निरन्तर वर्षाका कारण पहाडमा पहिरो, तराईमा बाढी र डुबानको चपेटा
620 Views
काठमाडौं, २० असार, खोज मिडिया । निरन्तर वर्षाका कारण पहाडमा पहिरो बढेको छ भने तराई क्षेत्र बाढी र डुबानको चपेटामा परेको छ । पहिरोमा परेर धादिङ र गोरखामा पाँच जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना८ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका–६ का अन्दाजी १८ वर्षीय वीरबल चेपाङ र चितवनबाट काठमाडौं जाँदै गरेको ना७ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको गजुरीस्थित इलाका प्रहरीका नायब उपरीक्षक युवराज खड्काले बताए ।
पहिरोले पुरिँदा ना८ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका–६ का ४० वर्षीय हरिबहादुर चेपाङ, चितवन भण्डाराका ३६ वर्षीय सुदीप चेपाङ घाइते भएका छन् । घाइतेको चितवनमा उपचार भइरहेको छ ।
ना७ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभमकुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजकुमार घाइते भएका छन् ।
उनीहरूको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, धादिङमा पृथ्वी राजमार्गस्थित महेश खोलाले थाक्रे–२ सिम्ले र वडा–११ जोड्ने निर्माणाधीन पक्की पुल भाँचेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस