नेपाल तामाङ घेदुङ भित्र बढ्दो शक्ति संघर्ष : महाधिवेशनअघि संगठनभित्रै असन्तुष्टि चुलियो
196 Views
काठमाडौं । तामाङ समुदायको सबैभन्दा ठूलो सामाजिक संस्थामध्ये एक मानिने नेपाल तामाङ घेदुङ यतिबेला आफ्नो दशौं संघीय महाधिवेशनको संघारमा उभिएको छ । तर महाधिवेशन नजिकिँदै जाँदा संगठनभित्रको आन्तरिक विवाद, नेतृत्व संघर्ष, आर्थिक पारदर्शितामाथिको प्रश्न र गुटगत ध्रुवीकरण सतहमा मात्र होइन, सार्वजनिक बहसकै विषय बन्न थालेको छ ।
बिहीबार स्वयम्भुस्थित स्टार बन्क्युटमा बसेको सचिवालय बैठक कुनै ठोस निष्कर्षमा पुग्न नसकी भंग भएपछि संगठनभित्रको संकट अझ स्पष्ट रूपमा बाहिर आएको हो । बैठककै क्रममा अध्यक्ष मोहन गोले बीचमै बाहिरिएपछि अन्य पदाधिकारीहरू पनि स्पष्ट सहमतिविना फर्किएको स्रोतले जनाएको छ । महाधिवेशनको अन्तिम तयारीका लागि बोलाइएको बैठक नै निष्कर्षविहीन बनेपछि संगठनभित्र गहिरो शक्ति संघर्ष चलिरहेको संकेत मिलेको छ ।
नेपाल तामाङ घेदुङ स्थापना भएको सात दशकभन्दा बढी समय बितिसक्दा पनि संगठन अहिले आन्तरिक विवाद, नेतृत्व संघर्ष र व्यवस्थापन कमजोरीका कारण आलोचनाको केन्द्रमा पर्न थालेको छ । तामाङ समुदायभित्र पहिचान, भाषा, संस्कृति र अधिकारको सवाललाई संस्थागत रूपमा उठाउने उद्देश्यले २०१३ सालमा स्थापना गरिएको घेदुङ आज आफ्नै संरचनाभित्रको असन्तुष्टिसँग जुधिरहेको छ ।
“घेदुङ” शब्द तामाङ भाषामा सभा, संगठन वा सामूहिक एकताको प्रतीकका रूपमा बुझिन्छ । राज्यद्वारा लामो समय उपेक्षित तामाङ समुदायको भाषा, धर्म, संस्कृति, शिक्षा, प्रतिनिधित्व र आत्मसम्मानको पक्षमा संगठित आवाज उठाउने लक्ष्यसहित स्थापना गरिएको यो संस्था अहिले नेतृत्व तहकै विवादले कमजोर बन्दै गएको गुनासो कार्यकर्ताहरूको छ ।
हाल घेदुङको १०१ सदस्यीय सङ्घीय कार्य समिति, २१ पदाधिकारी र ४३ सदस्यीय सचिवालय रहेको छ । सातै प्रदेशमा प्रदेश समिति, ६२ जिल्लामा जिल्ला शाखा, ३०० भन्दा बढी पालिकामा स्थानीय समिति र ७०० बढी वडा कार्यसमिति विस्तार भएको संगठनले दाबी गर्दै आएको छ । महिला, युवा, विद्यार्थी, लामा, संस्कृति, ताम्बा र बोन्बो गरी ७ वटा भातृ संगठन तथा भाषा, सञ्चार, उद्योग, कर्मचारी, ह्रुई–वंशावली, पुरातात्विक र सामाजिक कल्याण विभागसमेत क्रियाशील छन् ।
त्यसैगरी कुवेत, भारत, इजरायल, अमेरिका, बेलायत, मलेसिया, दक्षिण कोरिया, बहराइन, मकाउ, बेल्जियम, रोमानिया, पोर्चुगल, जापान, ओमन, साउदी अरब, यूएई, कतार, हङकङ, अष्ट्रेलिया, साइप्रस, क्यानाडा र इराकलगायत डेढ दर्जनभन्दा बढी मुलुकमा घेदुङसँग आबद्ध संस्था तथा शाखाहरू सक्रिय छन् । तर, विदेशस्थित शाखादेखि स्थानीय तहसम्मका धेरै सदस्य र शुभेच्छुकहरू नेतृत्व तहभित्रको निरन्तर विवाद, गुटबन्दी र निर्णय प्रक्रियामा पारदर्शिताको अभावप्रति असन्तुष्ट देखिएका छन् ।
संगठनभित्र लामो समयदेखि नेतृत्व केन्द्रित राजनीति, व्यक्तिवाद र जिम्मेवारी बाँडफाँटमा असन्तुलन रहेको आरोप लाग्दै आएको छ । महाधिवेशन नजिकिँदै जाँदा पदको प्रतिस्पर्धा, समूहगत ध्रुवीकरण र एकअर्काप्रति अविश्वास बढेको भन्दै केही जिल्ला तथा प्रवास शाखाहरूले सार्वजनिक रूपमा नै चिन्ता व्यक्त गर्न थालेका छन् ।
कतिपय कार्यकर्ताहरूका अनुसार तामाङ समुदायको साझा आवाज बन्नुपर्ने संस्था पछिल्लो समय सीमित नेतृत्वको प्रभावमा केन्द्रित हुँदै गएको छ । “समुदायको मुद्दा भन्दा नेतृत्वको शक्ति संघर्ष हावी भयो,” एक प्रवास प्रतिनिधिले गुनासो गरे ।
विशेषगरी युवापुस्ता र प्रवासमा रहेका तामाङ अभियन्ताहरू संगठनलाई समयअनुकूल, पारदर्शी र समावेशी ढंगले अघि बढाउनुपर्ने माग गरिरहेका छन् । उनीहरू नेतृत्व चयन प्रक्रिया, आर्थिक पारदर्शिता, कार्यविभाजन र नीति निर्माणमा व्यापक सुधार आवश्यक रहेको बताउँछन् ।
घेदुङभित्रको पछिल्लो विवादले संगठनको वैचारिक दिशा, संस्थागत विश्वसनीयता र समुदायमाथिको प्रभावमै प्रश्न उठ्न थालेको विश्लेषकहरू बताउँछन् । समुदायको अधिकार र पहिचानको आन्दोलनलाई बलियो बनाउने ऐतिहासिक जिम्मेवारी बोकेको संस्था आन्तरिक कलहमा अल्झिरहे त्यसले समग्र तामाङ आन्दोलनलाई नै कमजोर बनाउने चिन्ता बढ्दो छ ।
पछिल्लो केही वर्षयता घेदुङभित्र “समुदायको भावना प्रयोग गरेर संस्था सञ्चालन गरिएको”, “आर्थिक हिनामिना भएको”, “संगठन केही सीमित व्यक्तिको प्रभावमा पुगेको” जस्ता आरोप बारम्बार उठिरहेका छन् । यद्यपि नेतृत्व पक्षले भने ती आरोपलाई अस्वीकार गर्दै आएको छ ।
दशौं संघीय महाधिवेशनलाई लिएर अहिले संगठनभित्र विभिन्न समूह सक्रिय बनेका छन् । अध्यक्षको उम्मेदवारी तयारीमा रहेकाहरु प्यानल निर्माण, क्षेत्रीय समन्वय र प्रतिनिधि भेटघाटमा सक्रिय देखिएका छन् । संगठनभित्र अहिले “गुड उपगुड” को राजनीति तीव्र बनेको आरोप कार्यकर्तामाझ सुनिन थालेको छ । महाधिवेशनलाई समुदायको नीति र दिशाभन्दा पनि नेतृत्व कब्जाको प्रतिस्पर्धाका रूपमा हेरिन थालेको टिप्पणीसमेत भइरहेको छ ।
कतिपय पूर्वपदाधिकारी र समुदायका बुद्धिजीवीहरूले सार्वजनिक रूपमै प्रश्न उठाउन थालेपछि विवाद अझ चर्किएको छ । उनीहरूको आरोप छ घेदुङ समुदायको साझा संस्थाभन्दा पनि सीमित समूहको शक्ति केन्द्र बन्दै गएको छ ।
घेदुङ अब समुदायको वास्तविक मुद्दा, भाषा, संस्कृति, शिक्षा र राजनीतिक अधिकारको पक्षमा केन्द्रित हुने हो कि फेरि भागबण्डा र शक्ति संघर्षकै घेरामा सीमित रहने हो ?
दशौं महाधिवेशनले केवल नयाँ नेतृत्व चयन गर्ने मात्र होइन, घेदुङको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा समेत हेरिएको छ ।





प्रतिक्रिया दिनुहोस