तुलसी क्षेत्रीको नयाँ वर्षको कोशेली “रोधींघर”
1071 Views
खोज मिडिया
पोखरा ३ वैशाख खोज मिडिया। तुलसी क्षेत्रीको नयाँ वर्षको कोशेली “रोधी घर” नयाँ वर्षको शुभकामना स्वरुप लोकप्रिय गायिका एवम नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “रोधी घर आइरहने बनायो” जि.सी. इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सर्वत्र बजारमा आएको छ। सबै खाले गीतमा उत्तिकै न्याय गरेर गाउने सुमधुर स्वरकी धनी तुलसी क्षेत्रीलाई सह गायनमा लोकप्रिय गायक प्रदीप त्रिपाठीले साथ दिएका छन् । गीतको रचना तुलसी क्षेत्री र संगीत प्रदीप त्रिपाठीको रहेको छ ।
यस गीतको दृश्याङ्कन ससुराली रोधी घर, न्यूरोड, पोखरामा गरिएको हो । गीतको मुख्य कलाकारको भूमिकामा गायक प्रदीप त्रिपाठी र तुलसी क्षेत्री स्वयम् रहेका छन् । अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ। साथीभाइहरुको संगतले रोधी घर पुगेका प्रदीपलाई रोधी घरकी गायिका तुलसीको सुन्दरताले तान्छ अनि उनी सधैँ रोधी घर पुग्छन् । यसै कथावस्तुलसई आधार बनाएर बनाइएको यस गीतमा रोधी घर अर्थात दोहोरी साँझ गाउने गायिका र त्यहाँ जाने पाहुना बीचको भएको निकै रोचक दोहोरी जुगलबन्दी सुन्न पाइन्छ ।
गीत र गीतको म्युजिक भिडियो निकै दमदार बनेको छ । यसरी गीतको जुन मर्म छ त्यो मर्मलाई उत्तिकै न्याय गर्ने गरि भिडियो बनाई दिएकोमा खुशी व्यक्त गर्दै गायिका तुलसी क्षेत्रीले भिडियो युनिटलाई धन्यवाद व्यक्त गरेकी छिन्। यस भिडियोको भिडियो निर्देशक होम गुरुङ र छायांकन गणेश सापकोटा र इडिटिङ सुवास अमागाईले गरेका हुन्। लामो समयदेखि लोक गायन र अभिनय मार्फत छुट्टै पहिचान बनाएकी तुलसी क्षेत्री गीत संगीत र सिने जगतको गर्विलो नाम हो । समय सन्दर्भ अनुसारका गीत संगीत पस्किरहने सरल र मिजासिलो स्वभावकी तुलसीको मायाप्रेम, विछोड, वियोगसङ्गै तीज, दशैं, तिहार विशेष थुप्रै गीतहरु पनि बजारमा आएका छन् । यो गीतले उनलाई थप उचाइमा पुर्याउनेमा उनी विश्वस्त रहेकी छिन् ।
बाला जोवन, ब्लाक एन्ड ह्वाइट, चामल चौलानी, झिलीमिली तिहार, नामर्द पोइ, सानु मायालाई, माइतैमा दिल बस्यो वरिलै, दुःख पाइदो रैछ आदि उनीद्वारा स्वरवद्ध लोकप्रिय गीतहरू हुन । गायन सङ्ग-सङ्गै अभिनय कलामा पनि उत्तिकै पारङ्गत तुलसीले अग्निदहन, क्या बात चलचित्र र अन्य थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने उनीद्वारा अभिनित चलचित्र “वडा अध्यक्ष” रिलिज हुने क्रममा रहेको छ ।
प्रतिक्रिया दिनुहोस