अमेरिकामा एकैदिन २४ हजार संक्रमित, ब्राजिलमा २० हजार थपिए
659 Views
१० जेठ । पछिल्लो समय कोरोना भाइरस (कोभिड– १९) महामारीको नयाँ केन्द्र बन्दै गएको छ— दक्षिण अमेरिकी मुलुक ब्राजिल । त्यहाँ पछिल्ला केही दिनमा तीव्र रुपमानयाँ केसहरू फेला परेका छन् र संक्रमित संख्याको आधारमा विश्वकै दोस्रो देश बनेको छ ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डोमिटर्सका अनुसार शुक्रबार ब्राजिलमा एकै दिन २० हजारभन्दा बढी मानिसमा थप कोरोना भाइरस संक्रमण रहेको पुष्टि भयो । यसअघि बुधबार (मे २०) का दिन ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हालसम्मकै बढी दैनिक नयाँ केस फेला परे । त्यस दिन २१ हजार ४७२ नयाँ संक्रमित फेला परेका थिए । बिहीबार पनि त्यहाँ एकै दिन १७ हजार ५६४ नयाँ संक्रमित थपिएका थिए ।
यससँगै ब्राजिल विश्वमा कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा आएको छ, बिहीबारसम्म तेस्रो स्थानमा थियो । उसले रुसलाई समेत पछि पारेर अहिले संयुक्त राज्य अमेरिकालाई पछ्याउन थालेको छ । त्यहाँ हालसम्म संक्रमित संख्या ३ लाख ३२ हजार ३८२ पुगेको छ ।
अहिलेसम्म विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण र मृत्युका केसहरु संयुक्त राज्य अमेरिकामा नै रहेका छन् । त्यहाँ हालसम्म १६ लाख ४५ हजारभन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ भने ९७ हजार ६४७ मानिसले ज्यान गुमाइसकेका छन् । शुक्रबार मात्र अमेरिकामा २४ हजार १९७ नयाँ संक्रमित थपिएका छन् भने १ हजार २९३ जनाको ज्यान गएको छ ।
ब्राजिलमा शुक्रबार एकै दिन कोरोना संक्रमणका कारण १ हजारभन्दा बढीको ज्यान गएको छ । बिहीबार पनि त्यहाँ एकै दिन १ हजार १८८ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । यो नै ब्राजिलमा दैनिक मृत्युका घटनामा हालसम्मकै सर्वाधिक हो । यससँगै ब्राजिमा कोरोना संक्रमणबाट अहिलेसम्म २१ हजार ११६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांले देखाएको छ ।
यसैगरी ब्राजिलमा संक्रमितमध्ये १ लाख ३५ हजारभन्दा बढी चाहिँ निको भइसकेका छन् । हाल १ लाख ७५ हजारबढी मानिसमा कोरोना भाइरस सक्रिय छ । ब्राजिलमा मृत्युदर ६ प्रतिशतभन्दा बढी देखिएको छ, जबकि अमेरिकामा ५.९३ प्रतिशत रहेको छ । तर ब्राजिलमा निकाे हुने दर भने बढी छ । त्यहाँ कुल संक्रमितकाे ४० प्रतिशत बिरामी निकाे भइसकेका छन् जबकि अमेरिकामा केवल २४ प्रतिशत मानिसमात्र निकाे भएका छन् ।
संक्रमणका हिसाबले ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहे पनि मृत्युका हिसाबले भने अमेरिकापछि बेलायत दोस्रो स्थानमा छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण ३६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
विज्ञहरूका अनुसार ब्राजिलमा अहिले धेरैको कोरोना परीक्षण भएको छैन । यदि परीक्षण व्यापक बनाउने हो भने त्यहाँ अहिले देखिएको भन्दा १५ गुणा बढी संक्रमित देखिन सक्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस