मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले एक महिनाभित्रै विश्वासकाे मत लिनु पर्ने, गण्डकी प्रदेश सभाकाे अधिवेशन १६ गतेबाट सुरु
919 Views
पोखरा ११ जेठ, खोज मिडिया । गण्डकी प्रदेश सभाकाे बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुदैछ । प्रदेश सरकारकाे मन्त्रिपरिषद्ले सिफारिस गरे अनुसार प्रदेश प्रमुख सीता पौडेलले बजेट अधिवेशन आव्हान गरेकी छन् ।
गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले नेपालकाे संविधानकाे धारा १८३ काे उपधारा १ बमाेजिमकाे अधिवेशन आव्हान गर्न प्रदेश प्रमूख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियो। सरकारले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्थाका कारण जेठ १६ गतेदेखि अधिवेशन सुरु गर्ने निर्णय गरिएकाे हाे ।
बजेट ल्याउनभन्दा १५ दिन अघि सदनमा बजेटका प्राथमिकता र सिद्धान्त ल्याउने पर्ने संबैधानिक ब्यबस्था बमोजिम जेठ १७ गतेकाे संसद बैठकमा बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरिने प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री किरण गुरुङले जानकारी दिए।
बैशाख २९ गते मुख्यमन्त्रीको सपथ लिएका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले एक महिनाभित्रै विश्वासकाे मत लिनु पर्ने अनिवार्य आबश्यकता छ। संसद बैठकमा बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेपछि मात्र चालु अधिवेशनमा मुख्यमन्त्रीकाे विश्वासकाे मत लिने बताइएको छ।
असार १ गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यता भए जस्तै बजेट ल्याउन अघि सरकारकाे नीति तथा कार्यक्रम पनि प्रदेश सभाले पारित गर्नु पर्छ । नीति तथा कार्यक्रम पारित नभएमा सरकार अल्पमतमा पर्नेछ । मुख्यमन्त्री गुरुङले प्रमुख प्रतिपक्ष दलसहितका प्रदेश सभामा उपस्थित दलहरुसँग छलफल गरेर अघि बढ्ने याेजना बनाएकाे पनि मंत्री गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस