कोरोना खोप लगाएका कामदारलाई मात्र प्रवेश अनुमति भएपछी, रोकियो वैदेशिक रोजगार, कैयौं अलपत्र
692 Views
काठमाडौं, १९ असार, खोज मिडिया । उनी घर आए । कतार फर्केर जान भिसा अवधि सकिएको थियो । कपिलवस्तु नगरपालिका–१ मस्जिद टोलका ३४ वर्षीय रकिबबुद्दिन गौरी अहिले तनावमा छन् । दोहाको विज्ञापन कम्पनी तलविन ग्रुपमा कार्यरत उनी निर्धारित समयमा त्यहाँ जान नपाउँदा छट्पटिँदै बसेका छन् । उनी डिजाइनर हुन् । कम्पनीलाई अनुरोध गरेर बल्लतल्ल भिसा मगाए ।
यसैबीच को*रोना भा*इरस सं*क्रमणको दोस्रो लहर सुरु भयो । त्यसपछि खोप लगाएका कामदारलाई मात्र कतार प्रवेश अनुमतिको नियम लागू भयो । खोप लगाउन नपाएकाले कतार जान रोकिँदा उनी पिरोलिएका हुन् ।
स्वास्थ्य कार्यालयसम्म पुगेर हारगुहार नगरेका होइनन् । तर सीमित खोप, त्यसमा पनि फ्रन्टलाइनर र वृद्धवृद्धामात्रै सरकारको प्राथमिकतामा रहँदा उनले लगाउन पाएनन् । कपिलवस्तु–१ बहादुरगन्ज चोकका ३२ वर्षीय नूर मोहम्मद पनि कतारको भिसा हुँदाहुँदै उड्न नपाउने स्थितिमा छन् । दोहामा भ्यानचालक काम गर्न भिसा पाएका उनी खोप लगाउन नपाएकै कारण जानबाट वञ्चित भएका छन् । ‘बडो संघर्ष गरेर भिसा आयो,’ उनले भने, ‘खोप नलगाएकालाई कतार आउन नदिने भनेपछि वर्ष दिन संघर्ष गरेर पाएको भिसा पनि काम नलाग्ने भएको छ ।’
उनीहरूजस्तै जिल्लाका ३० जनाभन्दा बढी कामदार अहिले खोपकै कारण खाडी मुलुक जानबाट वञ्चित भएका छन् । खाडीका मुलुकले खोप लगाएका कामदार मात्रै लैजाने आदेश जारी गरेपछि नेपाली श्रमिकलाई मर्का परेको हो । सरकारले एक त खोप नै भित्र्याउन सकेको छैन, त्यसमाथि छिटपुट आएका मात्रामा पनि वैदेशिक रोजगारीमा जानेलाई खोप लगाउन पाउने प्राथमिकतामा राखेको छैन । स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी, सञ्चारकर्मी, ज्येष्ठ नागरिकलगायतलाई मात्र खोप दिएको छ । ‘भिसाको म्याद सकिन महिना दिन बाँकी छ,’ गौरीले भने, ‘अब जान नपाउने पक्कापक्कीजस्तै छ ।’ कम्पनीले पठाएको भिसाको म्यादमा जान नपाए पुनः बोलावट नआउने उनलाई चिन्ता छ ।
‘खोप कहिले लगाउन पाइन्छ भन्दै रेडियो सुनेर बस्छु,’ नूर मोहम्मदले भने । खोप ल्याएर सहज बनाउनेतर्फ सरकारको तयारीका खबरले ढुक्क नलाग्दा निद्रा आउन पनि छोडिसकेको उनले सुनाए । डेढ वर्षअघि नेपाल फर्केका उनी अहिले कमाइ नभएपछि फेरि रोजगारीका लागि कतार जान लागेका हुन् ।
दुबईमा होटल म्यानेजमेन्ट पढेकी यहाँकी किरण निरौला पनि काम गर्न अवसर पाएर उतै जान हतारिएकी छन् । ‘हातमा भिसा आइसकेको छ,’ उनले भनिन्, ‘खोप लगाउन नपाउँदा जान पाउने कि नपाउने अनिश्चित छ ।’ संयुक्त अरब इमिरेट्स (यूएई), कतार र साउदी अरबले खोप नलगाएका कामदारलाई प्रवेश निषेध गरेको छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।
प्रतिक्रिया दिनुहोस