आफनै हाडनाताबाट बलत्कृत
513 Views
काठमाडौं, २० कात्तिक खोज मिडिया ।
नेपालमा पछिल्लो समय हाडनाताभित्र जबरजस्ती करणीका घटना बढ्दै गएको छ । हाडनाता करणीमा कलिला किशोरी समेत सुरक्षित छैनन् । कतिपयले त परिवारको इज्जत जाने डरले पनि यस्ता अपराधलाई दबाएर बस्ने गरेका छन् ।
पर्वतमा करिब ६ महिना अघि आफ्नै छोरीलाई बाध्य बनाएर बलात्कार गरेको अभियोगमा बुबा पक्राउ परे । ६० वर्षीय दामन सार्कीले एक वर्षदेखि किशोरी छोरीलाई जबरजस्ती करणी गर्दै आएका थिए । श्रीमान्को हर्कत थाहा पाएकी उनकी आमाले समेत समाजमा इज्जत जाने डरले जरजस्ती करणीबारे लुकाउन दबाब दिँदै आएकी थिइन् । तर, बाबुको दानवीय शैली पटकपटक दोहोरिन थालेपछि पीडित किशोरीले आफ्नै बुबाविरुद्ध उजुरी दिएकी हुन् ।
यस्तै, काठमाडौंंको एक परिवारभित्र माया गर्ने बाहनामा बुबाले बारम्बार छोरीका समवेदनशील अङ्गमा छुन थाले । छोरीले करिब डेढ महिनापछि बुबाको हर्कत आमालाई सुनाइन् तर ती पुरुषले उल्टै धक्की दिन थाले । उल्टै छोरीलाई यौनसम्बन्ध राख्न कोठामा पठाइदे भनेर श्रीमतीलाई समेत दबाब दिन थाले ।
आमाछोरीले नै समाजमा इज्जत जाने डरले यो घटना प्रकाश ल्याउन सकेनन् । तर, छोरी टोलाउने, नबोल्ने गर्न थालेपछि आमाले तीनकुनेस्थित एक मनोपरामर्श केन्द्रमा लगिन् । बुबाबाट यौन हिंसा खेपेकी ती पीडित लामो समयको मनोपरार्मशपछि हाल अध्ययनका लागि विदेश जाने तयारीमा छन् । यस्ता अमानवीय क्रियाकलापले घर भित्र छोरीहरू के सुरक्षित छन् त ? भन्ने प्रश्न उब्जाइरहन्छ ।
हाडनाता करणी भन्ने बित्तिकै बाबु र आमातर्फ नाताभित्र पर्नेबीचको करणीलाई बुझिन्छ । हाडनाता करणीमा नाबालिका, किशोरीलाई निशाना बनाउनेमा बुबामात्रै नभएर परिवारका अन्य सदस्यसमेत रहेको पाइएको छ ।
नेपाल प्रहरीका एसएसपी तथा प्रवक्ता बसन्त कुँवरका अनुसार हाडनाता करणीमा हजुरबुबा, बुबा र झड्केलो बुबा, काका, मामा, ठुलो बुबा, दाजुभाइ, मामा, ठूलो बुबाको छोरा, देवर, जेठाजुसमेत संलग्न रहेको पाइएको छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार हाडनाता करणीका घटना पछिल्लो समय तुलनात्मक रुपमा बढेको छ । आर्थिक वर्ष ०७५/०७६ मा हाडनाता करणीमा १६९ जना संलग्न गरेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७६/०७७ मा हाडनाता करणीमै १९० मुद्दा परेको थियो । यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा हाडनाता करणीका ३२३ जना संलग्न थिए ।
यस्तै, काठमाडौं उपत्यकामा आर्थिक वर्ष ०७५/०७६ मा हाडनाता करणीका २९ मुद्धा परेका थिए । आर्थिक वर्ष ०७६/०७७ मा २५ र ०७७/०७८ मा २६ मुद्दा परेको थियो । चालु आर्थिक वर्षको भदौ महिनासम्म ६ वटा यस्ता मुद्दा परेको छ । हाडनाता करणीका घट्ना अझै आएनन् प्रकाशमा
मन्जुरी बगेर गरिने करणी नै जबरजस्ती करणी हो । नेपालमा मात्रै नभएर विश्वभर नै हाडनाता करणीको घटना लुकाउने प्रवृत्ति रहेको काठमाडौ स्कुल अफ लका प्राध्यापक अधिवक्ता सुरज बस्नेतको भनाइ छ ।
‘हाडनाता करणी जघन्य कसुर हो,’ उनी भन्छन्, ‘हाडनाता करणी बढिरहँदा पनि प्रतिष्ठाका नाममा र सामाजिक परिवेशभित्र अपराधलाई लुकाउने परिपाटी संसारभर नै छ । अपराधलाई लुकाएर पीडितलाई झन् पीडामा बाच्न बाध्य पारिन्छ ।’
हाडनाता करणीमा लामो समयसम्म पीडित भएपछि मात्रै राष्ट्रिय महिला आयोगमा उजुरी लिएर अभिभावक वा पीडित पक्ष पुग्ने गर्छन् । पुरुषभित्रको यौन उत्तेजना पूरा गर्न कतिपय अवस्थामा हाडनाता करणी हुने गरेको र परिवारले थाहा पाएर पनि लुकाउँदा कलिला बालिकासँगै छोरी, बुहारी, आमा, हजुरआमा समेत पीडित हुने गरेको पाइन्छ । नेपालको कानुनले हाडनाता क*रणीलाई अ*परा*धको रुपमा लिएको छ । बालबालिकालाई यसरी गराउनु पर्छ सचेत
कानुनले बर्जित गरेको जबरजस्ती करणी र घरभित्रकै सदस्यबाट हुने करणीबारे बालबालिकालाई सानैबाट बुुझाउन आवश्यक हुन्छ । छोराछोरीलाई बालयौन दुरुपयोगबारे घर अनि स्कुलबाटै बुझाउनुपर्ने राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी खतिवडा पौडेलले बताइन् ।
जबरजस्तीकरणीसँगै हाडनाता करणीमा पर्ने संकेत पाएमा तत्काल प्रतिकार गर्र्ने र यस्तो जघन्य अपराधमा परेको खण्डमा पीडित भइ नबस्ने र पीडकलाई सजाय दिलाउन संघर्षमा उत्रिनुपर्ने उनको भनाइ छ । देशका हरेका क्षेत्रमा जबरजस्ती करणी, हाडनाता करणी सम्बन्धमा कार्यक्रम नै बनाएर जनचेतना फैलाउन तीनै तहका सरकार अग्रसर हुनुपर्ने उनले बताइन् ।
हाडनाता करणीमा यस्तो छ सजाय :
मुलुकी अपराध संहिता २०७४ अनुसार जन्माउने आमाछोरा बीच वा बाबुछोरीका बीच करणी भएमा जन्मकैदको सजाय हुनेछ । यस्तै, सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुराबुहारी, एकै हाँगाको बाजेनातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवरभाउजूबीचको करणीमा चार वर्षदेखि दश वर्षसम्म कैद र चालीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
यस्तै, एकै हाँगाको तीन पुस्तासम्मको बज्यैनाति वा पनाति, एकै हाँगाको ठूलोबाबु वा काकाभतिजी, एकै हाँगाको भतिजो र ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजीबुहारी, साख्यै मामाभाञ्जी वा भानिजमाइजु, आमातर्फका ठूली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमती तर्फकी सासू र ज्वाँइबीच करणी भएमा तीन वर्षदेखि ६ वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि साठी हजार रुपैयाँसम्म जरिवाना कानुनमा तोकिएको छ ।
यीबाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्तासमेत विचार गरी एक वर्षदेखि तीन वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना हुने करणी सम्बन्धी कसूरमा उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस