काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा खुकुलो गरेर १० दिन लम्ब्याउने निर्णय
332 Views
काठमाडां, १ साउन, खोज मिडिया । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो गरेर १० दिन लम्ब्याउने निर्णय गरेको हो। पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ बजे सकिएको थियो।
साउन १ गतेदेखि अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। ‘हाल जारी निषेधाज्ञालाई खुकुलो पार्दै लगिएको छ,’ उनले भने, ‘लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न सिसिएमसीलाई सिफारिस गरिएको छ। त्रिभुवन विश्वविद्यालयदेखि लोकसेवा आयोगसम्मले परीक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरिसकेको हुँदा लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सिसिएमसीलाई सिफारिस गरिएको हो।’
औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ। खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री, स्टेसनरीलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने पसलहरूदेखि डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम तथा पार्ट्स पसल, टेलरिङ, इलेक्ट्रोनिक पसल र निर्माणजन्य सामग्रीलगायत पसल तथा व्यवसाय बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रूपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेछ। अनुगमनका क्रममा तोकिएबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको पाइए पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिनेछ।
अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेस्टुरेन्ट एवं फास्टफुट तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। सर्वसाधारणको आवतजावतको हकमा घरबाट बाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम राख्ने, अनिवार्य रूपले मास्कको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ।
सवारीसाधन सञ्चालनको हकमा काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरू तोकिएभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले मास्क, भाइजर र पन्जा लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र अनिवार्य रूपमा सवारीसाधन दैनिक स्यानिटाइज गर्नुपर्नेछ। सफा टेम्पो तथा निलो माइक्रोले पछाडि तेस्रो सिटमा चार÷चारजनाको दरले आठजना र चालक छेउमा एकजना गरी कुल नौजना यात्रुभन्दा बढी राख्न पाइनेछैन। सवारीसाधनको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्ट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ। उपत्यकाभित्र सञ्चालन हुने निजी सवारीसाधनका हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रूपमा पालना गरी सञ्चालन गर्नुपर्नेछ। यो समाचार नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस