाजवादी मोडेल गल्र्यामगुर्लुम ढलेर पुँजीवाद पुनस्र्थापन भयो । लाखौं करोडौं कम्युनिस्ट कार्यकर्ता भएको पार्टीका कार्यकर्ताले प्रतिक्रान्तिको प्रतिरोध गर्न सकेनन् । यसअर्थमा पनि समाजवादी क्रान्तिको अगुवाइ गर्न सही क्रान्तिकारी पार्टी, नीति, कार्यक्रम र त्यसलाई हाँक्ने संगठन र नेतृत्वको जरुरी छ ।
समाजवादी क्रान्तिको अगुवाइ गर्ने कम्युनिस्ट पार्टीलाई अब नयाँ ढंगको कम्युनिस्ट पार्टीका रूपमा निर्माण र सञ्चालन गरिनुपर्छ । पार्टीभित्रको अन्तरसंघर्ष केवल सत्तामा जाने, प्रधानमन्त्री, मन्त्री, सांसद हुने, राजनीतिक नियुक्ति लिन होइन, अबको आन्दोलन श्रमजीवी वर्गको चेतना भर्ने, पार्टीभित्र श्रमजीवी वर्गको नेतृत्वलाई सुनिश्चित गर्ने, संविधानवाद स्थापना गर्ने, कम्युनिस्ट आन्दोलनमा हुर्किएको व्यक्तिवाद, अहंकारवाद, दक्षिणपन्थी रुझान र वामआन्दोलनलाई नै धरासायी बनाउने ख्रुस्चेव र रायमाझी प्रवृत्तिविरुद्ध हो भनेर क्रान्तिकारी आशावादी जगाउने र चेतना भर्ने ढंगले नीति, विचार अगाडि सार्न जरुरी छ । बुर्जुवा र वामपन्थीबीच सरकारमा गएर काम गर्दा भिन्न देखिनुपर्छ । चुनावदेखि चुनावसम्मको संसदीय पेरिफेरिभन्दा माथि उठेर समाजवादी क्रान्ति सम्पन्न गर्ने सुस्पष्ट विचार, संगठन, नेतृत्व र कार्यशैलीको हिसाबले नयाँ ढंगको पार्टीका रूपमा विकास गर्ने दिशामा अबको आन्दोलनको दिशा हो भनेर प्रतिबद्धता र दृढतासहित पार्टी कार्यकर्ता र श्रमजीवी जनतालाई अपिल गर्न पर्ने टड्कारो आवश्यकता रहेको छ ।
समाजवादी क्रान्तिको अगुवाइ गर्न नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण र सञ्चालन गर्न माक्र्सवादी विचारबाट लेस भएका नेता तथा कार्यकर्ताको आवश्यकता हुन्छ । यसकोे अभावमा कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी पार्टीका रूपमा विकास र रूपान्तरण गर्न सकिन्न । माक्र्सवादी लेनिनवादी विचारले लेस भएर पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्न लेनिनवादी सिद्धान्त र पद्धतिलाई दृढतापूर्वक आत्मसात् गरेर व्यवहारमा लागू गर्नुपर्ने खाँचो छ । अब कम्युनिस्ट पार्टीलाई एक/दुई जनाबाट निर्णय हुने पद्धतिलाई अन्त्य गरेर पार्टीमा सामूहिक छलफल गरी निर्णय गर्ने, कमिटी पद्धतिलाई व्यवहारमा लागू गरेर व्यक्तिवाद र स्वेच्छाचारी प्रवृत्तिलाई अन्त्य गर्ने दृढताका साथ अगाडि बढाउनुपर्छ । पार्टीभित्र कार्यसम्पादनमा आधारित मूल्यांकन पद्धतिको थालनी गरिनुपर्छ । उत्कृष्ट नीति विचार, कार्यक्रम प्रस्तुत गरेर पार्टीको नेतृत्वमा पुग्न सक्नेगरी नेतृत्व छनोटको स्वस्थ्य प्रतिस्पर्धाको नीतिलाई अवलम्बन गर्नुपर्छ । गुटबन्दीमा लागेका आधारमा वा नेताले मन पराएको व्यक्ति नेतृत्वमा पु-याउने खालको परिपाटीले सही र योग्य व्यक्ति नेतृत्वमा पुग्न सक्तैनन् । यस्तै, पार्टीभित्र, योग्यता क्षमताका आधारमा सक्षम व्यक्तिलाई सामूहिक निर्णयबाट जिम्मेवारी प्रदान गर्ने परिपाटीले मात्रै पार्टी कार्यकर्तामा क्रान्तिकारी आशावाद जागृत हुनेछ । तसर्थ, पार्टीमा कोही पनि कार्यकर्तालार्ई पक्षपात र भेदभाव हुँदैन भन्ने नीति र कार्यसम्पादन प्रणाली आजको आवश्यकता बनेको छ ।
यस्तै, अब पार्टीका नेता र कार्यकर्ताको कार्यशैली र जीवनशैलीलाई जनताको जीवनसँग जोडिने गरी सर्वहारावादी जीवन शैली अवलम्बन गर्ने नयाँ नीति र पद्धतिका साथ पार्टी सञ्चालन गर्ने नीतिको आवश्यकता छ । यसो भयो भने निश्चित रूपमा नयाँ पार्टी निर्माण र सञ्चालनको आधार तयार हुनेछ । नेतृत्वको विकास र हस्तान्तरणको विषय पनि यतिबेला गम्भीर महत्वका साथ कम्युनिस्ट आन्दोलनमा उठिरहेको छ । विचार सही नबोक्ने, गलत नेतृत्वको पछि लाग्ने, पद र अवसरका लागि अपहत्ते गर्दै हिँड्ने नयाँ पुस्ताले पनि पार्टीलाई क्रान्तिकारी दिशाबाट अगाडि बढाउन सक्तैन । सिद्धान्तका चर्का कुरा गर्ने तर व्यवहारमा गलत नेतृत्वको पछि लाग्ने प्रवृत्तिले सिद्धान्त र व्यवहारमा संगति हँुदैन । सबैखाले अवसरवादबाट मुक्त भएर सही क्रान्तिकारी विचार र कार्यक्रम अगाडि सारेर मात्रै नयाँ पुस्ताले पनि नेतृत्व गर्ने आधार निर्माण हुनेछ । यसैगरी अनुभवी पहिलो पुस्ताको अनुभव र योगदानलाई पार्टीले सम्पत्तिका रूपमा ग्रहण गरेर नै पार्टी झन् गतिशील हुनेछ ।
यस्तै, अब कम्युनिस्ट पार्टीले राज्य सञ्चालन गर्दा जनताको जीवनस्तर माथि उठाउने गरी समाजवादी आर्थिक सामाजिक नीति तय गरेर लागू गर्नुपर्ने खाँचो छ । सरकारमा गएर यती, ओम्नी, एनसेल, एमसीसीलगायत राष्ट्रिय हित र सुरक्षामा आँच पुग्ने सन्धिसम्झौताविरुद्ध सही दृष्टिकोण अगाडि सारेर दलाल पुँजीवादलाई परास्त गर्ने नीतिसँगै राष्ट्रिय पुँजी निर्माण गरेर स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सुस्पष्ट नीति तथा कार्यक्रमको खाँचो छ । जनतालाई शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सार्वजनिक यातायातका क्षेत्रमा भइरहेको व्यापारीकरण र निजीकरणको अन्त्य गरेर निःशुल्क र सर्वसुलभ सेवा प्रदान गर्ने नीति र कार्यक्रमलाई व्यवहारमै लागू गरेर जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्नुपर्नेछ । वैदेशिक रोजगारीमा जान विवश ५०औं लाख बेरोजगार जनतालाई औद्योगीकरण र स्वरोजगारीका माध्यमबाट देशभित्रै रोजगारी प्रदान गर्ने पार्टीको नीति, कार्यक्रमसहित जनतामा आन्दोलन, परिवर्तन र समाजवादी क्रान्तिप्रति विश्वास जागृत गर्नुपर्छ ।
अब पार्टी कामलाई सहरमुखी, राजधानीमुखी मात्रै होइन, दूरदराज ग्रामीण भेगका जनताको घरदैलोसम्म पुगेर पार्टीका नीति तथा कार्यक्रमको प्रचारप्रसार गर्ने, जनतालाई जागृत गरी श्रमजीवी जनतालाई कम्युनिस्ट पार्टीको झन्डामुनि गोलबन्द गर्ने, टोलटोल, बस्तीबस्तीसम्म पार्टी र जनसंगठन निर्माण र विस्तार गर्न आवश्यक छ । लाखौं लाख मानिसलाई समाजवादी क्रान्तिको चेतना फैलाउन र समाजवादी अभियानमा लामबद्व गर्न केन्द्रीय तहबाट नै अभियन्ता निश्चित अवधिसम्म परिचालन गरेर मात्रै समाजवादी क्रान्तिको अगुवाइ गर्ने पार्टी निर्माणको आधार हुनेछ र पार्टीलाई माक्र्सवादी लेनिनवादी सिद्धान्तबाट निर्देशित भएर सञ्चालन गर्न सक्दा मात्रै आन्दोलनमा हुर्किएको दक्षिणपन्थी अवसरवाद तथा व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्न सकिन्छ । साथै नयाँ नीति, नयाँ चेतना र दृष्टिकोणको जगमा नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणसँगै समाजवादी क्रान्तिको अगुवाइ गर्ने सक्षम पार्टी निर्माण गर्न सकिन्छ ।





प्रतिक्रिया दिनुहोस