“अब सोच बदलौं, भोट बदलौं” रामेछापमा उज्यालो नेपाल पार्टीको चुनावी कार्यक्रमको तालिका सार्वजनिक
184 Views
रामेछाप। प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिप बहादुर योञ्जनले पुराना राजनीतिक दलहरूको असफलता, भ्रष्टाचार र कुशासनकै कारण देश विकासको गति लिन नसकेको आरोप लगाउँदै उज्यालो नेपाल पार्टीलाई नयाँ राजनीतिक विकल्पका रूपमा अघि सारेका छन्।
मन्थलीमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको स्पष्ट एजेण्डासहित आफूहरू चुनावी मैदानमा उत्रिएको बताए। “तीन दशक लामो राजनीतिक अभ्यासपछि पनि जनताले परिवर्तनको अनुभूति गर्न सकेका छैनन्,” उनले भने, “अब नीति र नेतृत्व दुवै बदल्नुपर्छ। त्यसैले हामी ‘अब सोच बदलौं, भोट बदलौं’ भन्ने नारासहित अघि बढेका छौं।”
योञ्जनले पछिल्लो ‘जेन्जी आन्दोलन’लाई पुराना दलप्रतिको असन्तुष्टि र राजनीतिक असफलताको परिणामका रूपमा व्याख्या गरे। उनले देशमा न्याय, सुशासन र पारदर्शिताको अभावले जनतामा निराशा बढेको दाबी गर्दै भ्रष्टाचार अन्त्यबिना विकास सम्भव नभएको स्पष्ट पारे। “देशमा शान्ति र सुरक्षाको अनुभूति नै छैन। अब इमानदार र परिणाममुखी नेतृत्व आवश्यक छ,” उनले जोड दिए।
उनले पार्टी अध्यक्ष कुलमान घिसिङको कार्यशैलीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पर्यटन, कृषि र जलविद्युत क्षेत्रमा लगानी बढाएर छोटो समयमै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। विद्युत उत्पादन विस्तार, उद्योग सञ्चालन र रोजगारी सिर्जनाले युवाको विदेश पलायन रोक्न सकिने उनको भनाइ थियो।
सांसदको भूमिकाबारे बोल्दै योञ्जनले विकास निर्माणभन्दा पनि नीति र कानुन निर्माण सांसदको मुख्य दायित्व भएको उल्लेख गरे। “सांसदले धारा, सडक बनाउने होइन, नीति र कानुन बनाउने हो,” उनले भने।
‘उज्यालो रामेछाप’ अभियान सुरु
पार्टीका जिल्ला सचिव राज मैनालीले ‘उज्यालो रामेछाप निर्माण’ अभियानअन्तर्गत फागुन १८ गतेसम्म सञ्चालन हुने चुनावी कार्यक्रमहरूको तालिका सार्वजनिक गरे। उनका अनुसार अभियान औपचारिक सभामा सीमित नभई गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने ढाँचामा अघि बढाइनेछ।
फागुन ४ गतेदेखि अभियान सुरु गर्दै उमाकुण्ड गाउँपालिकाको केन्द्रबाट पहिलो कार्यक्रम गर्ने जनाएको छ । त्यसपछि फागुन ५ गते गोकुलगंगा गाउँपालिका, ६ गते लिखु तामाकोसी गाउँपालिकाको धोवी बजार, ७ गते रामेछाप नगरपालिकाको रामेछाप डाँडा, ८ गते साँगुटार र ९ गते कुभिन्डे, भलायोचौर हुँदै हुलाकडाँडासम्म भेटघाट कार्यकम तय गरिएको बताए । त्यस्तै, फागुन १० गते जिल्लाको सदरमुकाम मन्यलीको देवकोटा चोकमा दिउँसो १ बजे विशेष कार्यक्रम आयोजना गरिने र ११ गते मन्थली नगरपालिकाको काउले भन्ज्याङमा मतदातासँग प्रत्यक्ष अन्तरकिया रहेको बताए । १२ गते पोखरीडांडा र फुलासीसंगै खाँडादेवी गाउँपालिकाको केन्द्रमा पनि कार्यकम राखिएको उनले जानकारी दिए । यसैगरी १३ गते गागल र चुरिडखर्क, १५ गते गाल्पा, १६ गते सुनापति गाउँपालिकाको हिलेदेवी क्षेत्रमा भेटघाट कार्यक्रम सञ्चालन हुनेछ । १७ गते गुन्सी भदौरे, लखनपुर र पोडिघ्याङमा स्थानीयसँग साक्षात्कार गर्ने योजना रहेको मैनालीले जानकारी दिए । अभियानको अन्तिम दिन फागुन १८ गते दोरम्बा गाउँपालिकाको डडुवामा जनभेटघाट तथा अन्तरकिया कार्यक्रम आयोजना गरिएको बताए ।
नयाँ शक्तिको आवश्यकता : नेता लामा
पार्टीका केन्द्रीय सदस्य रामकृष्ण लामाले पनि विगत तीन दशकदेखि देशमा राजनीतिक अस्वच्छता, भ्रष्टाचार र कुशासन मौलाउँदै गएको आरोप लगाए। उनले जनताले अपेक्षित विकास, सुशासन र सामाजिक न्याय नपाएको भन्दै नयाँ राजनीतिक शक्तिको आवश्यकता महसुस भएर उज्यालो नेपाल पार्टी गठन भएको दाबी गरे।
“जनताले न्याय र विकास नपाउँदा असन्तुष्टि बढ्यो, त्यसैको परिणामस्वरूप जेन्जी आन्दोलन भयो,” उनले भने, “पुराना दलप्रतिको अविश्वासपछि उज्यालो नेपाल पार्टी निर्माण भएको हो।”
लामाले सुशासनलाई समृद्धिको आधार मान्दै भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने धारणा राखे। ऊर्जा क्षेत्रको विकासमार्फत नेपाललाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै उनले ५० हजार मेगावाटसम्म विद्युत उत्पादन गर्न सके शिक्षा, स्वास्थ्य र ऊर्जा सेवा निःशुल्क उपलब्ध गराउन सकिने दाबी गरे।
कृषिलाई रोजगारी र आत्मनिर्भरताको मुख्य आधारका रूपमा अघि सार्दै उनले सिंचाइ, प्रविधि, सहुलियत ऋण र बजार व्यवस्थापनमा जोड दिए। पर्यटन क्षेत्रको ठूलो सम्भावना उपयोग गर्न नसकिएको उल्लेख गर्दै उनले प्रभावकारी योजना र उद्योग पुनः सञ्चालनमार्फत आर्थिक गतिविधि बढाउनुपर्ने बताए।
उज्यालो नेपाल पार्टीले उत्पादन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्रमुख लक्ष्य बनाएको उल्लेख गर्दै नेताहरूले आगामी निर्वाचनमा मतदातालाई नयाँ विकल्प रोज्न आग्रह गरेका छन्।





प्रतिक्रिया दिनुहोस