फिने अमेरिकाको आयोजनामा आर्थिक अवसरका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न
80 Views
अमेरिका। युवा व्यवसायीहरुको साझा संस्था फिने अमेरिकाको आयोजनामा आर्थिक अवसर तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत भक्ती फाइनान्स ग्रुपका प्रमुख गगन केसीको नेतृत्वमा ‘फाइनान्सियल अपरचुनिटी सेमिनार’ आयोजना गरिएको थियो।
जनवरी ३१ शनिबार टेक्सस राज्यको बेडफोर्ड (डलास–फोर्टवर्थ क्षेत्र) मा आयोजित कार्यक्रममा सहभागी युवा व्यवसायीहरुलाई लक्षित गर्दै केसीले अमेरिकामा आर्थिक स्वतन्त्रता हासिल गर्ने विभिन्न उपाय, लगानीका सम्भावना, व्यवसाय विस्तारका रणनीति तथा वित्तीय अनुशासनका आधारभूत पक्षबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले नियमित बचत, सही लगानी योजना, बहुविध आम्दानी स्रोत निर्माण र वित्तीय शिक्षा नै आर्थिक सुदृढीकरणका मुख्य आधार भएको उल्लेख गरे।
सेमिनारमा डलास–फोर्टवर्थ क्षेत्रमा सक्रिय युवा व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरुले व्यवसाय सुरु गर्दा आवश्यक कानुनी प्रक्रिया, कर प्रणाली, लगानी व्यवस्थापन र नेटवर्किङको महत्वबारे जिज्ञासा राखेका थिए।
कार्यक्रमका अध्यक्ष सवीन्द्र थापाले यस्ता कार्यक्रमले उद्यमशील सोच भएका युवामा आत्मविश्वास र उत्प्रेरणा थप्ने विश्वास व्यक्त गरे। उनले फिने अमेरिकाले भविष्यमा पनि नियमित रूपमा व्यवसाय विकास, लगानी सचेतना र अनुभव आदान–प्रदानका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
फिने अमेरिका अमेरिकामा उद्योग–व्यवसाय सुरु गर्न इच्छुक तथा सञ्चालन गरिरहेका व्यवसायीहरुलाई नेटवर्किङ, परामर्श र सहकार्यको वातावरण उपलब्ध गराउँदै आएको संस्था हो। यस्तो पहलले नेपाली समुदायभित्र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस