४.० जीपीए ल्याएर विश्वविद्यालय टपर बनेकी रजना त्वानाबासु १० हजार नगदसहित सम्मानित
200 Views
चितवन । भरतपुर–११ स्थित युनाइटेड टेक्निकल कलेजको स्वागत तथा बिदाइ कार्यक्रम यसपटक विशेष अर्थपूर्ण बन्यो, जब भक्तपुरकी प्रतिभाशाली विद्यार्थी रजना त्वानाबासु नगदसहित सम्मानित भइन्। स्नातक तह कम्प्युटर इन्जिनियरिङ छैटौँ सेमेस्टरमा ४.० जीपीए हासिल गर्दै विश्वविद्यालयमै उत्कृष्ट बनेकी उनलाई कार्यक्रमका प्रमुख अतिथि चुडामणि खनालले नगद १० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका हुन्।
पूर्ण छात्रवृत्तिमा अध्ययनरत त्वानाबासुले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि निरन्तर उत्कृष्टता देखाउँदै आएकी छिन्। विभिन्न विधामा प्रथम स्थान हासिल गर्दै उनले कलेजको शैक्षिक छविलाई उचाइमा पुर्याएकी छन्।
कलेज सञ्चालक समितिका अध्यक्ष खनालले विद्यार्थीहरूको मेहनत र अनुशासनले भविष्य उज्ज्वल बन्ने विश्वास व्यक्त गर्दै आवश्यकता पर्दा संस्थाको साथ सधैं रहने प्रतिबद्धता जनाए। उनले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई इमानदारी र लगनशीलताका साथ अध्ययनमा केन्द्रित हुन आग्रह गरे।
उक्त कार्यक्रममा स्नातकोत्तर तथा अन्य संकायमा ४.० जीपीए ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। त्यस्तै, शिक्षकतर्फ विभागीय प्रमुख इन्जिनियर निरज बोहरा र लाइब्रेरियन मीरा प्याकुरेलालाई विशेष कदरपत्र प्रदान गरिएको कलेजले जनाएको छ।
शैक्षिक उपलब्धिसँगै खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजले शैक्षिक उत्कृष्टतासँगै बहुआयामिक प्रतिभालाई प्रोत्साहन गर्दै आएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस