सिद्धार्थमा सुनापतिको जगदिश मोक्तानको कला
974 Views
रोमन लामा
रामेछाप १० माघ, खोज मिडिया। रामेछाप जिल्ला सुनापति गाउँपालिका-५, भीरकोटमा स्थायी घर भई हाल भक्तपुर जिल्लाको सुर्यविनायकमा बसोबास गर्दै आइरहेको कलाकार जगदिश मोक्तानको माघ २ गते देखि एक महिने कला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । कलाकार मोक्तानको चित्र प्रदर्शनी आज भन्दा केही महिना अगाडि नै हुनुपर्नेमा कोभिड-१ ९ को कारणले ढिलो हुन् पुगेको कुरो कलाकार मोक्तानको बुबा फुर्नाम्केल मोक्तानले खोज मिडियालाई बताउनुभयो।
कोभिडा-१९ लगतै नेपाली ललितकला क्षेत्रमा लामो समयसम्म पारेको प्रभावका बीच भएको प्रदर्शनीमा कलाकार जगदिश मोक्तानले त्यसको असरलाई चित्रमा उतारेका छन् । द हिमालय लाइट आर्ट स्कलरसिप अवार्ड अन्तर्गत मोक्तानको कला प्रदर्शनी गरिएको हो । उक्त्त प्रदर्शनीको उद्घाटन गर्दै जस्टिन चाओले नेपाल र चीनबीचको साँस्कृतिक सम्बन्धलाई बलियो बनाउने धेयक साथ अवार्ड प्रदान तथा प्रदर्शनी गर्दै आएको बताउनुभयो। उनले नेपाली कलाको प्रवर्द्धन र विकास गर्ने धेयका साथ चीनका अग्रज कलाकार चाओ जियान्कीले अवार्ड प्रदान गर्दै आएको जानकारी दिनुभयो।
उक्त प्रदर्शनीमा राखिएका कलाले समाज र संस्कृतिका विषयवस्तुलाई कलात्मक ढंगले चित्रण गरेको सिद्धार्थ ग्यालरीका सञ्चालिका संगीता थापाले बताइन् । उनले कलाकार मोक्तानले रचना गरेको कलामा कला पक्ष र विचार पक्ष निकै गहन रुपमा आएको दावी गरिन् । ‘द वे होम इज अवे फर्म होम’ शीर्षकमा कलाकार मोक्तानले कोरोना संक्रमणका बीच सरकारले लगाएको बन्दाबन्दीका कारण गाउँघर फर्किरहेका आममानिसको मनोदशालाई कलात्मक रुपमा प्रकृतिसँग तुलना गर्दै चित्रण गरेका छन् । उनले बादललाई बिम्बात्मक रुपमा प्रस्तुत गर्दै त्यसमा सामाजिक, साँस्कृतिक, राजनीतिक तथा मानाविय मूल्य मान्यतालाई कलात्मक रुप दिने चेष्टा गरेका छन् ।
त्यस्तै, उनका कलामा प्रकृति, संस्कृति तथा सामाजिक मनोविज्ञान र मानवीय मूल्य मान्यतालाई केलाउने काम गरिएको छ । मोक्तानले भने, ‘बसाइसराइपछि मानिस जहाँबाट आयो त्यो घर हुने भयो । घर भनेकै गाउँकै हुन्थ्यो र हुन्छ पनि । सहरमा आए पनि गाउँघर नै आफ्नो जस्तोे हुने भएकाले कोरोना कहरको परिवेशसँग तुलना गर्दै मैले कलाकृति रचना गरेको हुँ ।’
उनले सहर अपरिचितजस्तै भए पनि मानवीय सुख–दुःखका अनगिन्ती आयामका बीच मानिसले आफ्नो जीवनयात्रालाई अगाडि बढाइरहेको विषयसमेत कलामा उतारेको जिकिर गरे । उनले कोरोना कहरले निम्ताएको परिवेशपछि सहर पसेका मानिस दुःख सुखका साथ गाउँघर फर्किएको परिदृश्यसमेत कलामा बिम्बात्मक रुपमा उतारेका सुनाए ।
उक्त प्रदर्शनीको अवलोकनमा आएका अग्रज थाङ्का कलाकार मानबहादुर दोङले आधुनिक युगका कलाकारले समसामयिक विषयमा आधारित भई नविन विचार दिने कला बनाएको विचार व्यक्त गरे । उनले भने, ‘कलामा विषय र प्रस्तुति निकै आकर्षक रहेको पाएँ । आधुनिक पुस्ताका कलाकारले समाज, संस्कृति तथा प्रकृतिलाई संयोजन गरेर कलाकृति रचना गर्नु निकै खुसिको कुरो हो भनि बताउनुभयो। नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले नयाँ प्रस्तुतिका साथ कलाकारले आफूलाई प्रस्तुत गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस