रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन
77 Views
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) रामेछापले जिल्लाभर चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीले आफ्ना प्रतिनिधिसभा उम्मेदवार माधवप्रसाद ढुङ्गेलको जितलाई मुख्य लक्ष्य बनाएर संगठनका सबै तहलाई परिचालन गरिरहेको जनाएको छ।
उम्मेदवारी दर्ता भएलगत्तै गाउँ–गाउँमा मतदाता भेटघाटमा जुटेको एमाले रामेछापले यसपटक नयाँ र युवा नेतृत्वलाई अघि सारेको सन्देश मतदातासमक्ष पुर्याइरहेको छ। पार्टीका अनुसार यही आधारमा मतदाताबाट सकारात्मक समर्थन प्राप्त हुने विश्वास लिइएको छ।
गत शनिवार मन्थलीमा सम्पन्न जिल्ला कमिटीको सातौँ विस्तारित बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ माधवप्रसाद ढुङ्गेल र समानुपातिकतर्फ राजकुमार श्रेष्ठलाई विजयी गराउन चुनावी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको हो। बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले घरदैलो अभियानलाई थप तीव्र बनाइने र नेता–कार्यकर्ता मात्रै नभई शुभेच्छुकहरूको समेत सक्रिय सहभागिता सुनिश्चित गरिने जानकारी दिए।
चुनावी व्यवस्थापनलाई व्यवस्थित बनाउन जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको संयोजकत्वमा ५५१ सदस्यीय प्रतिनिधिसभा निर्वाचन मूल परिचालन कमिटी गठन गरिएको छ। त्यसैगरी, आवश्यक समन्वयका लागि संयोजन तथा समन्वय संयन्त्र पनि बनाइएको छ।
उक्त संयन्त्रको संयोजकमा केन्द्रीय कमिटी सदस्य तथा उम्मेदवार माधवप्रसाद ढुङ्गेल रहेका छन्। सदस्यहरूमा केन्द्रीय कमिटी सदस्य गीता कार्की, पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमलप्रकाश सुनुवार, समानुपातिक उम्मेदवार राजकुमार श्रेष्ठ, प्रदेश कमिटीका वर्तमान तथा पूर्व सदस्यहरू र प्रदेश सल्लाहकार परिषद्का सदस्यहरूलाई समेटिएको छ।
निर्वाचन खर्च व्यवस्थापनका लागि एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ। यस उपसमितिमा रामेछाप–काठमाडौँ सम्पर्क कमिटी अध्यक्ष प्रमोद भण्डारी (रवीन्द्र) सहित जिल्ला आर्थिक विभागका पदाधिकारीहरू सहभागी छन्।
प्रचार–प्रसारलाई थप संगठित बनाउन राकेश श्रेष्ठकै संयोजकत्वमा ४१ सदस्यीय प्रचार–प्रसार उपसमिति पनि गठन गरिएको छ। उक्त उपसमितिमा पार्टीका प्रचार विभागका प्रतिनिधि, पालिका स्तरका प्रचार प्रमुख, प्रेस चौतारी नेपालका प्रतिनिधि, जनसंगठनका प्रचार प्रमुख तथा सञ्चारकर्मीहरू समावेश गरिएको जनाइएको छ।
यसैबीच बैठकले पार्टी अनुशासन उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै जिल्ला कमिटी सदस्य लवहरि बुढाथोकी र राजकुमार मैनालीलाई जिम्मेवारीबाट हटाउने र पार्टी सदस्यता निलम्बन गर्ने निर्णय गरेको छ। बुढाथोकी आफ्ना भाइ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि पार्टी गतिविधिबाट अलग भएका थिए भने मैनाली उज्यालो नेपाल पार्टी निर्माणमा संलग्न भएपछि कारबाहीमा परेका हुन्।
एमाले रामेछापले अबको केही सातालाई निर्णायक समयका रूपमा लिँदै जिल्लाभर चुनावी अभियान झनै सशक्त बनाउने जनाएको छ।





प्रतिक्रिया दिनुहोस