क्रसर उधोग संचालनले गाउ नै जोखिममा
502 Views
काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडां. १ मा सञ्चालित ह्रृन्जेन दोर्जे क्रसर उद्योगको कारण बस्ती र सडक जोखिममा परेको छ । प्राविधिक मापदण्ड बिपरित संचालन गरिएको क्रसर उधोगको कारण बस्ति जोखिममा परेको हो ।
क्रसराले जथाभाबी ढुङ्गा, माटो निकालेको कारण पाचाखाल हुदै बोहोरे दोभान, ठुलो पर्सेल, चुखा हुदै तित्तिरटार सम्म चल्ने सडक समेत अवरुद्ध हुने गरेको छ भने सडक मार्गमा सुख्खा पहिरो समेत जान थालेको छ । बर्खाको समयमा थप पहिरो जानसक्ने खतरा पनि उतिकै बढेको स्थानीयको गुनासो रहेको छ ।
क्रसरको कारण गाउ नै जोखिममा परेको भन्दै तेमाल गाउपालिका १ नम्बर वडाका स्थानीयले ह्रृन्जेन दोर्जे क्रसर उद्योगक बिरुद्ध संग्राम तामाङको अध्यक्षतामा १८५ सदस्यीय संघर्ष समिती समेत गठन गरेको छ । उक्त गाउँपालिका जोखिममा परेपनि पालिकाका अध्यक्ष सलाम सिं तामाङ र स्थानीय नेता तथा कार्यकर्ताले खासै चासो नदेखाएको पनि स्थानीयको गुनासो रहेको छ ।
स्थानीय नेता तथा नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य युवा नेता इन्द्र तामाङले उद्योग संचालन गर्न पाइने तर गाउँलाई नै जोखिम पारेर संचालन गर्न नहुने बताउछन । क्रसरको कारण सामुदायिक वन समेत मासिँदै गएकोमा उनको चिन्ता छ । वडालाई बिभिन्न सहयोग गरेको अफवाह फैलाईएपनि गाउँलेले त्यसबाट केही सुविधा नपाएको उनको भनाई छ ।
समुदायिक वन मासेर क्रसरको लागि ढुङ्गा निकाल्दा पहिरो गइरहेको छ । पहिरोको कारण दीर्घकालीन रुपमा माथिल्लो गाउँ जोखिममा त छँदैछ, उता चुखाबेशी, पर्सेल जाने सडकखण्डमा आवतजावत गर्न समेत निक्कै जोखिम पुगेको छ ।
ढुङ्गा,गिट्टी,वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड (२०७७) अनुसार ढुङ्गा, गिट्टी र माटोजन्य पदार्थ उत्खनन गर्दा बस्ती र भौतिक संरचनामा जोखिम उत्पन्न हुनसक्ने भएकोले जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस समेत लिनुपर्ने हुन्छ तर उक्त क्रसर उद्योगले कसको अनुमतिमा उत्खनन गरिरहेको छ त्यसबारे कसैलाई जानकारी नभएको स्थानीयहरु बताउछन ।
मापदण्ड अनुसार घनाबस्ती र वन क्षेत्रको दुई किलो मिटर, राजमार्गको पाँचसय मिटर, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथि खानी राख्न नपाउने र कुनैपनि पदार्थ उत्खनन र संकलन गर्न नपाउने व्यवस्था छ तर उक्त क्रसर उद्योगले पानीको मुहान नै विस्थापित हुने गरि क्रसर संचालन गरेको प्रति स्थानीयको असन्तुष्टि रहेको छ । व्यक्तिको निजि जंगल भनेर सार्वजनिक जंगल मासेर ढुङ्गा उत्खनन गरि प्राकृतिको स्वरुप नै बिगारेको उनीहरुको आरोप छ ।
ह्रेन्जेन दोर्जे क्रसर उद्योग र खानीको दर्ताको क्षेत्र एकतिर तर उत्खनन अर्को तिर गरिरहेका छन् । केही स्थानीयको मिलेमतोमा सार्वजनिक जंगल फँडानी गरेर बस्ती र सडकखण्ड नै जोखिम बनाउँदा समेत स्थानीय सरकार मौन देखिन्छ । सोही जोखिम सडक मार्ग हुँदै त्यहाँका स्थानीय सरकारका जनप्रतिनिधि, सांसद,मन्त्रीहरु आवतजावत गरिरहेका हुन्छन् । तर उक्त क्रसर उद्योगको विषयमा कुरा उठाउन कसैले हिम्मत गर्दैनन्, एक स्थानीयले बताए ।
केही महिना अघि काभ्रे जिल्लाको क्रसर उद्योगहरुको अनुगमनको क्रममा प्रदेश सांसदहरुको अनुगमन टोली उक्त क्रसर उद्योगमा पनि पुगेका थिए तर, क्रसरको सञ्चालक तामाङले प्रशासन संग सेटिङ गरेर गुन्डागर्दी गरेको भन्दै उनीहरुको गाडी समेत बिच बाटोमा प्रहरी लगाएर खनतलासी गर्न लगाएको थियो ।
क्रसरको कारण किसानहरुको उत्पादनमा कमि,
क्रसर उद्योगबाट निस्केको डस्टलाई सहि ढंगले व्यवस्थापन नगरि सिधै खोलामा मिसाउँदा उक्त खोलाको पानीमा निर्भर किसानहरुले उत्पादन गरेको बालीनालीमा ह्रास आउन थालेको त्यहाँका किसानहरु बताउँछन् ।
केही वर्ष अगाडि सम्म खेतमा राम्रो उत्पादन हुन्थ्यो तर पहिलाको तुलनामा डस्ट मिसेको पानीको कारण शेराबेसी,अमलटार, भोकटार, खहारेघाट लगायतका किसानहरुको उत्पादनमा समस्या आउन थालेको छ । पहिला बजारमा पाउने विभिन्न किटनाशक औषधीहरु प्रयोग नगर्दा पनि बाली राम्रो उत्पादन हुन्थ्यो तर अहिले औषधीको प्रयोग गर्दा पनि उत्पादन सोचे जस्तो नभएको किसानहरुको गुनासो छ ।
यो विषयमा स्थानीय सरकार र सरोकारवालाहरुको ध्यानाकर्षन गराउँदा समेत किसानहरुले न्याय पाएका छैनन् । केही महिना अगाडि सबै किसानहरु एक भएर निवेदन हाल्ने कुरा समेत भएको थियो तर केही स्थानीय युवाहरूलाई पुलिसमा फसाइदिने धम्की दिएपछि डराएर नहालेको एक स्थानीयले नाम नबताउने सर्तमा बताए ।
स्थानीयले उक्त खोलाको पानी खानेपानीको रुपमा समेत प्रयोग गरिरहेका छन् । उक्त दुषित पानीको प्रयोगले किसानको बालीनालीमा त समस्या उत्पन्न हुन्छ नै स्वास्थ्य समेत समस्या आउन सक्ने विज्ञहरु बताउँछन् ।
क्रसरको कारण तामाघाट, बोहोरेदोमन सडकको हरिविजोग,
क्रसर उद्योगको मालसामान ओसारपसार गर्न दैनिक दर्जनौं ट्रिफरहरु गुड्दा तामाघाट, बोहोरेदोमनको सडकको बिजोग भएको छ । उक्त सडक बिग्रिँदा तेमाल गाउँपालिकाका वडा १,२,३,४,६ वडामा जान आउनका लागि समस्या उत्पन्न भएको वर्षौं भइसकेको छ तर स्थानीय सरकारको कुनै ध्यान जान सकेको छैन ।
ट्रिपर गुडेर ठुलठुला खाल्डोहरु हुने, धुलैधुलो हुनाले उक्त सडकबाट प्रायः मान्छे हिडडुल गर्न समेत समस्या भएको छ । उक्त बाटो हिँड्न नसकेर स्थानीयहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । उक्त सडकखण्ड क्रसर उद्योगको लागि बनाएको जस्तो भएको स्थानीयको गुनासो रहेको छ ।
उक्त क्षेत्रमा रातभरि ट्रिपर गुड्दा ध्वनि प्रदुषणले स्थानीयहरु राम्रोसँग सुत्न नसकेको बताउछन । करोडौंको उद्योग स्थापना गरेपछि बेलाबेलामा उक्त सडक मर्मतसम्भार गर्ने, खाल्डोहरु पुरिदिने, धुलो हटाउने, ट्यांकरले पानी हाल्ने र विभिन्न विकल्पहरु प्रयोग गर्न सकिन्छ तर त्यसो नगरेर उल्टै स्थानीयलाई सास्थी हुदा समेत कसैले चासो नदेखाएको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस