९० वर्षको उमेरमा जनमुक्ति सेना श्यामकुमार तामाङको मृत्यु
1138 Views
काठमाडौं ७ वैशाख,खोज मिडिया । जनमुक्ति सेना श्यामकुमार तामाङको मृत्यु भएको छ । ९० वर्षको उमेरमा नेपालगंज स्थित आफ्नै निवासमा उनको मृत्यु भएको हो । उनको जन्म वि.सं. १९८७ फागुन ९ गते सिमरिङ चियाबगान, दार्जिलिङ भएको थियो । उनले मेट्रिक सम्म अध्ययन गरेका थिए । उनी सन १९४८ देखि नेपाल प्रजातन्त्र काँग्रेसमा संलग्न भई राजनीतिक कार्यकर्ताको रुपमा सक्रिय रहेका थियो । स्थापनाकालदेखि नै जनमुक्ति सेनामा आवद्ध भई २००७ सालको क्रान्तिमा विभिन्न मोर्चाहरुको नेतृत्व गरेर लडेका थिए । २००७ सालको क्रान्ति पछि रक्षा दलमा कप्तान र रक्षा दल नेपाल प्रहरीमा परिणत भएपछि २०१२ सालदेखि डिएसपी र २०१९ सालदेखि एसपीमा कार्यरत रही २०२७ सालमा सेवा निवृत्त भएको थियो ।
उनी २०३२ सालदेखि २०३८ सालसम्म निर्माणधीन पूर्व पश्चिम राजमार्गमा कार्यरत ब्रिटिस निर्माण कम्पनीमा तल्कालिन श्री ५ सरकारको सम्पर्क अफिसर रहेर काम गरेका थिए । साथै उनले विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि संलग्न रहेर काम गर्दै आएका थिए । उनी २००७ सालमा नेपाल जनमुक्ति सेना कल्याण संघको अध्यक्षता समेत भएका थिए भने पछि नेपाल भुतपूर्व प्रहरी संघको उपाध्यक्ष पनि भएका थिए । त्यसका साथै नेपाली कांग्रेस बाँकेका जिल्ला सल्लाहाकार लगायतका अन्य विभिन्न सामाजिक संघसंस्थाहरुमा विभिन्न पदमा सेवारत रहेको थियो । उनलाई विभिन्न समयमा विभिन्न विभुषण तथा पदकबाट सम्मान गरिएको थियो । २०१४ सालमा त्रिशक्ति पट्ट तेस्रो, २०१५ मा प्रहरी सेवा पदक, २०१९ मा गोरखा दक्षिणबाहु तेस्रो र २०१२ मा शुभराज्य विषेक पदक प्राप्त गरेका थिए ।
उनले आफ्नो जीवनमा देखे भोेगेका र बेहोरेका आधारमा र क्रान्तिको निर्णयक शक्तिको रुपमा रहेको तर नेपाली इतिहासकारहरुले खासै दुष्टि पुग्न नसकेको जनमुक्ति सेनाका बारेमा जनमुक्तिसेना ः एउटा नलेखिएको इतिहास गन्थ लेखेका छन् । यस पुस्तकमा उनले जनमुक्तिसेनाको निर्माणकालदेखि २००७ सालको क्रान्ति र त्यसपछिका अवधिमा यसले भोग्नु र व्यहोर्नु परेका कठिन परिस्थितिहरुको जीवन्त चित्रण गरिएको छ । यस बाहेका क्रान्तिका पृष्ठभुमि र क्रान्ति पछि घटेका प्रमुख राजनीतिक घटनाको बारेमा पनि चर्चा गरिएको छ । प्रस्तुत पुस्तक नेपाली सेनाको विर्सिएको इतिहासको एउटा महत्वपूर्ण दस्तावेज समेत बन्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस