मिडियामा आएको समाचारप्रति उज्यालो नेपालको धारणा सार्वजनिक
120 Views
काठमाडौँ । हालै केही सञ्चारमाध्यमहरूमा उज्यालो नेपाल पार्टीका १५ जना केन्द्रीय समिति सदस्यहरूले पार्टी परित्याग गरेको भनी सार्वजनिक गरिएको समाचारप्रति उज्यालो नेपाल पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त समाचार तथ्यगत रूपमा भ्रामक र पुरानै विषयलाई नयाँ ढंगले प्रस्तुत गरिएको स्पष्ट पारेको छ।
पार्टीका अनुसार समाचारमा उल्लेख गरिएका व्यक्तिहरू पार्टी एकीकरण प्रक्रियाकै क्रममा पहिले नै अलग भइसकेका थिए। त्यसैले अहिले बाहिर आएका विवरणहरूलाई नयाँ घटनाका रूपमा प्रस्तुत गर्नु यथार्थपरक नभएको पार्टीको भनाइ छ। पार्टीले सञ्चारमाध्यमहरूलाई समाचार प्रकाशन तथा प्रसारण गर्दा सत्यतथ्य बुझेर मात्रै सामग्री सार्वजनिक गर्न आग्रह समेत गरेको छ।
उज्यालो नेपाल पार्टी निर्माणको प्रारम्भिक चरणमा सम्बन्धित व्यक्तिहरूले पुर्याएको योगदानप्रति पार्टीले सम्मान व्यक्त गरेको छ। उनीहरूले पार्टी संगठन विस्तार, विचार निर्माण र जनसम्पर्कमा खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टी सधैँ त्यस योगदानप्रति कृतज्ञ रहने बताएको छ।
तर वर्तमान चरणमा पार्टीलाई अझ सुदृढ बनाउँदै राष्ट्र निर्माणको लक्ष्यतर्फ अगाडि बढ्न दृढ इच्छाशक्ति, निरन्तर संघर्ष, त्याग र राष्ट्रप्रतिको अटुट प्रतिबद्धता आवश्यक रहेको पार्टीको धारणा छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई केन्द्रमा राख्ने नेतृत्व र कार्यकर्ताबाट मात्रै उज्यालो भविष्य निर्माण सम्भव हुने पार्टीले जनाएको छ।
देशमा सुशासन स्थापना, आर्थिक समृद्धि हासिल र जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित अघि बढिरहेको उज्यालो नेपाल पार्टीले आफ्ना सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरूलाई एकता, अनुशासन र समर्पणका साथ पार्टी सुदृढीकरण तथा राष्ट्रसेवामा सक्रिय रहन हार्दिक आह्वान गरेको छ।
“हाम्रो सामूहिक प्रयास, त्याग र विश्वासकै बलमा समृद्ध, सक्षम र उज्यालो नेपाल निर्माण गर्ने लक्ष्यमा हामी सफल हुनेछौँ,” पार्टीद्वारा जारी खण्डन वक्तव्यमा उल्लेख छ। पार्टीले पुनः एकपटक भ्रामक समाचारको पछि नलाग्न तथा आधिकारिक जानकारीका लागि पार्टी स्रोतलाई नै आधार मान्न अनुरोध गरेको छ।





प्रतिक्रिया दिनुहोस