क्रोएसियामा सोनाम ल्होछार भव्य रुपमा सम्पन्न, तामाङ संस्कृतिको झल्को
368 Views
माया थोकर तामाङ
क्रोएसिया। तामाङ समुदायको महान पर्व सोनाम ल्होछार मञ्जुश्री संवत २८६२, ता ल्हो (घोडा वर्ग) को पावन अवसरमा तामाङ समाज क्रोएसियाको आयोजनामा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम सन् २०२६ जनवरी २५ तारिखका दिन क्रोएसियाको राजधानी जाग्रेबस्थित Precko 2a सभाहलमा आयोजना गरिएको थियो।
प्रवासमा रहेर पनि तामाङ समुदायलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम समाजको तेस्रो सांस्कृतिक पहल रहेको आयोजकले जनाएको छ। समुदायको धर्म, संस्कृति, कला, भेषभूषा, परम्परा तथा रीतिरिवाजहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका पदाधिकारीहरूले बताएका छन्।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालबाट विशेष रूपमा आमन्त्रित चर्चित गायक उर्गेन दोङको बेजोड प्रस्तुति रहेको थियो। उनले आफ्ना चर्चित गीतमार्फत दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। साथै, म्हेन्दोमाया र सेलो विधाका गायक–गायिकाहरू तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि विशेष आकर्षण बनेका थिए।

कार्यक्रममा सांस्कृतिक विविधताको झल्को समेत देखिएको थियो। मगर, गुरुङ र राई समुदायका प्रतिनिधिहरूले समेत आ–आफ्ना सांस्कृतिक झाँकी तथा सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै आपसी सद्भाव र एकताको सन्देश दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तामाङ समाज क्रोएसियाका संरक्षक, सल्लाहकार तथा युवा व्यवसायी दावा लामा रहेका थिए। त्यसैगरी विशेष अतिथिहरूमा NRNA क्रोएसियाका वरिष्ठ उपाध्यक्ष हर्क साहु, बुद्ध मार्टका सञ्चालक बिकाश मेछे, ग्लोबल बिरो (Global Biro) का सञ्चालक पुकार तामाङ तथा लामा गुरु लोप्साङ लामा लगायत विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन अमृता स्याङ्तान र सुरेन तामाङले संयुक्त रूपमा गरेका थिए। उत्साहपूर्ण सहभागिता र सांस्कृतिक रौनकबीच कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रवासको भूमिमा पनि आफ्नो मौलिक पहिचान जोगाउँदै संस्कृति जगेर्ना गर्ने तामाङ समुदायको प्रयासले कार्यक्रममा सहभागी सबैलाई भावुक र गर्वान्वित बनाएको थियो।





प्रतिक्रिया दिनुहोस