गैंडाकोटमा स्वतन्त्र पत्रकार संघको अधिवेशन सम्पन्न, बास्तोला पुनः अध्यक्ष
101 Views
गैंडाकोट। नवलपुरको गैंडाकोटमा सम्पन्न स्वतन्त्र पत्रकार संघ नेपालको १४औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट कृष्णप्रसाद बास्तोला पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। उनी आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादकसमेत हुन्।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा तिर्सनालक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त र कोषाध्यक्षमा नमस्कार शाह चयन भएका छन्। सदस्यतर्फ युक्तप्रसाद सुवेदी (बागलुङ), कृष्ण बहादुर रानाभाट (कास्की), योगेश खपाङ्गी (झापा), प्रेमध्वज लामा, सुरेशप्रसाद सैंजु (भक्तपुर) र सागर कार्की (कास्की) रहेका छन्।
अधिवेशनको उद्घाटन सत्रमा पोखराका वरिष्ठ पत्रकार उदयबहादुर अमात्यलाई २५ हजार रुपैयाँ राशिसहित ‘सामाजिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै उनले स्वतन्त्र पत्रकारिताको महत्व औंल्याउँदै पत्रकार आफैं निष्पक्ष र जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा अध्यक्ष बास्तोलाले संघ स्थापना भएको पृष्ठभूमि स्मरण गर्दै २०६८ सालमा पत्रकार महासंघभित्र देखिएको दलीय प्रभावको विरोधबाट संघको सुरुआत भएको बताए। कास्कीबाट सुरु भएको यो अभियान हाल २९ जिल्लासम्म विस्तार भएको जानकारी उनले दिए। उनका अनुसार संघले दलीय प्रभावबाट मुक्त, निष्पक्ष र व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्दै आएको छ।
पत्रकारले मतदानबाहेक अन्य समयमा राजनीतिक झुकाव देखाउन नहुने उल्लेख गर्दै बास्तोलाले पत्रकारिताको विश्वसनीयता जोगाउन स्वतन्त्रता अनिवार्य रहेको बताए। पछिल्लो समय पत्रकारिताको गरिमा घट्नुमा स्वतन्त्रताको कमी प्रमुख कारण रहेको उनको भनाइ थियो।
निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघलाई विधानअनुसार अघि बढाइने र स्वतन्त्र पत्रकारिताको मूल उपलब्धि ‘आत्मसन्तुष्टि’ भएको उल्लेख गरे। निष्पक्ष समाचारले कसैलाई हानि नपुर्याउने विश्वास नै पत्रकारको शक्ति भएको उनले बताए।
साथै, स्वतन्त्र पत्रकारिताबाट जीविकोपार्जन गर्न सकिँदैन भन्ने धारणा गलत रहेको दाबी गर्दै उनले आफूले तीन दशकदेखि यही अभ्यास गरिरहेको बताए। बदलिँदो समयसँगै डिजिटल पत्रकारिता आवश्यक भएको उल्लेख गर्दै पत्रकारहरूलाई प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए।
अधिवेशनमा ११ जिल्लाका ६० प्रतिनिधिको सहभागिता रहेको थियो।





प्रतिक्रिया दिनुहोस