सरकार भन्दा पार्टीलाई प्राथमिकता
369 Views
काठमाडौँ।, खोज मिडिया २९ साउन । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले भदौ लागेपछि मात्रै पूर्णता पाउने भएको छ । काँग्रेसको बैठक सकिएपछि माओवादीको सुरु हुने र माओवादीको बैठक सकिनासाथ जसपाको बैठक शुरु हुने भएकाले सरकार विस्तार भदौमा धकेलिएको हो । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले चार साता बित्दा पनि आफ्नो नेतृत्वको मन्त्रिमण्डललाई पूर्णता दिन नसकेर आलोचित बनेका छन् ।
देउवा सरकारले एक महिने अवधि पूरा गरिसक्दा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी आन्तरिक बैठकमै व्यस्त छन् । उनीहरु दिनहुँजसो बैठक बसिरहेका छन् । आगामी भदौ पहिलो सातासम्म सत्ता गठबन्धनका बैठकहरू तय भैसकेका छन् । सत्ताघटकमा रहेका सबैजसो दलभित्र आन्तरिक किचलो व्याप्त रहेकाले उनीहरुको व्यस्तता सरकार विस्तारमा भन्दा पनि पार्टीको आन्तरिक किचलो व्यवस्थापनमै बढी केन्द्रित देखिएको छ ।
सरकारभन्दा पार्टीलाई प्राथमिकता दिएको जनाएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको वैधानकितामाथि नै प्रश्न उठेपछि सो पार्टीको केन्द्रीय समिति बैठक बिहीबारबाट सुरु भएको छ । बैठक कति दिन लम्बिन्छ भन्ने एकिन नभएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् ।
‘बैठक यति नै दिन बसेर सकिन्छ भन्न सकिँदैन । किनभने, छलफलका एजेण्डाअनुसार बैठक लामो छोटो हुन्छ’, शर्माको भनाइ छ ।संविधानतः आगामी भदौ महिनामा नयाँ नेतृत्वका लागि महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने काँग्रेसलाई बाध्यता छ । तर, महाधिवेशनका लागि साउनभित्रै गर्नुपर्ने पार्टीका विभिन्न अधिवेशनहरूको कार्यतालिका प्रभावित भैसकेको छ ।
जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने काँग्रेसको तयारी छ । तर, काँग्रेसको रामचन्द्र पौडेल समूह भदौमै महाधिवेशन गर्नुपर्ने अडानमा छ । यसले गर्दा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा अप्ठेरोमा परेका छन् ।
सभापति देउवा निर्वाचन आयोगलाई ५० हजार जरिवाना तिरेर भदौमा तोकिएको महाधिवेशन थप ६ महिना पर धकेल्ने पक्षमा छन् । अर्कोतर्फ काँग्रेसमा क्रियाशील सदस्यता विवादको लफडा पनि पूर्णतः मिलिसकेको छैन ।





प्रतिक्रिया दिनुहोस