काठमाडौँ नगरपालिकामा (गुँला) पर्व आजदेखि शुरु हुदै
563 Views
काठमाडौँ , खोज मिडिया २५ साउन । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म/ कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवस रुपमा सुरु हुदै छ । नेपाल संवत्अनुसार दशौँ महिनालाई (गुँला) भनिन्छ । (गुँ) को अर्थ *गुण* गर्ने, राम्रो एवं गुनिलो काम/ अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउने गरिछ । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ त्यसलाई पालना गर्ने गरिन्छ ।
*यस पर्वका अवसरमा सक्नेले दशशील/ नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ । पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ*। उनले बताए । पञ्चशीलमा प्राणी हिंसा नगर्ने/ कसैले नदिई केही पनि नलिने/ काम मिथ्याचारअर्थात् श्रीमान् र श्रीमतीबीच मात्र शारीरिक सम्पर्क गर्ने/ झुटो कुरा नगर्ने/ लागुपदार्थ एवं मद्यपान नगर्ने यस्ता नियम रहेको छ ।
पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ । यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिने पनि राज गुरुजु बज्राचार्यले जानकारी दिनुभयो ।
यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको को*रोना भाइ*रसको स*ङ्क्र*मणको जोखिम कायमै रहेका कारण भक्तजन प्रवेशमा निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदीअर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।
ठमेलमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका प्रदर्शन गरिने गुँला पर्वका अवसरमा विभिन्न बौद्ध बिहारमा दीपङ्कर बुद्ध तथा बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध बिहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ । ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ । गुरुजुबाट यसको पाठसमेत हुन्छ । यो महायान सम्प्रदायका मानिसको ठूलो ग्रन्थ हो ।
भगवान् गौतमबुद्धले भारतको मध्यप्रदेशस्थित गृद्धकुट पर्वतको राजगृहमा गर्नुभएको प्रवचनमा आधारित भएर यो ग्रन्थ तयार पारिएको बौद्ध धर्मावलम्बीको भनाइ छ । बज्रयान सम्प्रदायको ग्रन्थ भने भगवान् गौतमबुद्धले भारतको महाराष्ट्रस्थित गुन्टुर जिल्लाको धान्यकरक पर्वतमा प्रवचन गर्नुभएको हो । यी दुवै स्थललाई हाल संरक्षित गरिएको छ ।
गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ । यो पर्व सकिएपछि नेवार समुदायले इयँला महिना पनि विशेषरूपमा मनाउँछन् । यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, बिहार, गुम्बा, स्तूपलगायत धार्मिकस्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा काठमाडौँ उपत्यका विभिन्न थरी बाजाले गुञ्जायमान हुने गर्छ ।
काठमाडौँ महानगरपालिका–७ चाबहिलका राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउनुहुन्छ । चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्न मन्दिर बन्द रहेकाले असम्भव भएको भक्तजनको गुनासो छ । बाहिरबाट घुम्न भने धेरै भक्तजन आउँने गर्छन ।
झरीले रो*ग व्याधलगायतको आक्र*मण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उहाँको अनुभव छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।
चाबहिल क्षेत्रमा घर घरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । चाबहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिएकामा यस वर्ष कोरोनाका कारण सम्भव नहुने देखिएको यस क्षेत्रका भक्तजनको भनाइ रहेको छ ।





प्रतिक्रिया दिनुहोस