साहित्य शृङ्खला पोखराको २८९औँ शृङ्खला सम्पन्न
97 Views
पोखरा। साहित्य शृङ्खला पोखराको २८९औँ शृङ्खला शनिबार कार्तिक ७ गते पश्चिमाञ्चल माध्यमिक विद्यालय, गैह्रापाटनको सभाहलमा सम्पन्न भएको छ। नियमित रचना वाचन कार्यक्रमअन्तर्गत गीत, गजल, कविता, कथा, लघुकथा तथा लघुनिबन्धलगायत विभिन्न विधाका रचना प्रस्तुत गरिएका थिए।
कार्यक्रममा शृङ्खलाकी निवर्तमान अध्यक्ष लक्ष्मी थापाले गजल प्रस्तुत गरिन् भने सल्लाहकार धनबहादुर नेपालीले च्याङ्ग्राका विषयमा छोटो कविता सुनाए। लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्त, सचिव विष्णु बास्तोला तथा पोखरेली युवा सांस्कृतिक परिवारका साहित्य संयोजक ढाकामोहन बरालले लघुकथा वाचन गरेका थिए।
त्यसैगरी, प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष छवि सुवेदी ‘विजयी’, हृषिकेश बराल, तेजनारायण अधिकारी, भक्त रसाइली र लक्ष्मीप्रसाद पौडेललगायत स्रष्टाहरूले कविता प्रस्तुत गरेका थिए। मार्क्सवादी अध्ययन स्रोत केन्द्रका अध्यक्ष झलकपाणी तिवारीले ‘मिथ्या चेतना’ शीर्षकमा लघुनिबन्ध प्रस्तुत गरे भने वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेलले यथार्थमा आधारित कथा सुनाएका थिए।
कार्यक्रममा साहित्य शृङ्खलाका सल्लाहकार नारायण परिश्रमीले संस्थामा लामो समयसम्म योगदान पुर्याएका पूर्वउपाध्यक्ष तथा ‘आलोक शृङ्खला’का सम्पादक ताराप्रसाद तिम्सिनाको स्मृतिमा स्मृतिग्रन्थ प्रकाशन गर्नुपर्ने धारणा राखे। उनले स्मृतिग्रन्थ प्रकाशनका लागि तिम्सिनाको परिवारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।
बाम बुद्धिजीवी सांस्कृतिक रूपान्तरण अभियानका अभियन्ता रामजी थापाले दशैँ, तिहार र तीजजस्ता चाडपर्वलाई प्रगतिशील दृष्टिकोणबाट मनाउनुपर्ने विचार व्यक्त गरे। पूर्व पृथ्वीनारायण क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले कार्यक्रममा विविध विधाका रचना प्रस्तुत भएकोमा खुसी व्यक्त गर्दै जीवनलाई पाखण्डपूर्ण बनाउन नहुने बताए। उनले आध्यात्मवाद त्यागेर भौतिकवादी चेतना अँगाल्नुपर्नेमा जोड दिए।
दशैँ पर्वलाई प्रगतिवादी दृष्टिकोणबाट कसरी हेर्ने भन्ने विषयमा पनि वक्ताहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।
लक्ष्मण गौतम ‘हिमाली’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुवातमा लोचना अधिकारीले आफ्ना रचनामार्फत उपस्थित महानुभावहरूलाई स्वागत गरेकी थिइन्। कार्यक्रममा पवन शर्मा तिमिल्सिना, समाजसेवी रामबहादुर बानियाँ, चियाङ तमु र शिशिर अधिकारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव काजी गाउँलेले गरेका थिए।
साहित्य शृङ्खला पोखराले प्रत्येक महिनाको पहिलो शनिबार पश्चिमाञ्चल माध्यमिक विद्यालय, गैह्रापाटनको सभाहलमा नियमित रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ। साहित्य, सिर्जना र वैचारिक विमर्शलाई निरन्तरता दिने उद्देश्यले आयोजना हुँदै आएको यस कार्यक्रमले विभिन्न साहित्यिक विधाका स्रष्टाहरूलाई आफ्ना रचना प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।





प्रतिक्रिया दिनुहोस