दुई वर्षअघि सुरु गरिएको विषादी परीक्षण भारतको दबाबले रोकिए पछि तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत विषादी परीक्षणबिनै नेपाल भित्रिन्छ
1051 Views
काठमाडौं, ७ साउन, खोज मिडिया । काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि सुरु गरिएको विषादी परीक्षण भारतको दबाबपछि तत्कालै रोकिएको हो, अहिलेसम्म सुरु गरिएको छैन ।
विषादी परीक्षण र नियमनबारे सरकारी निकाय अनभिज्ञजस्तै छन् । अहिले तरकारीमा आरडीटी परीक्षण मात्रै हुन्छ । त्यो भनेको कलर मात्रै हेर्ने हो, खासमा त त्यो परीक्षण नै होइन, केन्द्रीय कृषि प्रयोगशाला प्रमुख सावित्री बरालले भनिन्, आरडीटीबाट विषादीको उपस्थिति छ/छैन मात्रै थाहा हुन्छ । त्यो पनि कार्बामेट र अर्गानोफोस्फेटको मात्रै । यी दुई विषादीको अवशेष मात्रा पनि यकिन हुँदैन ।
प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र २९ समूहका विषादी प्रयोग भएको पाइन्छ । फलफूल तथा तरकारीमा दर्जनजति समूहका विषादी प्रयोग भइरहेको छ । तर केन्द्रीय कृषि प्रयोगशालाबाट कार्बामेट र अर्गानोफोस्फेटको मात्रै परीक्षण हुन्छ । तरकारी तथा फलफूल आयात गर्ने व्यवसायी स्वयंले नमुना लिएर आउँछन् । प्रक्रिया कसरी अघि बढिरहेको छ, त्यो थाहा हुँदैन । त्यसपश्चात् भन्सार विभागलाई रिपोर्ट दिइन्छ, भन्सारले रिपोर्ट पाएपछि खुरुखुरु पठाउँछन्, प्रमुख बरालले भनिन्, ‘परीक्षणपछि खान मिल्ने/नमिल्ने, डम्प गर्नुपर्ने/नष्ट गर्नुपर्ने तरकारी पनि आएको हुन सक्छ ।’
बरालका अनुसार केन्द्रीय प्रयोगशालाको बुटवल, नेपालगन्ज, अत्तरिया, झापा, पोखरा, सर्लाही र कालीमाटी शाखामा आरबीपीआर परीक्षण गर्न सकिन्छ । तर कर्मचारी अभावका कारण पोखराबाट हुन सकेको छैन । गत असार मसान्तसम्म ७९ हजार ५ सय ७३ नमुनाको कार्बामेट र अर्गानोफोस्फेट परीक्षण भएका छन् । जसमध्ये २७ नमुनालाई रातो (उपभोग गर्न नमिल्ने) र ५५ नमुनालाई पहेंलो (तत्काल उपभोग गर्न नमिल्ने) चिह्न तोकिएको थियो, उनले भनिन्, तर ती दुई विषादीबाहेक अन्यको परीक्षण हुन सकेन । परीक्षण नाम मात्रकै भए, परीक्षण गर्ने निकाय लाचार छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार उपत्यकाका लागि कालीमाटी तरकारी बजारमा दिनमा करिब ८ सय टन तरकारी भित्रिन्छ । यसले उपत्यकाको मागको करिब ७५ प्रतिशत धान्छ । कालीमाटीमा भित्रिने तरकारीमध्ये करिब ४५ प्रतिशत भारतबाटै आउँछ । भारतबाट सिजनल तरकारी आयात हुन्छ ।
फलफूलमा भने मागको करिब ७५ प्रतिशत फलफूल आयात हुने गरेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । स्वदेशमा केरा, आँप, सुन्तला र स्याउ उत्पादन भए पनि परिमाण नगण्य छ । अधिकांश फलफूल भारतबाटै आयात गरिए पनि परीक्षणमा सरकारी निकाय लाचार छन् । कृषिजन्य वस्तु भारत निर्यात गर्दा भन्सार शुल्क लाग्दैन तर क्वारेन्टाइन र विषादी परीक्षण हुन्छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस