विपक्षी दलहरु नै अन्योलमा सरकार गठन गर्न
377 Views
काठमाडौं ३० बैशाख,खोज मिडिया । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेसँगै विपक्षी दलहरुको प्राथमिकता सामान्यतया नयाँ सरकार बनाउनेतर्फ हुनुपर्ने हो । तर, विपक्षी दलहरु आफै नयाँ सरकार गठनका विषयमा अन्योलमा देखिएका छन् ।
विरोध गर्दा एक ठाउँमा देखिएका दलहरुभित्रै विकल्पको खोजीमा भने किन अन्योल देखिन्छ ? प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै अहिले नयाँ सरकारको सम्भावनाका लागि कसरत जारी छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसले संसदीय दलका नेता शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै सहमतिका लागि अन्य विपक्षी दल र सत्तारुढ दल एमालेभित्रैको असन्तुष्ट समुहसँग संवाद जारी राखेको छ । तर, विश्वासको मतमा विपक्षमा उभिन र सो प्रक्रियामा सहभागी नभएका दलहरु नयाँ सरकारका विषयमा भने अन्योलमा देखिन्छन् । विश्वासको मतमा पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षमा उभिँदा त्यसको विपक्षमा उभिएका जसपा नेता बाबुराम भट्टराई अहिले कांग्रेसले ओलीको विकल्पमा नयाँ सरकार बनाउने कोर्ष अघि बढिरहँदा त्यसबाट अलग देखिनुभएको छ ।
उहाँले बहुमतको नभइ सबै दलको सहभागितामा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा अघि सार्नुभएको छ । त्यस्तै, एमालेकै असन्तुष्ट समुहभित्र पनि ओलीलाई बाध्य बनाएर सच्याउने कि नयाँ सत्ता समीकरणमा लाग्ने भन्नेमा अन्योल रहेको बताइन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनबारे जानकार मुमाराम खनाल अहिले धारा ७६ (२)मा केन्द्रित नभई गरिने अन्य तर्कहरु आधारहिन हुने बताउनुहुन्छ । नेपालका राजनीतिक दलहरुमा आन्दोलन वा विरोध गर्दा एउटै कित्तामा उभिएपनि त्यसपछि विकल्पको खोजीमा भने ढुलमुलेपन देखापर्ने पुरानै प्रवृत्ति भएको राजनीतिका जानकारहरु बताउँछन् । कुनै मुद्दा, पात्र वा प्रवृत्ति मन नपर्दा विरोधमा एकमत भएपनि विकल्प खोज्दा भने आफुलाई केन्द्रमा राख्ने र आफ्नो लाभहानी हेर्ने गर्दा यस्तो अन्योल आउने विश्लेषकहरु बताउँछन् ।
पछिल्लो समय वृहत नागरिक आन्दोलनका एक अभियन्ता समेत रहनुभएका प्राध्यापक सञ्जीव उप्रेती राजनीतिमा निष्ठा भन्दा व्यक्तिगत महत्वकांक्षा हाबी हुँदा यस्तो अवस्था आउने बताउनुहुन्छ । भनिन्छ, राजनीतिमा लाग्नेहरु निष्ठावान हुनुपर्छ । तर, पछिल्लो समय नेपालको राजनीतिमा निष्ठा र आदर्शसहितको राजनीतिक दल र नेतृत्व भेट्टाउन मुस्किल रहेको भन्दै आलोचना हुँदै आएको छ । राजनीतिक दल र तिनको नेतृत्वको अकर्मण्यताले देशलाई फेरि अस्थिरताको गोलचक्करमा फसाउनसक्ने सम्भावना नकार्न नमिल्ने जानकारहरुको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस