सीमा नाकामा अलपत्र रहेकाहरुलाई आजदेखि नेपाल ल्याइने
446 Views
जनकपुर ३ जेठ । लकडाउनमा घर आउन न सकेका र सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई ल्याउने तैयारी सुरु भएको छ ।
विभिन्न कामको सिलसिलामा भारतमा बसेका तर पछिलो समय लकड़ाउनमा सीमानाकामा आएर अडकिएपछि लुकिछिपी सीमानाकाबाट जथाभावी रुपमा छिर्न थालेपछि प्रशासनले उनीहरुलाई ल्याउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषा जिल्ला विपद व्यवस्थापन समितिले नेपाल भारतको सीमानामा आएर रोकिएका धनुषावासीलाई ल्याउने निर्णय गरेको हो ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक शरद कुमार पोखरेलले सीमा क्षेत्रमा आएर अलपत्र अवस्थामा रहेका धनुषावासीलाई सम्बन्धित पालिकामा पठाउने तयारी अगाडि बढाइएको बताउनु भयो ।
पोखरेलले भन्नुभयो, ’धनुषाको सीमावर्ती क्षेत्र जटही नाकाबाट बसमा ल्याउने गरी जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरेको हो ।’
नेपाल भारत बोर्डरमा धनुषाको सीमा पर्ने ४९ किलोमिटरको क्षेत्रमा बीचको नाकामा पर्ने जटही नाकाबाट मात्र धनुषाका बासिन्दाहरु आउन सक्ने जनाइएको छ ।
आजदेखि नै सीमा क्षेत्रमा रहेका धनुषावासीलाई ल्याउने गृहकार्य थाल्ने जनाउँदै सहायक सिडियो पोखरेलले जटही नाकामा क्वारेन्टाइन जक्शन निर्माणको कार्य पनि आजदेखि नै सुरु भएको पोखरेलले न्यूज २४ लाई जानकारी दिनुभयो ।
भारतबाट नेपाल आउनेहरुको हकÞमा धनुषाको जटही नाका र नेपालबाट भारत जानेहरुको लागि महोत्तरीको भिट्ठामोड़ नाकालाई प्रयोग गर्ने वारे आफूहरु निस्कर्षमा पुगेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले अगाडि थप्नुभयो, ’महोत्तरीको प्रमुख जिल्ला अधिकारीसंग समन्वयमा लागेका छौ र नेपालबाट भारत जानेहरुलाई पठाउने तयारी थालेको हो ।’
सम्बन्धित पालिकाहरुले आ–आफ्नो नगरभित्रको फसेका व्यक्तिहरुको तथ्यांक संकलन गरी बुझाएपछि ल्याउने कार्य सुरु हुने जानकारी दिनुभएको छ ।
भारतबाट आउनेहरुलाई जटही नाकाको क्वारेन्टाइन स्टेशनमा जांँच गरेर मात्र सम्बंधित पालिकामा पठाउने र उनीहरुलाई त्यहि स्थानीय पालिकाहरुको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सम्बन्धित सबै पालिकालाई जानकारी गराई सकेको पोखरेलले स्पस्ट पार्नुभयो ।
जटही नाकामै कोरोनाको हेल्प डेस्क राखेर चेकजाँच गरी सामान्य व्यक्तिलाई गाडीमा राखेर सम्बन्धित नगरपालिका, गाउँपालिकामा पठाउने तथा संक्रमित भएको पाइएमा स्बाब संकलनको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाउने निर्णय गरिएको छ ।
चेकजाँचको क्रममा सामान्य अवस्था भएकालाई नगरपालिका, गाउँपालिकाको क्वारेन्टाइनमा पठाइने छ । धनुषा प्रशासनको समन्वयमा विहान १० बजे र साँझ ६ बजे गरी दुई पटक बस सञ्चालन गरी सीमाक्षेत्रबाट धनुषावासीलाई सम्बन्धित पालिकामा पठाइने छ ।
त्यसको लागि सम्बन्धित नगरपालिकाको सम्पर्क व्यक्ति र क्वारेन्टाइनको सम्पर्क व्यक्तिसँग समन्वय गरी सम्बन्धित पालिकाले आफ्ना नगरभित्रका नागरिकलाई सकुशल र उत्तम व्यवस्थापा गर्नुपर्ने निर्णय समेत गरिएको बताउनुभयो ।
पच्छिलो समय सीमा नाका सिल गरे पछि भारतबाट लुकी छिपी नेपाल आउने जानेको संख्या बढ़ेको गुनासो आउन थालेपछि संक्रमण बढ़ने सम्भावना बढने भएकोले व्यवस्थित रुपमा नै भारतसंग समन्वय गरेर नेपालीलाई आफ्नो भूमि फर्काउने कार्य अगाडि बढाइएको हो ।
प्रतिक्रिया दिनुहोस