बज्रबाराही धार्मिक वन अतिक्रमण रोक्न संर्घष समिति गठन
478 Views
कास्की, २२ मंसिर खोज मिडिया ।
बज्रबाराही धार्मिक वन अतिक्रमण गरेर सडक विस्तार गरेपछि लतिपुरको चापागाँउका स्थानीयवासीले संर्घष समिति बनाएर आन्दोलन सुरू गर्ने भएका छन् ।
बुधबार चापागाँउका स्थानीयवासीले वन संरक्षणका अभियन्ता राजेन्द्र देशारको संयोजकत्वमा श्रीमाई बज्रबाराही धार्मिक वन संरक्षण संर्घष समिति गठन गरेका हुन् । बैठकले २५ जनालाई सदस्य रहने गरी समिति बनाएको हो ।
समिति संयोजक देशारले कानुनविपरीत बज्रबाराही वनमा डोजर प्रयोग गरेर सडक विस्तार गरेपछि आफूहरूको विरोधलाई विकाश विरोधीको आरोप लगाएर आन्दोलन दबाउन खोजेको बताउनु भयाे । “हामीले १००भन्दा धेरै स्थानीयवासीको विरोधको हस्ताक्षर गोदावरी नगरपालिकामा बुझायौं, तर दर्ता नै भएन, उहाँले भन्नुभयाे ।”
गोदावरी नगरपालिकाको नवनिर्मित भवन अगाडि करिब आठ फिट चौडाइको सडक वन क्षेत्र अतिक्रमण गरेर विस्तार गरेपछि स्थानीयवासी वि*रो*धमा उत्रेका हुन् । ५०० मिटर दूरीको सडक विस्तारका लागि नगरपालिकाले करिव ८५ लाख रुपैयाँ लगानीमा उपभोक्ता समितिमार्फत काम गरिरहेको छ ।
धर्मिक वनमा अनाधिकृत रुपमा संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था भए पनि नगरपालिकाले जिल्ला वन कार्यालयको मौखिक सहमतिमा सडक विस्तार गरेको बताउँदै आएको छ ।
स्थानीय किशोर देशारले बज्रबाराही वनमा सडक विस्तार मात्र नभई पुरातात्विकविपरीत धेरै संरचना निर्माण गरिएको बताउनु भयाे। उहाँले भन्नुभयाे, “बज्रबाराही वनको संरक्षणको जिम्मा लिएको ज्योतिदय संघले निर्माण गरेको संरचनाहू नै पुरातत्विक दृष्टिकोणविपरीत छ ।”
बज्रबाराही वन सव डिभिजन कार्यालयकी सहायक वन अधिकृत प्रेमा थापाले आफूले पत्र लेखेर सडक विस्तारको काम रोक्न लगाए पनि पर्खाल लगाउन भने नरोकिएको बताउनु भयाे । “सडक मापदण्डभित्रको वनमा सडक बनाउन डकुमेन्ट त चाहिने हो।” “मौखिक कुराकानीका आधारमा काम गरेको रहेछ ।” उहाँले भन्नुभयाे ।
धार्मिक वनमा नयाँ संरचना बनाउन नहुने भन्दै नगरपालिकाले लाखौं लगानीमा एक व्यवसायीले जिपलाइन निर्माण गरेर सुरु गरेपछि हटाएको थियो । तर पछिल्लो समय नगरपालिकाकै लगानीमा स्थानीयले यही धार्मिक वनमा व्यायामशाला निर्माण गरेर सञ्चालन गरिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस