यसपालि धन्न-धन्न बाँचियो अर्कोपालि थाहा छैन
1153 Views
कास्की, २२ मंसिर खोज मिडिया ।
२१ फोक्सिङबाट बेसी दम्सादी बसाइँ सर्दा टीकाराम भण्डारी ७ वर्षका थिए । त्यतिबेला फोक्सिङ डाँडामाथिको गाउँ थियो । दम्सादी बेंसी।
बेंसीमा गाईभैंसीका गोठ थिए। खेतीपाती लगाउन र गाइभैंसी चराउन फोक्सिङका बासिन्दा दम्सादी झर्थे। पहाडमा रहेको फोक्सिङ गाउँका बासिन्दा विस्तारै फेदीमा रहेको दम्सादी बसाइँ सर्न थाले। दम्सादीको समथर ठाउँमा खेतीपाती गर्न सजिलो थियो।
दिनहुँ गाउँबेसी गर्न भन्दा बेसीमै घर बनाएर बस्न गाउँलेहरूले सुविधा ठाने। यतिमात्र होइन, पोखरा सहर पनि दम्सादीबाट नजिक पर्थ्यो। गाउँका फलेका अन्न उपज र पशुपंक्षी बिक्री गर्न र आवश्यक सामग्री किन्न पनि दम्सादीबाट सजिलो भयो।
दम्सादीमा बस्ती बसाएको झण्डै ५८ वर्षपछि गाउँले उठिबास लाग्ने चिन्तामा छन्। पोखराबाट दम्सादी गाउँ जाँदा फुस्रेखोला तर्नुपर्छ। उक्त खोलामा फेवातालको पानी पनि मिसिएको छ। गाउँलेलाई आवतजावत गर्न झोलुंगे पुल बनाइएको छ। गएको वर्षायामपश्चात् पुल र गाउँकै भविश्य जोखिममा पर्ने गरी पहिरो गएको छ।
फेवातालबाट बिजुली निकाल्न बनाइएको पावर हाउसदेखि दम्सादी गाउँ जोड्न बनाइएको एउटा झोलुंगे पुल प*हि*रो बगाएको छ।
पुल नजिकै रहेको राधाकृष्ण मन्दिर पनि पहिरोले बगाएको स्थानीय भण्डारीले बताए। पोखरा वडा नम्बर १७ र २१ जोड्ने अर्को पुल पनि प*हिरोले जो*खिममा पुर्याएको छ।
गएको असारदेखि परेको पानीले दम्सादी गाउँतर्फको फुस्रेखोला किनारमा ठूला-ठूला ३ वटा पहिरो गएका छन्। प*हि*रोले बाँकी रहेको एउटा पुल र बस्ती नै बगाउने जोखिममा पुर्याएको भण्डारीले बताए। असारदेखि वर्षात नसकिँदासम्म गाउँले घरमा रात बिताउन समेत नसक्ने अवस्था आएको उनको भनाइ छ।
“आकाशमा गड्याङ-गुडुङ गरेपछि रातभरि सुत्न सक्थेनौं, पहिरो जाँदा ठूला-ठूला आवाज आउँथ्यो, भूकम्प गएजस्तो गाउँ नै थर्कन्थ्यो,” भण्डारीले भने, “यस्तो हुन्छ भनेर कहिल्यै सोचेका थिएनौं।”
फुस्रेखोलाको किनारमा रहेको अग्लो भिरबाट गाउँ नै बगाउने गरी पहिरो जानुको कारण पनि स्थानीयले खुट्याएका छन्। गाउँमाथि तीन वटा ठूला-ठूला भ्वाङ छन्। बर्खायामको झरीमा पहाडबाट बगेर आएका सबै पानी त्यही भ्वाङमा पुगेर बिलाउने भण्डारीले बताए।
त्यो भ्वाङ कहिलेदेखि थियो भन्नेबारे स्थानीयसमेत अनभिज्ञ छन्। गएको बर्खामा मात्र होइन, यसअघिका अन्य वर्षातमा समेत गाउँ र डाँडादेखि बगेको पानी त्यही भ्वाङमा पुगेर हराउँथ्यो। भ्वाङमा पानी परेपछि फुस्रोखोला किनारको भिरबाट मूल फुटेजस्तो पानी रसाउँथ्यो।
भ्वाङमा जति धेरै पानी पस्यो त्यति नै पानी फुस्रोखोला किनारको भिरबाट निस्कने गरेको भण्डारीले बताए। गएको बर्खामा अघिल्ला वर्षमा भन्दा ठूलो पानी परेकाले भिरबाट पनि खोला बगेजस्तो पानी निस्केको उनको भनाइ छ। त्यही भ्वाङबाट छिरेको पानी फुस्रोखोला किनारमा निस्कँदा गाउँ नै जोखिममा पर्ने गरी पहिरो गएको स्थानीयले बताएका छन्।
डाँडादेखि बगेको पानी भ्वाङमा पर्दा ताल परेजस्तो हुन्छ | भण्डारीले भने, “त्यही पानी भिरमा निस्कँदा खोलाको मूल फुटेजस्तो देखिन्थ्यो।” दम्सादी गाउँ नै जोखिममा पर्ने गरी पहिरो गएपछि पोखरा महानगरपालिकाले भूगर्भविद्को टोली लिएर अध्यनमा गएको थियो। पोखरा-२१ का वडा अध्यक्ष खगराज आचार्यका अनुसार भूगर्भविद्को टोलीले दम्सादीमा बस्ती राख्न उचित नरहेको निष्कर्ष दिएको छ।
उक्त ठाउँ कालान्तरमा पहिरो गएर सकिने र रोकथाम गर्न नसकिने निष्कर्ष दिएको वडाअध्यक्ष आचार्यले बताए। यद्यपि, भूगर्भविद्हरूले तकाल बस्ती जोगाउन भने अल्पकालीन उपाय अपनाउन सकिने उपाय दिएको छ। पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वप्रमुख कृष्ण केसीले दम्सादी गाउँ जोगाउन पानीको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए।
जमिनमुनि रहेको कमेरो माटोको एउटा तह पानी पर्ने बित्तिकै पग्लन्छ | जसले जमिन भासिने र पहिरो जाने हुन्छ | उनले भने, यसको रोकथाम गर्नु भनेकै पानी जमिनमुनि जान नदिनु हो। दम्सादी गाउँ माथिका भ्वाङमा पानी छिर्न नदिने आकाशे पानी अन्यत्र व्यवस्थापन गर्नुपर्ने बताए। यतिमात्र होइन घरको छानोबाट झरेका बलेसीका पानी र भल पनि उचित व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।
यस्तै शौचालयको सेप्टिक ट्यांकी प्लाष्टर नभए त्यहीँबाट पानी रसाएर भ्वाङ पर्न सक्ने उनको भनाइ छ। पोखरा-२१ का वडाध्यक्ष खगराज आचार्यले तत्कालका लागि पहिरो गएको ठाउँमा तारजाली भरेर दम्सादी गाउँलाई सुरक्षित बनाउन लागेको बताए। गाउँ जोगाउन प्रदेश र केन्द्रमा समेत लेखेर पठाएको भन्दै अहिलेसम्म दुई तहकै सरकारले कुनै चासो नदेखाएको उनको गुनासो छ।
दम्सादीका स्थानीयबासी आगामी वर्षामा गाउँ रहला कि नरहला भन्ने चिन्तामा छन्। “यसपालि धन्नधन्न बाँचियो,अब रोकथाम भएन भने गाउँ नै रहँदैन अर्कोपालि के हुन्छ भनने थाहा छैन | स्थानीय भण्डारीले भने |यही हिउँदमा गाउँ जोगाउन सरकारले केही गरेन भने आउँदो बर्खामा दम्सादीको नामनिसाना मेटिन्छ।”





प्रतिक्रिया दिनुहोस