हाँसोमार्फत संस्कृतिसँग जोड्ने प्रयास: नेपाली कलाकार अमेरिका यात्रामा
150 Views
डालस, टेक्सस (अमेरिका) । नेपाली हास्यकला प्रेमीहरुका लागि खुसीको खबर छ। नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपाली दर्शकहरुलाई हसाउने उद्देश्यले अमेरिका आइपुगेको छ। फेम नेपालको तत्वावधानमा “अब हास्छ अमेरिका – भाग २” कार्यक्रम लिएर पाँच जना लोकप्रिय हास्यकलाकारहरु अमेरिकी भ्रमणमा आएका हुन्।
हाल कमेडी क्लब विथ च्याम्पियन हास्य टेलिभिजन शोमा सक्रिय कलाकारहरू भरतमणि पौडेल, सुमन कोईराला, सुमन कार्की, मेक्सम गौडेल र कैशाल कार्की अमेरिकी दर्शकसँग प्रत्यक्ष भेटघाट र प्रस्तुति दिन अमेरिका आएका हुन्।
फेम नेपालका सञ्चालक विमल पछाईका अनुसार कलाकारहरुको टोलीले अमेरिकाका विभिन्न राज्यका शहरहरूमा आफ्नो प्रस्तुति मार्फत नेपाली समुदायलाई हसाउनेछ। सनराइज इन्टरटेन्मेन्टसँगको सहकार्यमा यो अमेरिका टुर अगाडि बढाइएको उनले जानकारी दिए। उनका अनुसार कार्यक्रमहरु स्थानीय आयोजकहरूसँग सहकार्य गर्दै सञ्चालन गरिनेछ।
फेब्रुअरीको पहिलो साताबाट सुरु हुने यो सांगीतिक–हास्य यात्रा अमेरिकाका १४ भन्दा बढी स्थानमा आयोजना हुने बताइएको छ। केही कार्यक्रमहरूको मिति र स्थान तय भइसकेका छन् भने अन्य कार्यक्रमहरू तय गर्ने क्रम जारी रहेको पछाईले बताए। आगामी दिनमा कुन शहरमा कहिले कार्यक्रम हुँदैछ भन्ने विस्तृत जानकारी क्रमशः सार्वजनिक गरिने उनले उल्लेख गरे।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कलाकारहरूले अमेरिकाको व्यस्त जीवनशैलीमा रहनुभएका नेपालीहरूका लागि हाँसोको कोशेली लिएर आएको बताएका थिए। उनीहरूले विदेशमा रहे पनि नेपाली भाषा, संस्कृति र मनोरञ्जनसँग जोडिरहन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
“अब हास्छ अमेरिका – भाग २” ले अमेरिकामा रहेका नेपाली समुदायबीच मनोरञ्जनका साथै आपसी भेटघाट र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस