मुख्यमन्त्री शेरधन राईको काठमाडौंको सम्पर्क कार्यालयको मासिक भाडा ३ लाख ५१ हजार ५ सय
304 Views
विराटनर, असार २७, खोज मिडिया । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको काठमाडौंको सम्पर्क कार्यालयको मासिक भाडा ३ लाख ५१ हजार ५ सय ।
काठमाडौंस्थित मुख्यमन्त्री सम्पर्क कार्यालय र विराटनगरस्थित प्रदेश सरकारका कार्यालयमा गरी मासिक उक्त रकम खर्च भइरहेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार मुख्यमन्त्रीको सम्पर्क कार्यालय, प्रदेश सरकारअन्तर्गतका कार्यालय र निवासको भाडामा मासिक ३८ लाख २८ हजार रुपैयाँ खर्च भइरहेको छ । प्रदेश सरकारले काठमाडौंस्थित महाराजगन्जमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरेर मासिक ३ लाख ५१ हजार ५ सय रुपैयाँ खर्च गरिरहेको छ ।
कार्यालय सहयोगी र हलुका सवारी चालक गरी दुई जना नियुक्त गरेको सम्पर्क कार्यालयका लागि वार्षिक ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको प्रदेश लेखा नियन्त्रणले जनाएको छ । सत्तारूढ दल एमालेका प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले प्रदेशमा बजेट अभाव रहेको बेला सरकारले मुख्यमन्त्रीको सम्पर्क कार्यालयलगायतको नाममा गरेको खर्च उपयुक्त नभएको भन्दै विरोध जनाएका छन् । उनले सम्पर्क कार्यालयलगायतको घरभाडाको नाममा प्रदेशको बजेट नखर्चिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीको सम्पर्क कार्यालयलगायतको घरभाडाको नाममा करोडौं रकम खर्च गर्न नपाइने बताए ।
संघीय सरकारले मुख्यमन्त्रीको निवासका लागि अपार्टमेन्टको व्यवस्था गरेको अवस्थामा पनि सम्पर्क कार्यालयको अनावश्यक खर्च बढाउनुको औचित्य नभएको उनको भनाइ छ । मुख्यमन्त्री शेरधन राईले भने प्रदेश सरकारको इज्जत, प्रतिष्ठाका साथै संस्थागत मर्यादाका लागि काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको प्रस्टीकरण दिएका छन् । १८ महिनाअघि काठमाडौंमा स्थापना गरिएको सम्पर्क कार्यालय निषेधाज्ञाका कारण पूर्ण सञ्चालनमा नआए पनि संघीय राजधानीमा गरिने सबै कामकाज त्यही कार्यालयबाट गरिँदै आएको मुख्यमन्त्री राईको भनाइ छ ।
मुख्यमन्त्रीको निवासका लागि सम्पर्क कार्यालय नखोलिएको उनले दाबी गरे । मुख्यमन्त्रीको निवासका लागि सरकारले सातदोबाटोस्थित डाउनटाउन अपार्टमेन्टमा प्रबन्ध गरेको छ । गत आवमा प्रदेश सरकारले घर तथा गोदाम भाडाबापत ४ करोड ४१ लाख ३४ हजार ८० रुपैयाँ खर्च गरेको थियो ।
प्रतिक्रिया दिनुहोस