२८ जना प्रतियोगीहरु बीच प्रतिस्पर्धा गर्दै सप्तरंगी प्रतिभाको खोजीले सेमिफाइनल अडिसन सम्पन्न
581 Views
चैत १ पोखरा, खोज मिडिया । गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसंगको सहकार्यमा सप्तरंगी साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित “सप्तरंगी प्रतिभाको खोजी-२०७७” एकल खुल्ला गायन प्रतियोगिताको दोस्रो चरण अर्थात सेमिफाइनल अडिसन शनिबार पोखरामा सुसम्पन्न भयो ।
संस्थाका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक नवराज वरालको सभापतित्व र कार्यबाहक सचिव एवम् कार्यक्रमका सह संयोजक सुमन श्रापितको संचालनमा भएको औपचारिक कार्यक्रममा गण्डकी प्रदेश, सामाजिक मन्त्रालयका सचिव बिनोद बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि कुवँरले गण्डकी प्रदेश कला, साहित्य, संगीत र सँस्कृतिको उद्गमस्थल रहेको चर्चा गर्दै आगामी बर्षहरुमा अझै फराकिलो ढङ्गले यस्तै गतिबिधि गर्नको निम्ति अाफ्नो मन्त्रालयबाट सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । त्यसै गरि बिशेष अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पोखरा प्रज्ञा प्रतिष्ठान जस्तै छिट्टै नै गण्डकी प्रज्ञा प्रतिष्ठान पनि गठन हुने कुरा औलाउदै भाषासाहित्य गीत-संगीत र संस्कृतिको संरक्षण तथा सम्बर्धनका निम्ति काम गर्ने बल्ल वातावरण सृजना भएको बताउनु भयो ।
संस्थाका सल्लाहकार अभिमन्युबिक्रम राणा, महासचिव मनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य सहकोषाध्यक्ष सानु जोजिजूले ब्यक्त गर्नु भएको थियो । जन्मले वा कर्मले गण्डकी प्रदेश अन्तर्गतका बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जा, नवलपुर, लमजुङ, तनहुँ, गोर्खा, मनाङ, मुस्ताङ र कास्कीका प्रतियोगीहरु बीच पहिलो चरणको अडिसनबाट दोस्रो चरणको सेमिफाइनलका लागि २८ जना प्रतियोगीहरु छनोट भएका थिए । तिनै छनोट भएका प्रतियोगीहरु बीचको कडा प्रतिस्पर्धाबाट अन्तिम चरणको फाइनराउण्डका लागि १२ जना छनौट गरिएको छ । जसमा जीवन बिश्वकर्मा बाग्लुङ, राम घर्तिमिरे म्याग्दी, बिजेश नेपाली कास्की, अमन सुबेदी बाग्लुङ, योगेश गौतम स्याङ्जा, शान्त सुनार बाग्लुङ कुसुम पुन मगर बाग्लुङ, अरुण सुनार पर्वत, सरिता राई कास्की, उपेश थापा कास्की, निर्मल बि.क बाग्लुङ, संगीता गायक कास्की छनोट हुनु भएको निर्णायक लक्ष्मी गिरी जानकारी गराउनु भयो ।
अडिसनको निर्णायकमा संगीतकार नवराज बराल, गीतकार सुमन श्रापित र गायिका लक्ष्मी गिरी रहनुभएको थियो । त्यसै गरि प्रतियोगीहरुले एक लाइभ म्युजिक र अर्को म्युजिक ट्रयाकमा आफ्नो प्रस्तुती राखेका थिए । लाइभ म्युजिकका लागि वाध्यवादनमा दिवस थापा मगर, मिलन गिरी, सुर्य घतानी र सुनिल बराल रहनुभएको थियो । बीच बीचमा उपस्थित दर्शक एवम् प्रतियोगीहरुलाई अथिति कलाकारको भूमिका निर्वाह गर्दै प्राज्ञ पद्मराज ढकाल, प्रदीप तिवारी र करुणा घमालले थप मनोरञ्जन प्रदान गर्नुभएको थियो । यस सेमीफाइनल अडिसनमा मिडिया पार्टनरको रुपमा खोज मिडियाको उल्लेखनीय भूमिका रहेको थियो । अबको फाइनल राउण्डमा प्रतियोगीहरुले एक लाइभ म्युजिक र अर्को म्युजिक ट्रयाकमा गरी दुई वटा गीतहरू गाउनु पर्ने कुरा संस्थाका महासचिव मनकुमार श्रेष्ठले जनाउनुभयो । अागामी चैत ७ गते पोखरा उधोग वाणिज्य संघको हलमा सप्तरंगी प्रतिभाको खोजी-२०७७, एकल खुल्ला गायन प्रतियोगिता र सामुहिक लोक नृत्य प्रतियोगिताको दुवैको एकै मन्चमा फाइनल राउण्ड हुने छ ।
प्रतिक्रिया दिनुहोस