रामेछापको रजिता तामाङ भन्नुहुन्छ, मेरो लागि संसारै दिनहुँ अँध्यारो हुँदै गए जस्तो लाग्छ !
817 Views
रोमन लामा
रामेछाप ०५ साउन खोज मिडिया। रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं-४,डहू स्थायी घर भई हाल ललितपुर इमाडोलमा ठुली आमाको छोरी कहाँ बस्दै आइरहेकी रजिता तामाङको वेदनाको कथा यस खालको छ। तपाईहरुले झूक्केर पनि पढ्न नछुटौउनु होला, सुनौ र पढौ रजिताको वेदनाको कथा:-
रजिता तामाङ दोङ रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं-४,डहूमा एक परिवारमा तिरस्कारको पात्र छोरी भएर जन्मिए। घरमा भाईको आवगमन हुँदा जुन खाले हर्ष उमाङ्ग थियो। म र मेरी दिदी जन्मिदा सम्भावत त्यस्तो खाले हर्ष उमाङ्ग थिएन होला। मेरी आमा सधैँ भन्नुहुन्थ्यो पहिलो सन्तान छोरा भएको भए अर्को सन्तान जन्माउने थिइनँ। आमाको कुरा सुनेर सोचें। हामीहरु कुन संयोगले जन्मिएका रहेछौँ भन्ने लाग्थ्यो।
आमाबुबाको माया त भाईले पायो तर उसको स्वास्थ्य राम्रो भएन। उसलाई जन्मिँदै जन्डिस भयो। पछि भाईलाई निमोनिया भयो। त्यसपछि क्षारेरोग पनि लाग्यो। सोहि चिन्ताले गर्दा बुबाले जाँड रक्सी पिउन थाल्नु भयो। आमाले भाईलाई बोक्दै झाँक्री कहाँ लैजानुभयो तर उसलाई बीसको उन्नाइस भएन। दिदी र म स्कुलमा पढ्न थालेँ। स्कुल ड्रेस च्यातिए पछि सेतो धागोले सिलाइ दिनु भएकी थिएँ। धागोको डोब देखेर साथीहरू हाँस्थे गिज्याउँथे। साथीहरुले पछाडि भिर्ने झोला बोक्थे। म र दीदी प्लास्टिकको झोलामा किताव बोकेर स्कुलमा जान्थेँ। अनि मलाई बेन्चमा नबस भनेर साथीहरुले कुट्थ्यो। मलाई पनि कति रहर लाग्थ्यो साथीहरूसँगै मिलेर बनमाराको मुन्टो टिपेर चुङ्गि खेल्ने,गट्टी खेल्ने लुकामारी खेल्ने तर साथीहरुले मलाई सँगै खेल्न दिएनन्। उनीहरूले म गरिबको छोरी भनेर सँग-सँगै खेल्न दिएनन् सम्भवत।
त्यसपछिका दिनहरुमा मलाई स्कुल जान मन लाग्नै छाड्यो। बाख्रा लिएर जंगलतिर जान्थेँ। वनपाखा भरी ऐँसेलु पाकेको हुन्थ्यो। भाई र बहिनीहरूसँगै ऐँसेलु टिपेर खान्थ्यौँ। जामुना पाक्दा रूखमा चढेर खाइन्थ्यो। काँचै आँप चोरेर खान्थ्यौँ। जङ्गलै थर्किने गरी सेलो भाकाहरु गाउँथ्यौँ। थोरै तल सुनकोसी नदी सलल बगिरहेको माथि सैलुङ र सुनापती डाँडा। कतै चराको गुँड भेटिन्छ कि भन्दै खोज्थ्यौँ। चराका बच्चाहरू भेटि हालेमा घर लगेर पाल्थ्यौँ। बचेराहरू बोकेर आएको देखेर बुबा र काकाले गाली गर्दै भन्नुहुन्थ्यो छोरी मान्छे भएर यस्तो उत्ताउलो हुने तर त्यही काम दाइ र भाइहरूले गर्दा केही पनि भन्नु हुन्थेन।
मेरो भाईलाई निको नै नभएपछि आमालाई अर्को बच्चा जन्माउन बुबाले दबाब दिन थाल्नुभयो। दिदी र म थोर-थोरै बुझ्ने भएको हुँदा आमालाई नजन्माउनु भन्थ्यौँ। आमाले हामीले भनेको कुरा मान्नुभयो। त्यही कारण घरमा झगडा हुन थाले। बुबा रक्सी खाएर हामीलाई हप्काउनुहुन्थ्यो। हामी डरले कुनामा लुक्थ्यौँ। भाई ६ वर्षको हुँदा अलिअलि हिँड्न सुरु गर्यो। पछि हिँड्न र बोल्न त सक्ने भयो तर बौद्धिक अपांगता भयो। सधै सानो बालकको जस्तै व्यवहार गरिरह्यो। स्कुल भर्ना गरे पनि उसले पढ्न सकेन। स्कुल जान मन लाग्न छाडे पछि म पनि भाइसँगै बस्न थालेँ। बुबाले अलच्छिन छोरा भन्दै मरे पनि मरोस् भन्दै मरे पनि मरोस् भने जसरी भाइलाई पिट्नुहुन्थ्यो। अपाङ्ग भए पछि जन्मदाता पनि पराई हुँदो रहेछ भन्ने त्यस बेला थाहा पाएँ।
दुःख कष्ट गरेर म कक्षा १० मा पुगेँ। SLC को तयारी गर्न थालेँ। मैले सपना सजाएँ। SLC पास भएपछि म आर्मी बन्छु। पैसा कमाउन्छु। आमाबुबालाई पठाउँछु। छोरी सक्षम हुँदैन भन्नेहरूलाई आर्मी बनेर देखाउने ठूलो धोको थियो। तर जिवनमा मैले देखेको सबै सपना कहाँ पूरा हुुँदोरहेछ। सपना कहिल्यै पूरा नहुने गरी टाढियो। २०६९ जेठमा रूखबाट खसेर मेरो खुट्टा भाँचियो। मेरो खुट्टाको अप्रेसन गर्दा आमाबुबाले ऋण गरेर खोजेको डेढ लाख सकियो। SLC दिनुपर्ने मान्छे पाँच महिना स्कुल पनि देख्न पाइनँ। दुईतिर बैसाखी च्यापेर बल्लतल्ल उठ्न थालेँ। अप्रेसन गरेको खुट्टा तीन महिनासम्म सिधाको सीधै भयो। खुट्टा त कुनै निर्जीव फलाम र काठजस्तो भयो। १ इन्च पनि नखुम्चिए पछि डाक्टर आफैँ छक्क परे।
डाक्टरले थेरापी गर्नुपर्छ भने। बनेपाको सिर मेमोरियल अस्पतालमा थेरापी गर्दा एकदमै दुख्यो। त्यहाँको थेरापी गर्ने एक जना डाक्टरले मेरो खुट्टा जबर्जस्ती खुम्च्याइदिए। त्यस बेला म पीडाले यति चिच्याएँ कि गेटमा बसिरहेको पालेदाई पनि म भएको ठाउँमा दौडिँदै आए। वरपरका मान्छेहरू सबै तर्सिए। त्यो दिनको पीडा म आजसम्म पनि भुल्न सक्दिनँ। कुनै डाक्टर यति मूर्ख पनि हुँदोरहेछ भन्ने मैले सोचेँ तीन महिनादेखि बिग्रिएको खुट्टाको नसा जबर्जस्ती खुम्च्याउन खोज्दा मेरो अरू ठाउँको नसा पनि गडबड भएछ।
त्यो दिनको घटनापछि मेरो जिन्दगीमा नसोचेको मोड थपियो त्यस दिनदेखि म थेरापी गर्न पनि गइनँ। घरमै तोरीको तेलले मालिस गरिरहेँ।अस्पताल जान मन लाग्थ्यो तर त्यो दुखाइले अस्पताल सम्झिने बित्तिकै आत्तिन्थेँ। मालिस गर्दागर्दा बल्लबल्ल टेक्न सक्ने भएँ। त्यसपछि जसोतसो एसएलसी दिएँ। अब मैले आर्मी बन्ने सपना त्यागे र ११ र १२ पढेर जापान जाने सपना देख्न थालेँ। बिरामी भएकाले परीक्षाको तयारी राम्रो भएन। गणित विषय बिग्रियो। त्यही वेला दिदीले पनि भागेर बिहे गरिन्। अब घरमा भाइ र म मात्रै। त्यसपछि नरमाइला दिनहरू बित्न थाले। अब मैले अरूले बोलाएको पनि छाडेँ। मेरो कान नसुन्ने हुँदै गयो। गाउँको मेडिकलमा गएर देखाएँ। फोहोर जमेको भन्दै पम्पमा पानी हालेर सफा गरिदिए। थोरै सुनेजस्तो पनि लाग्यो तर सुनिनँ। मेरो मन आत्तिन थाल्यो। अब के गर्ने ?
आमासँग पैसा थिएन। रक्सी खाँदै हिँड्ने बुबासँग पैसा हुने कुरै भएन। मेरो खुट्टाको अप्रेसन गर्दा लागेको ऋण आमाले कहिले गलैँचा बुनेर कहिले ढुंगा र इँटा बोकेर कहिले गिटी कुटेर तिरिरहनुभएको थियो। आमाले वेलामै मेरो कानको बेलैमा उपचार गर्न लैजान सक्नुभएन। एसएलसीको नतिजा आयो। म त फेल भएछु। तीनवटा विषय लागेछ। सहनै नसक्ने गरी पीडा भयो। नि म यति रोएछु कि रुँदारुँदै कति दिन रात बितेको पत्तै पाइनँ।
समयको खेल पनि खै कस्तो कस्तो कुन वेला के हुन्छ थाहा नहुने। त्यही वर्ष खुट्टा भाँचिनु त्यही वर्ष SLC मा फेल हुनु। त्यही वर्ष बहिरो हुनु। जिन्दगीले भएभरको दुःख मैमाथि थोपरिरहेको थियो। म एक्लै एकान्तमा खुब रुन थालेँ। खाना मनै नलाग्ने रात भरि निद्रा नलाग्ने कोहीसँग बोल्न मन नलाग्ने हुन थाल्यो। मुटु पटक्कै रोकिँदैनथ्यो। १६ वर्षको उमेरमै म बुढीजस्तो भइसकेकी थिएँ। अब आँखा कम देख्न थालेँ। राम्रोसँग नसुतेको आठ नौ महिनापछि काठमाडौंबाट फुपाजुले घरमा हस्पिटल लैजान्छु। काठमाडौं पठाउनू भन्नुभयो। पहिले खुट्टा भाच्दाको ऋण तिरि सकेकै थिएन। अब अर्को पैसा कहाँबाट ल्याउने आमाले। बुबा जहिल्यै रक्सी खाएर हिँड्नुहुन्थ्यो। बुबा समय समयमा चामल लिएर घर आउनुहुन्थ्यो। अनि ठेला फुटेको हात देखाउँदै भन्नुहुन्थ्यो। तिमीहरू अलच्छिनहरूलाई पालेर हेर मेरो हातभरी ठेला उठ्यो। अनि घरमा झगडा नभएको दिन हुन्नथ्यो। रक्सि नखानु भाको समयमा बुबा मिलनसार बुद्धिमान देख्छु । अनि मलाई खुब माया पनि गर्नुहुन्छ तर मातेको वेला उहाँलाई बुबा पनि भन्न मन लाग्दैन। यस्तो दुई ओटा भूमिकामा जीवन बाँच्नु साहेद बुबाको बाध्यता थियो।
त्यसपछि जेनतेन ऋणधन गरेर आमाले मलाई काठमाडौं पठाउनुभयो। फुपाजुले मलाई टिचिङ अस्पताल लिएर जानुभयो। जाँचपछि डाक्टरले कानमा पाक्ने खालको कुनै समस्या नदेखिएको बतायो रे। कमजोरीका कारण कानको नशा सुकेको हुन सक्ने बतायो रे। एक महिनाका लागि औषधि र भिटामिन दिएर पठायो। अब त औषधि खाएपछि सुन्छु होला भन्ने मनमा आशा पलायो। भिटामिन खाँदै गर्दा कतै सुनेजस्तोभयो तर सुनिनँ। फेरि अर्कोपल्ट अस्पताल गएँ। तव डाक्टरले भन्यो रे। यस्तो खालको समस्याको उपचार हुँदैन तर मेसिन लगाउन सकिन्छ। फुपाजुले बानेश्वरमा मेसिन पाउने ठाउँमा बुझ्नुभएछ । ५०/६० हजार पो लाग्छ रे । ब्याट्री पनि फेरिरहनु पर्छ रे। कति महँगो त्यसपछि मैले नलिने निर्णय गरेँ । अनि हामी त्यतिकै फर्कियौँ ।
मैले मन भरी पीडा थुपारेर रोइरहनुबाहेक अरू म के गर्न सक्थेँ र ? त्यति पैसा माग्न म को कहाँ जाऊँ ? कहाँ खोज्न जाऊँ ? आमालाई पीडामाथि पीडा कति थर्पनु ? त्यसपछि धेरैजनाको कुरा सुनेर धेरै ठाउँमा कानको उपचार गर्न गएँ। तर कहिँ कतै पनि सुधार भएन। ठूलो आशा बोकेर अस्पताल जान्थेँ उल्टै अस्पतालले निराश बनाएर पठाउँथ्यो लाग्यो। कस्तो-कस्तो रोग त ठिक हुन्छ। जाबो मेरो यति कान पनि ठिक हुँदैन रे। डाक्टरहरूले चासो नदिएर हो भन्ने लाग्यो। मनभरी पिडा बोकेर गाउँन गएँ। सबै जनाले मलाई ठुल्ठूलो स्वरमा कराउन थाले।
बिचरा भन्थे। यति कलिलै उमेरमा यो लाटी भई भन्थे। यसको जिन्दगी खेर गयो भन्थे। मनमा झनै पीडा गहिरिन्थ्यो। बिस्तारै मलाई बाटोमा हिँड्न पनि मन लाग्न छाड्यो । अनि गाउँमा बस्न मनै लागेन। मन नलागेर पनि के गर्नु ? म कहाँ जानु।
SLC दिएर पास पनि भएँ। त्यस्तो पीडाका समयमा पनि पास भएँ। मनमा अलिकति सान्त्वना मिल्यो। गाउँमै ११ कक्षामा पढ्ने तयारी भयो।तर मैले शिक्षकले बोलेको नै सुन्न सक्दिनथेँ।अनि कसरी पढ्ने ? पढ्ने मन हुँदाहुँदै पढ्ने मन छोडिदिए। जापान जाने सपना पनि त्यागी दिएँ।वर्षहरु वर्षहरु त्यतिकै बितिरह्यो। उमेर पनि बढ्दै गयो। समाजको दृष्टिमा म अब विहेका लागि योग्य भएँ। तर जिस्किए जस्तै गरी परिवार र गाउँका मान्छेहरू भन्थे। मान्छे त राम्री छे नि के गर्नु बहिरी छे। यस्तोलाई कसले बिहे गर्छ ? उनीहरूको कुराले मनलाई नराम्रोसँग दुखाउँथ्यो। मलाई बिकाउ वस्तु जस्तो बनाएर बोलेको सुन्दा खेरि एकदम रिस उठ्थ्यो। काका ठूलोबुबाका छोरीहरूसँग बस्न मलाई एकदम मन पर्थ्यो तर ती हिनीहरू भन्थे। यो माइली दिदीसँग त कुरा गर्न पनि झ्याउ लाग्छ । मैले कुनै प्रश्न गर्दा पनि उनीहरू दिक्क मान्थे। जुन बहिनीलाई सानो छदा मैले रहरले कति बोकेर हिँडे। उनीहरूको सिंगान पुछि दिएँ।उनीहरूको जुठो कति पनि घिनाइ खाएँ। आज ठुली भएपछि उही बहिनीहरू म देखि झिजार मान्न थाले।
म कहिलेकाहीँ टिभी हेर्न बस्थेँ। त्यो समयमा पनि कान नसुन्ने मान्छेले कसरी टिभी हेर्छ भन्दै उनीहरू हाँस्थे। त्यतिखेर मलाई साह्रै नरमाइलो लाग्थ्यो। टिभीको आवाज सुन्न सक्दिनँ आवाज नसुने पनि भिडियो मात्रै देख्दा पनि रमाइलो लाग्थ्यो मन भुलाउने ठाउँ पाउँथे। उनीहरू म देखेर हाँसेपछि मैले टिभी पनि हेर्न छाडेँ। त्यस पछिका दिनहरुमा मैले गाउँघरमा हुने बिहे भोज र रमझममा पनि जान छाडेँ। यतिसम्म कि मलाई दिसा पिसाब नलागेसम्म बाहिर निस्कन मनै नलाग्ने हुन थाल्यो। म प्रायजसो सुति रहन्थेँ। लाग्थ्यो म सुतिरहेको बेला कोही आएर मलाई जिस्क्याउने छैन। कसैले लाटी बहिरी भन्ने छैन। अरूको नजरमा निदाए पनि खासमा निधाइरहेको हुन्थेँ। दुनियाँको तीखो वचनबाट बच्न लुकिरहेकी हुन्थेँ।
म चुपचाप टोलाएको मात्रै देख्यो दुनियाँले। म एकान्तमा रोइरहेको मात्रै देख्यो समाजले तर आफ्नो हजारौ सपनाहरु कुल्चिएर हर क्षण आँसुमा बाँचिरहेको कसैले देखेन। त्यसपछि म अरूको नजरमा दिन प्रतिदिन रुन्चे हुँदै गएँ। आफ्ना नातागोताका लागि म त बोझ बन्दै थिएँ। अनि कहिले काँही लाग्थ्यो मन नदुख्ने आँशु नआउने औषधि बनाएन मान्छेले ?त्यस्तो औसधि खान पाए भने जिन्दगीभरि खाइरहन्थेँ।
म कान नसुन्ने शारीरिक अपाङ्ग भएँ। भाई वौद्धिक अपाङ्ग भयो। त्यसपछि बाबा मात्रै होइन आमाले पनि हाम्रो चिन्ताले जाँड रक्सी पिउन थाल्नु भयो। हामीलाई जड्याह आमाबाबुको सन्तान भन्न थाले। बुबाआमालाई बहिरो र लाटोको बुबाआमा भन्न थाले। आमाबुबालाई रक्सी नखानु भनेर कति सम्झाएँ तर उहाँहरूले मान्नुभएन। उल्टै आमाबुबाले भन्नुभयो। तँ अलच्छिनहरूले गर्दा यो सबै भएको हो। ऋण तैंले गर्दा भएको हो। आमाबुबालाई कमाएर दिन पनि सकिएन त्यसमा पछुतो लाग्यो। अनि यस्तो पनि बुझेँ कमाउन सके सारा संसार आफ्नो हुनेरहेछ। कमाउन नसके आफ्नै बुवाआमा पनि पराइ हुनेरहेछ।
मैले भोग्नुपर्ने पीडा कहाँ यति मात्रै रहेछ र ? समय बित्दै जाँदा आँखा पनि पो धमिलो देख्न थालेँ। म आत्तिएँ। भोलि बिहानउठ्दा आँखाले झन्उ ज्यालो दृश्य देख्छु होला भन्ने कल्पना गर्थें। तर ठिक उल्टो हुँदै भयो। त्यसपछि म काठमाडौं आएर आफन्त कहाँ बस्न थालेँ। तिलगंगा आँखा अस्पतालमा गएर देखाएँ। डाक्टरले अप्रेसन गर्नुपर्छ भन्यो। अप्रेसनका लागि ३०/४० हजार पैसा लाग्ने रहेछ। त्यति धेरै पैसा अब कहाँबाट ल्याउने ? त्यसपछि मैले सहारा देखेँ। सामाजिक सञ्जाल फेसबुकमा जोडिएका साथीहरूलाई अनुनय विनय गरेँ प्रायः खाडी मुलुकमा काम गर्ने साथीहरूले २/४ हजारको दरले पठाएर मलाई सहयोग गरे। मेरो आँखाको अप्रेसनभयो। आँखामा मोतिबिन्दु भएको रहेछ। अप्रेसनपछि आँखा देख्छु भन्ने विश्वास थियो। तर सोचेजस्तो सुधार नै भएन। कानको समस्या छँदै थियो। अब त्यसमाथि थपियो। आँखाको समस्या डाक्टरले खुट्टाको अप्रेसन गर्दा कस्तो औषधि खाएको थियो भनेर त्यसवेलाको कागज मागेको थियो। तर त्यो कागज हराइसकेको थियो।
अनि हाम्रो घर पनि भूकम्पले भत्कायो। बुबाले रक्सी खाको सुरमा गाउँतिर भन्नुभएछ ठूली छोरी बिहे गरेर गइहाली। यो दुई ओटा अलच्छिन छोराछोरीका लागि किन बनाउनु घर त्यो कुरा सुनेर साह्रै दुःख लाग्यो अपाङ्ग भयो भन्दैमा हामीलाई चाहिँ घर नचाहिने हो। सक्ने भए म आफैँ ज्यामी काम गरेर बनाउने थिएँ घर। तर बुबाको व्यवहारले बुझ्न बाध्य बनायो। यो घर मेरो पनि होइन रहेछ। सोचेँ एकदिन>म आफैँ एउटा सानो घर बनाउँछु। त्यस दिन समाजलाई भन्नेछु यो मेरो घर हो। तर यसै मरेछु भने मेरो कुनै ठेगाना हुनेछैन। म ठेगाना /विहीन र घरबारविहीन नै भएर मर्नेछु। मेरो आर्मी बन्ने र जापान जाने मेरो सपना आँसुसँगै बगेर सकियो। उमेरले २४ वर्ष लागिसकेँ। अझै पनि कलेज पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ। तर म जस्ताले कहाँ पढ्ने ? कसरी पढ्ने ? सायद यो पनि मेरोअधुरो सपना नै बन्नेछ। मेरो कयौ सपनाहरु र आकाशको नौलाख तारा उस्तै-उस्तै लाग्छ। दुवैलाई कहिल्यै छुन सकिदैन।
अहिले म ललितपुर इमाडोलमा ठुलोआमाको छोरीको कोठामा कोठामा बसिरहेकी छु यहाँ कति दिन बस्छु थाहा छैन। यस पछिका दिनहरुमा म कहाँ जान्छु त्योे पनि थाहा छैन। सहरमा एक्लै हिँड्न पनि सक्दिनँँ। आँखा दिन प्रतिदिन कमजोर हुँदै गएको छ। कान केही पनि सुनिँदैन । आँखाको नजिकै मोबाइल लैजाँदा मात्रै थोरथोरैअक्षरहरु देख्छु। त्यही थोर थोरै देखेको भरमा यो लेखेको वेदनाका कथा हुँ। यो पनि देख्न छाडेँ भने थाहा छैन मेरा दिनहरू कसरी वेतित हुनेछन्!
मेरो निम्ति संसार दिनहुँ अँध्यारो हुँदै गएजस्तो लाग्छ ! मेरो हालत यस्तो हुनुमा डाक्टरको दोष हो कि ? आमाबुबाको दोष हो ? छुट्याउन सकिरहेकी छैन तर अबका दिनहरुमा म रुँदिनँ। कत्ति रुनु। आखिर रोएर केही नहुने रहेछ भन्दै फोन मार्फत आफ्नो वेदनाहरु खोज मिडियासङ्ग बताइन।
तपाईहरुको सानो सहयोगले उहाँको कान सुन्न सकिन्छ, आँखाले राम्ररी देख्न सकिन्छ तसर्थ सहयोगको लागि यो इमेलमा इमेल गर्न सकिन्छ। सेवा धर्म हो। इमेल ठेगाना :-rajitatamang2021@gmail.com
प्रतिक्रिया दिनुहोस