कास्की–२ बाट समानुपातिक उम्मेदवारमा कृषि विज्ञ ज्ञानु आचार्य, युवा र किसानमुखी नेतृत्वको दाबी
316 Views
कास्की । खेतबारी, किसान र गाउँको माटोसँग जोडिएको अनुभव बोकेकी एक युवा कृषि विज्ञ अब राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फ ज्ञानु आचार्यलाई उम्मेदवार बनाएको छ। कास्की क्षेत्र नम्बर २ बाट सिफारिस भई बन्दसूचीमा परेकी आचार्यलाई पार्टीभित्र उदीयमान, उत्पादनमुखी सोच राख्ने युवा नेतृत्वका रूपमा हेरिएको छ।
राजनीतिक भाषणभन्दा काममा विश्वास गर्ने व्यक्तित्वका रूपमा परिचित आचार्य लामो समयदेखि कृषि, ग्रामीण उद्यम र सामुदायिक सशक्तीकरणका क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। ‘जागौं नेपाल राष्ट्रिय अभियान’ मार्फत उनले देशका विभिन्न जिल्लामा पुगेर किसान र युवासँग प्रत्यक्ष काम गरेकी छन्। कौसी खेतीदेखि बेमौसमी तरकारी उत्पादन, पशुस्वास्थ्य तालिमदेखि ग्रामीण उद्यमशीलता विकाससम्मका कार्यक्रममार्फत उनले व्यवहारमै आधारित परिवर्तनको अभ्यास गर्दै आएकी छन्।
उनको शैक्षिक पृष्ठभूमि पनि त्यत्तिकै बलियो छ। नेपाल पोलिटेक्निक इन्स्टिच्युटबाट एनिमल साइन्समा डिप्लोमा, बि.एस्सी. कृषि, समाजशास्त्रमा स्नातकोत्तर अध्ययन र हाल कानुन विषयको अध्ययन—यी तीन क्षेत्रको संयोजनले उनलाई नीति, समाज र व्यवहारबीचको सम्बन्ध बुझ्ने नेतृत्वका रूपमा चिनाएको छ।
आचार्यको राजनीतिक एजेन्डाको केन्द्रमा कृषि आधुनिकीकरण, दिगो विकास, सामाजिक न्याय र सुशासन रहेका छन्। कृषि र पर्यटनमा आधारित उद्यमलाई बलियो बनाएर राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन सकिने उनको विश्वास छ। साथै, युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेर वैदेशिक पलायन घटाउने उनको प्राथमिक लक्ष्य रहेको बताइन्छ।
नेकपाकी केन्द्रीय समिति सदस्य समेत रहेकी आचार्यको उम्मेदवारीलाई पार्टीले किसानमुखी, उत्पादनशील र नीतिगत रूपमा स्पष्ट युवा आवाजको रूपमा प्रस्तुत गरेको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत कृषि पृष्ठभूमि भएकी आचार्य देशको आवश्यकता बुझेको जिम्मेवार र किसानमैत्री नेतृत्व भएको टिप्पणी गरेका छन्।





प्रतिक्रिया दिनुहोस