राष्ट्रपतिद्वारा पृथ्वी प्रज्ञा पुरस्कार प्रदान
687 Views
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित भएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रत्येक चार वर्षमा दिइने राज्यकै सर्वाधिक गरिमामय पुरस्कार पृथ्वी प्रज्ञा पुरस्कारद्वारा जोशी सम्मानित भएका हुन् ।
राष्ट्रपति भवन, शीतल निवासमा सोमबार आयोजित समारोहबीच राष्ट्रपति भण्डारीले चार लाख नगद राशीसहित दोसल्ला र सम्मानपत्रले जोशीलाई सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशीको पृथ्वी प्रज्ञा पुरस्कारद्वारा सम्मान गरिएको थियो ।
समारोहमा नेपाल प्रज्ञा सामाजिक शास्त्र,संस्कृत,दर्शन पुरस्कार प्रा.डा. त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरियो । नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई दिइयो । प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कार एक लाख नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
त्यसैगरी नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) तराई-मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन-तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) तराई-मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई प्रदान गरियो । उक्त पाँचवटै पुरस्कारको राशि एक/एक लाख नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।
सोही समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव- २०७६ का विजयी कविहरूलाई पनि पुरस्कृत गरेका थिए । महोत्सवमा प्रथम भएका धादिङका हेम प्रभासलाई ३० हजार रुपैयाँ, द्वितीय स्थान हासिल गरेका डोटीका सुभाषचन्द्र भण्डारीलाई २५ हजार रुपैयाँ, तृतीय भएका लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौंका प्रकाश बस्नेत ‘गफाडी’लाई जनही २० हजार रुपैया, सम्मानपत्र र पदक प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस