को*रोनाविरुद्धको खोप नियमित रूपमा अघि बढाउने भएको छ, हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० खोप भित्रिए
488 Views
काठमाडौं, २९ असार, खोज मिडिया । सरकारले को*रोनाविरुद्धको खोप अभीयान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको सोमबार बसेको बैठकले जोन्सन खोप पाउने प्राथमिकता निर्धारण गरेको छ । आज मंगलबारदेखि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप पहिलो मात्रा लगाइने मन्त्रालयले जनाएको छ । भेरोसिल खोप लगाउने प्राथमिकतामा ५५ र त्यसमाथिका उमेर समूहका कोभिड–१९ विरुद्ध खोप लगाउन बाँकी नागरिक छन् । स्वास्थ्य सेवा विभाग महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार विश्वविद्यालयका प्राध्यापक र शिक्षकलाई भेरोसिल खोप लगाउने प्राथमिकतामा राखिएका छन् ।
त्यस्तै, सार्वजनिक यातायातका चालक र सहचालक, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीलाई पनि भेरोसिल खोप लगाउने सरकारको योजना छ । खोप अनिवार्य देशमा जाने नागरिक पनि भेरोसिल खोपको सूचीमा छन् ।
त्यस्तै, ‘जेन्सन एडी २६ सिओभी टुएस’ खोपको प्राथमिकतामा ५० देखि ५४ वर्ष उमेर समूह कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकलाई राखिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार पूर्ण र अति अशक्त अपांगता (‘क’ र ‘ख’ वर्ग) का नागरिक, शरणार्थीलाई जोन्सन एण्ड जोनसन खोपको प्राथमिकीकरण सूचीमा राखिएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस